पोखरा विमान दुर्घटना

एउटै दुर्घटनामा सकियो तीन पुस्ता

आमाले ‘हजार चन्द्रमा’ देखिन्, तर छोरी र नातिनातिना भेट्न पाइनन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम स्थल अगाडि निकै भिडभाड छ । भिडले बेलाबेलामा आक्रोश पनि पोख्छ । पछि साम्य हुन्छ । यो भिड कुनै जात्राको होइन, न कुनै मेला महोत्सव छ । मेला, महोत्सव भएको भए अनुहार हँसिलो र खुसी हुन्थ्यो होला ।

तर, दृश्यले भन्छ, ‘हृदय शून्य छ, अनुहार चाउरिएको छ, ओठमुख सुकेका छन्, अनि परेला भिजेका ।’ अर्थात उनीहरु ठूलो शोकमा छन् । रुँदारुँदा थाकेका आँखाले पोस्टमार्टम भवन हेरिरहन्छन् । त्यहाँभित्र उनीहरुको ढलेको आशाको धरोहर छ । सुस्ताएका सपना, ढलेका आशा र भविष्य उज्यालो बनाउने अभिभावकको सुतेको शरीर छ ।

सोमबार साँझसम्म ७० वटा शव पोस्टमार्टम भवनमा जम्मा भएका छन् । सेती खोँचको गहिराइमा अझै दुईजना हराइरहेका छन् । आइतबारसम्म आफन्तको बोली कुरिरहेकाहरु आज निर्जिव नै भए पनि अनुहार हेर्न चाहान्छन् । तर, उनीहरुले त्यो पनि पाएका छैनन् । आइतबार बिहान करिब ११ बजेतिर यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७० जनाको मृत्यु भइसकेको छ भने दुईको अवस्था अझै अज्ञात छ ।

सरकारले उक्त दुर्घटनाप्रति सोमबार राष्ट्रिय शोक मनायो । तर, त्यो शोकले आफन्त गुमाएकाहरुलाई शक्ति भने प्रदान गरेन । यतिसम्म कि, घटनाको दुई दिन भइसक्दासमेत उनीहरुले आफन्तको शव पाएका छैनन् । त्यो शोक आक्रोशमा बदलिएको छ । राज्यको लाचारी र प्रणालीले उनीहरुलाई झन दुःख थपिदिएको छ ।

त्यहाँ हुनेहरुलाई थाहा छ, आफन्तको शव अहिलेसम्म बुझ्न नपाउनुको पीडा । मन बाँधेर परिवारका अन्य सदस्यलाई थाहा नदिएर घटना लुकाउनुको कला, कसैका आफन्त बिरामी छन्, कसैका श्रीमती त्यही अस्पतालको भवनमा छन् । मुखले सबै ठिक भन्ने उनीहरुको आँखाले भने सबै सत्य बताइरहेको छ । यो कारुणिक माहोलमा उनीहरुमाथि झनै अर्को अन्योल पनि थपिएको छ ।

त्यहाँभित्रका ७० शवमध्ये ४४ जनाको मात्र पहिचान भएको छ । उनीहरुले जीवित त आफन्त भेटेनन्, तर मृत विक्षत् शरीर हेरेर आफन्तको पहिचान पनि उनीहरुले गर्न सकिरहेका छैनन् । यही शवको लाइनमा एउटा परिवार पनि छ । जहाँ आमा, छोरादेखि नाती नातिनीसम्मको तीन पुस्ताको एउटै घटनामा सकिएको छ । तर, आफन्तले उनीहरुलाई चिन्न सक्दैनन् । जमुना शर्मा, युवराज शर्मा, आरुधी शर्मा र बेवी शर्मा ।

आमा, छोरा र छोराका दुई आँखाका नानीहरु सेती खोँचमा यती एयरलाइन्सको विमानसँगै उनीहरुको इहलीला पनि समाप्त भएको छ । पर्वतको विहादी गाउँपालिका ५ उरामपोखराका यो परिवार धार्मिक कार्यको लागि पर्वत जाँदै थियो । उरामपोखरा जमुनाको कर्मघर हो । उनको माइती भने विहादी ४ को सिर्वानेडाँडामा हो । जमुनाकी आमाको चौरासी पूजाकै लागि भनेर काठमाडौंबाट उनी छोरा र नातिनातिनीलाई लिएर पर्वत हिँडेकी थिइन् ।

एक हजार आठ चन्द्रमा (सहश्रचन्द्र दर्शन) देखिसकेपछि गरिने धार्मिक कर्म ‘चौरासी पूजा’लाई भनेर नै माइतको साइत सारेकी जमुना गन्तव्यमा भने पुग्न पाइनन् । काठमाडौंबाट पोखरा आउनको लागि उनले विमान चढ्नुपूर्व उनले धर्तीमा टेकेका ती पाइलाहरु नै अन्तिम बन्न पुगे । शव ल्याएको दोस्रो दिन आफन्तले मुस्किकले जमुनालाई पहिचान गरे ।

तर, उनले जन्माएको छोरा युवराज र उनका छोराछोरी भने हालसम्म सनाखत हुन सकेको छैन । आफन्तहरुले जाँदै, हेर्दै गर्छन् । तर, आँखाले ठम्याएर यो नै हाम्रो मान्छे हो भनेर भन्न सक्दैनन् । पीडामा रहेका उनीहरुलाई चिन्न नसकिने अवस्थामा रहेका शवबाट आफन्तहरु पहिचान गर्न नसक्दा अर्को पीडा थपिएको छ । त्यसैले, उनीहरुले सोचेका छन्, ‘एउटा मात्र शव बुझेर के गर्नु, सबैलाई काठमाडौं लगेर परीक्षण गराउँ ।’

मृतकहरुका आफन्त शुशील न्यौपानेले भने, ‘एकजनालाई मात्र चिन्न सकियो । अरु चिन्न हामीले सकेनौँ ।’ विमान दुर्घटनामा ज्यान गुमाउने युवराज काठमाडौंमा नै जागिर गर्थे । श्रीमती सरु रिजाल पनि विमानस्थलको एयर कन्ट्रोलर अफिसर हुन् । तर, उनको पेशा सम्बन्धित हवाई दुर्घटनाले उनको सिउँदो खोस्यो, बाबु र नानी खोस्यो, अभिभावक खोस्यो । उनी पनि अर्धचेतमा छन् । काठमाडौंकै एक अस्पतालमा उपचाररत उनलाई आइतबार त आफन्तहरुले ‘युवराजको अवस्था ठिकै छ’ भनेर थामथुम गरे ।

तर, सत्य कहिलेसम्म पो लुकाउने ? ‘भिनाजुको अवस्था ठिकै छ भनेका थियौँ, तर कहिलेसम्म लुकाएर सकिन्छ र ? हिजो पो मोबाइल दिएका थिएनौँ, आज बिहान मोबाइल हेर्नुभयो र थाहा पाउनुभयो,’ न्यौपानेले भने । एउटा दुर्घटनाले तीन पुस्ताको एक चिहान बन्यो । मातृत्व गुम्यो, खसम गुमे र उजाडियो एउटा खुसीयाली परिवारको खुसी । छोरी कुरिरहेकी आमाको काख रित्तिएको छ । विहादी गाउँपालिका शोकमग्न छ ।

प्रतिक्रिया

लोकप्रिय