ठेकेदारको ढिलासुस्ती

सिँचाई बाँध अलपत्र हुँदा बैजनाथका किसानलाई नोक्सानी

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा किसानलाई नोक्सानी भएको छ ।

समयमै सिँचाई बाँध निर्माण नहुँदा बाँके बैजनाथका किसानलाई खेतीयोग्य जमीन सिञ्चित नहुँदा समस्या भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन पाएको छैन ।

जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा कुलो, तटबन्ध र स–साना कल्भर्ट गरी दुई वटा छुट्टाछुट्टै टेन्डर भई सम्झौता भएको छ ।

गत असार २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समायवधी रहेकोमा हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका सब–ईञ्जिनियर सुरज केसीले जानकारी दिए ।

मूल बाँध निर्माणका लागि २०७७ असार १४ गते एक करोड २२ लाख रुपैयाँमा २०७९ असार २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

यस्तै कुलो निर्माणका लागि पनि सोही मितिमा सम्पन्न गर्ने गरी २०७७ असार १४ मै एक करोड ४० लाख रुपैयाँमा सम्झौता भएको हो ।

सब इन्जिनियर केसीका अनुसार मूल बाँधको काम करिब ७९ प्रतिशत सम्पन्न भएको भए पनि कुलोको काम भने हालसम्म २१ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

दुवै कामको जिम्मेवारी पाएको एचडिपी कन्स्ट्रक्सन एन्ड ट्रान्सपोटेशन प्रालिले पछिल्लो समय काम अघि बढाउन उदासीनता देखाएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख परशुराम चौधरीले जानकारी दिए ।

‘ठेकेदारलाई काम अघि बढाउन पटक–पटक सम्पर्कको प्रयास गरिरहेका छौँ,’ कार्यालय प्रमुख चौधरीले भने, ‘घरसमेत पत्ता लगाएर भेट भए पनि काम अघि बढ्न सकेको छैन ।’

उपभोक्ता समितिका अध्यक्ष दुखराम थारुले हालसम्म काम सम्पन्न भई किसानको खेतमा सिँचाई सुविधा पुगेको हुनुपर्नेमा निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा किसानलाई नोक्सानी पुर्याएको बताए ।

प्रतिक्रिया

लोकप्रिय