सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश राजधानीमा पानीको हाहाकार

वीरेन्द्रनगरको तिर्खा मेटाउन अघि बढ्यो ‘भेरी पम्पिङ आयोजना’

यसै आर्थिक वर्षबाट निर्माण शुरु गर्न लागिएको ‘भेरी पम्पिङ आयोजना’ आगामी तीन वर्षमा सक्ने लक्ष्य छ ।

कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा बसोबास गर्नेको नागरिकको जनसंख्या बाक्लिएको छ । अहिले भइरहेका मुहानबाट वर्तमान जनसंख्यालाई पनि पानीको आपूर्ति हुन सकिरहेको छैन, त्यसमाथि वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसंख्या बढ्दो छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यस प्रदेशकै राजनीतिक, सामाजिक तथा प्रशासनिक केन्द्र हो । यहाँ कर्णाली प्रदेशका १० वटै जिल्लाका बासिन्दाको बसोबास छ । गुणस्तरीय शिक्षा हासिल गर्न तथा रोजगारीका अवसरका लागि हिमाली जिल्लासँगै कर्णालीका अन्य जिल्लाका बासिन्दाको पनि बाक्लो बसोबास छ ।

घरजग्गा व्यवसायीहरूले चिराचिरा पारेको जमिनमा घना बस्ती बस्दै गएपछि यहाँका पानीका स्रोतहरू सुक्दै गएका छन् । जसले भविष्यमा पानीको हाहाकार हुने अनुमान गरिएको छ । जसले गर्दा खानेपानीको चरम अभाव हुने गरेको छ । गर्मीयामको समयसँगै घरघरमा खनिएका इनारहरुको पानी पनि सुक्दै गएको छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि दुई लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्नका लागि करिब २७८ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्ने भए पनि प्रयोगमा ल्याइएका स्रोतहरुबाट जम्मा १२८ लिटर प्रतिसेकेण्ड पानी मात्र उपलब्ध हुने गरेको थियो ।

अहिले प्रयोगमा आइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम रहेको छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न हाल झुप्रा खोलाबाट ८६ लिटर प्रतिसेकेण्ड, खरिखोला बोरीखोलाबाट ३०, खोर्के खोलाबाट १० र बुलबुले काठकुवाबाट ४ गरि १५७ लिटर प्रतिसेकेण्ड पानी ल्याएर आपूर्तिको व्यवस्था मिलाइएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

हाल वीरेन्द्रनगरमा दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग छ । तर सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रतिसेकेन्ड १५७ लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कुलमणी देवकोटाले जानकारी दिए । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजारबढी घरधुरीलाई खानेपानी दिन सकेको छैन ।

अध्यक्ष देवकोटाका अनुसार ३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ भने बाँकी घरधुरीमा पानी वितरण हुन सकेको छैन । हाल बढ्दो जनघनत्वका कारण वीरेन्द्रनगरमा वितरण गरिँदै आएको पानी अपुग भएपछि भेरी पम्पिङ आयोजना अघि सारिएको छ ।

अध्यक्ष देवकोटाले भने, ‘वीरेन्द्रनगरमा भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने प्रयास अन्ततः सफल भएको छ । लामो अन्यौलताका बीच भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने प्रयासले गति लिन आवश्यक सबै प्रक्रिया पूरा गरिएको हो । अब केही समयमै पानीको अभाव हट्ने छ ।’

बजेट सुनिश्चित भइसकेको आयोजनाको निर्माणको यसै वर्षबाट शुरु हुने सुर्खेत उपत्यका खानीपानी संस्थाका अध्यक्ष देवकोटा बताउँछन् । टेण्डर आह्वानपछि प्रक्रियामा जान अझै ७ देखि ८ महिना लाग्ने उनी बताउँछन् । यसै आर्थिक वर्षबाट निर्माण शुरु गर्न लागिएको आयोजना आगामी तीन वर्षमा सक्ने लक्ष्य छ ।

भेरी नदीको सतहदेखि करिव सात मिटर गहिरो दुई वटा इन्टेक निर्माण गरिनेछ । नदीदेखि ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिने र करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ  । त्यसपछि मात्रै उपत्यकाबासीका घरघरमा पानी वितरण गरिनेछ ।

करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगरको २० प्रतिशत लगानी रहनेछ । प्रदेश सरकार पाँच करोड रुपैयाँ विनियोजन गरेको छ  । नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्गसहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ ।

वीरेन्द्रनगरको खानेपानी संकटन समाधान गर्न दीर्घकालीन स्रोतको रुपमा भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम देखिएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । विश्व बैंकको लगानीमा निर्माण गर्न लागिएको बहुप्रतिक्षित भेरी लिफ्ट खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतसँगै टेण्डर गर्ने निर्णय गरिएको छ ।

भेरी नदीको पानी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाले तत्काल टेण्डर आह्वान गर्ने तयार िगरेको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको भेरी पम्पिङ्ग आयोजना कार्यान्वयन समितिको बैठकले तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन स्वीकार गरेर लागत अनुमान र बोलपत्र सम्बन्धी कागजातहरु स्वीकृत गरेको छ । योसँगै अब भेरी लिफ्टीङ आयोजनाको कामको थालनी आगामी बैशाखसम्म हुनेछ । ‘भेरी लिफ्टीङ बन्दैनकी भन्ने धेरैमा शंका थियो । हामीले सबै प्रक्रिया पूरा गरेर निर्माणको थालनी गर्दैछौं,’ नगर प्रमुख ढकालले भनिन् ।

उनले टेण्डर आह्वानका लागि सबै प्रक्रिया सकिएको बताइन् । अहिलेलाई पहिलो चरणको काम अघि बढाउन लागिएको छ । भेरी लिफ्टिङका लागि लगानी सुनिश्चित २०७९ असार २९ गते भएको थियो । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजात परिमार्जन गरेपछि विश्व बैंकले सबै ठिक रहेको प्रतिक्रियापछि पहिलो चरणको काम शुरु गर्न लागिएको छ ।

आयोजनाको पहिलो प्याकेज अन्तरगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गर्न लागिएको नगर प्रमुख ढकालको भनाई छ । सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीमा भेरी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

यो आयोजनाको सबै अपनत्व वीरेन्द्रनगर नगरपालिकासँग रहनेछ । प्रदेशकै ठुलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षमा बृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालिन खानेपानीको सहज आपूर्ति पुर्याउने लक्ष्यसहित भेरी नदीबाट खानेपानी लिफ्टीङ्ग गरेर वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

३० बर्षपछि उपत्यकाको खानेपानी समस्या समाधान गर्न सुरु हुने चरणमा पुगेको ‘भेरी पम्पिङ’ आयोजनाका लागि ०७७ बाट बजेट विनियोजन हुँदै आएको छ । दुई चरणका लागि हुने आयोजनाको यो कामको पहिलो चरणका लागि ४ अर्ब ६५ करोड ३० दाख ६६ हजार बजेट सुनिश्चित भइसकेको छ । लगभग ६ वर्षमा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

कसरी ल्याइँदैछ पानी ?

भेरी नदीको पानीलाई पम्पिङ गरेर संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत उपत्यकामा ल्याउन लागिएको हो ।

आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिकाको ११ नम्बरमा रहेको अमृतडाँडामा पानी ल्याउने छ । पहिलो चरणका काम भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृतडाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य राखेको छ ।

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाईमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट)मा खसालिने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालले जानकारी दिए ।

त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ भने ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइनेछ । अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । आयोजनाका अनुसार कामको थालनी भएको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्नेछ ।

यो आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसंख्यालाई पर्याप्त खानेपानीको पूर्ती हुने लक्ष्य राखिएको छ । यस्तै, असार मसान्त अगावै वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिकाबीच भेरी पम्पिङ उप आयोजनाको इन्टेक र ट्रिटमेन्ट प्लान्टको लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौताको काम सम्पन्न गरिसकेको छ ।

साथै, आयोजना अगाडि बढाउनका लागि असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित र जग्गा प्राप्तिको लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक खनालले जानकारी दिए ।

वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुनेछ । यसले समयमै आयोजना सम्पन्न गरी प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दै गएको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १८:२४

लोकप्रिय