सूचनाको शक्ति - The Power Of Information

        

भाद्र कृष्णपक्ष

आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर सार्वजनिक बिदा

आज ‘श्रीकृष्ण जन्माष्टमी’ । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्माष्टमी बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्री कृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

वाल्मीकि विद्यापीठका प्राध्यापक तोयराज नेपालका अनुसार जुन दिनको मध्यरातमा अष्टमी तिथि पर्छ, त्यसैदिन कृष्णाष्टमीको व्रत गर्नु भन्ने शास्त्रीय र ज्योतिषीय मान्यता रहेको छ ।

रोहिणी नक्षत्र परेमा जयन्तीयोगसमेत परी अझ उत्तम हुन्छ भन्ने वचन शास्त्र भएको हुँदा यस वर्ष भाद्र २० गते बुधबार ३५.४७ घडीपछि अर्थात् रातको ८.४ बजेसम्म सप्तमी रही त्यसपछि रातभर अष्टमी तिथि रहने र रातको १०.२८ बजेपछि कृत्तिका नक्षत्र सकिएर रोहिणी नक्षत्रसमेत लागि जयन्ती योगसमेत परेको हुँदा भाद्र २० गते श्रीकृष्ण जन्माष्टमीको व्रत हुनेछ ।

प्राचीन इतिहासअनुसार अवतार धारण गरेर उत्पीडनले भयभीत भएका जनताको रक्षाका लागि, दानवहरूको पञ्जामा फसेर वीभत्स भएको मानवताको उद्वारका लागि भगवान् कृष्णले वैकुण्ठको मोह त्यागेर कंशको कारागारमा बन्दी भएर अवतार धारण गर्नुभएको थियो ।

सोही भावका आधारमा श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै आइएको शास्त्रमा उल्लेख छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्मभएको धार्मिक मान्यता छ ।

द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वासका रहँदै आएको छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०७:४६

लोकप्रिय