बाँकेमा दादुराको प्रकोप

दादुराविरुद्धको खोप लगाउन आउँदैनन् ‘लक्षित बालबालिका’

बाँकेमा हालसम्म ५३ हजार ६५१ जनाले दादुराविरुद्धको खोप लगाइसकेका छन् ।

फाइल तस्वीर

बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

७० हजार ५०० जनालाई पुग्ने दादुरा रुबेला खोप रहेकोमा थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त भएको हो । बाँकेमा हालसम्म ५३ हजार ६५१ जनाले दादुराविरुद्धको खोप लगाइसकेका छन् । बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने अभियान बाँकेमा जारी छ ।

४२ हजार ९७८ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ४३ हजार २४६ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । कार्यालयका अनुसार बाँकेको नेपालगन्जसहित कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा पनि दादुराका विरामी भेटिएका छन् ।

‘पछिल्लो पटक डुडुवामा बिरामी भेटिएपछि खोप कार्यक्रम सञ्चालनको योजना बनिरहेको छ,’ स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत श्रेष्ठले भने, ‘नेपालगन्जमा पनि खोज्ने र खोप लगाउने कार्य निरन्तर चलिरहनेछ ।’ नेपालगन्ज उपमहानगरपालिको स्वास्थ्य शाखाले नगरभित्र बसोबास गर्ने र यही अध्ययनरत बालबालिकाले खोप लिएका कारण नगरभित्रको लक्ष्य पूरा भए पनि धेरै बालबालिका खोप लिनबाट छुटेको जनाएको छ ।

शाखाका अनुसार नगरभित्रका लक्षित बालबालिकालाई खोप लगाउने जनचेतनामुलक लगायतका कार्यक्रम पनि भइरहेका छन् । दादुरा खोप सम्पूर्ण बालबालिकाले लिनुपर्ने भएकाले अभिभावकलाई पनि आग्रह गरिरहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ । नेपालगन्जका १ देखि १५ वडामा एक हजार ९२३ जना दादुराका विरामी फेला परेका छन् ।

तीमध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना उपचाररत रहेका छन् । २९ जना भने घरमै छन् । स्वास्थ्य कार्यालयका अनुसार नरैनापुरमा १३, खजुरामा ११, डुडुवामा ७ र कोहलपुरमा २ जना गरी जिल्लाभर २२६ जना बालबालिकामा दादुरा देखिएको छ । दादुरा भएकामध्ये १७१ जना निको भइसकेका छन् ।

प्रतिक्रिया

लोकप्रिय