यातायात व्यवस्था कार्यालय, बाँके

सूचना दिन यातायात व्यवस्था कार्यालयको आलटाल

कार्यालयका कर्मचारीहरु सूचना दिन विभिन्न बहानाबाजी गरेर पन्छिने गरेका छन् ।

फागुन ४ गते यातायात व्यवस्था कार्यालय, बाँकेले जनसरोकारका विषयमा माग गरिएका सूचना दिन आनाकानी गरेको छ । कार्यालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै सत्यपाटी डटकमका प्रधान सम्पादक काशीराम शर्माले सूचना माग गरेका थिए ।

सूचना माग गरिएको २१ दिनसम्म कुनै जानकारी र सूचना नदिएपछि पुनः फागुन २५ गते कार्यालय प्रमूखलाई सम्बोधन गर्दै सूचना माग गरिएको छ । दोस्रो पटक सूचना माग गरिएको पाँच दिन बितिसक्दा पनि कार्यालयले सूचना दिने/नदिने विषयमा चासो देखाएको छैन ।

सूचनाको हक सम्बन्धी ऐनमा कार्यालयले १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ । प्रधान सम्पादक शर्माले यातायात कार्यालयभित्र देखिएका विभिन्न सात वटा विषयमा सूचना माग गरे पनि हालसम्म सूचना पाउने नपाउने टुंगो छैन ।

कार्यालयसँग सवारी चालक अनुमति पत्र, सवारी साधन दर्ता, अत्यावश्यकीय सेवा प्रवाहका क्रममा लिइने अतिरिक्त शुल्क, स्वास्थ्य परिषणको मापदण्ड, अनलाइन फाराम भर्ने मापदण्ड लगायतका विषयमा सूचना माग गरिएको छ ।

संविधानमै सूचनाको हक सुनिश्चित हुँदा पनि यातायात व्यवस्था कार्यालयले सार्वजनीक सरोकारका विषयमा सूचना दिन आलटाल गरिरहेको छ । कार्यालयका कर्मचारीहरु सूचना दिन विभिन्न बहानाबाजी गरेर पन्छिने गरेका छन् ।

गलत गरेकै कारण सूचना नदिने वा लुकाउने प्रवृत्ति यातायातका कर्मचारीहरुमा देखिएको छ । ‘कार्यालय प्रमूखसँग दोस्रो पटक सूचना माग गरिएको छ, सात दिनसम्म माग गरिएका सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगसमक्ष पुनरावेदन गर्नुपर्छ,’ प्रधान सम्पादक शर्माले भने ।

यातायात व्यवस्था कार्यालयका सूचना अधिकारीलाई टेलिफोनमा सम्पर्क गर्न खोज्दा फोन नै उठेन । सूचना अधिकारीको काम सेवाग्राहीलाई कार्यालयका विभिन्न सूचना उपलब्ध गराउनु हो । तर, सूचना अधिकारीलाई तोकिएको टेलिफोनमा सम्पर्क गर्न मुस्किल पर्छ ।

सूचना सबैले पाउन भन्नकै लागि तोकिएका सूचना अधिकारीले नै सूचना नदिएपछि नागरिकलाई सूचनाको हक ‘कागलााई वेल पाक्यो हर्ष न विस्मत’जस्तै भएको छ । कार्यालयका आधिकारिक सूचना प्रवाह गर्न सूचना अधिकारी तोकिए पनि सहजै सूचना पाइँदैन ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले सबै कार्यालयमा सूचना अधिकारी राख्नैपर्ने अनिवार्य व्यवस्था गरेको छ । सम्बन्धीत कार्यालयमा सवैको सूचनाको पहुँच पुर्याउनका लागि प्रवक्ता तोकिए पनि उनीहरुले जिम्मेवारीबोध गर्न नसक्दा वा आफ्नो जिम्मेवारी के हो भन्ने थाहा नपाउँदा सेवाग्राहीले समस्या भोग्नु परेको छ ।





प्रतिक्रिया

लोकप्रिय