कृषिले दिएको सन्तुष्टि

‘कृषिकर्म’मै सफल दम्पती, ‘तरकारी र कुखुरापालन’ले फेरिँदै जीवनस्तर

पहिलेभन्दा धेरै राम्रो आम्दानी भइरहेको छ । आधुनिक तरकारी खेती गर्न थालेपछि तरकारी बारीमा हरियाली छाएको छ ।

विहानै झिसमिसेमै परशुराम बुढा र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पत्तीलाई भ्याइनभ्याइ हुन्छ । विक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । विक्री गर्न मिल्ने तरकारी टिपेर प्याकिङ्ग हुन्छ, खाना खाइसकेपछि तरकारी विक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पत्तीको दिनचर्या नै हो ।

कति तरकारी व्यवसायीहरु त उनको बारीमै पुगेर तरकारी किनेर लैजान्छन् । बराहताल गाउँपालिका–६ ब्युरेनीका बुढा दम्पत्ती सात बर्षदेखि कृषि कर्ममा तल्लिन छन् । तरकारी खेती सुरु गरेको सात वर्ष भयो । बुवा हजुरबुवाले गरेको तरकारी खेती परम्परागत रुपमा चल्दै आएको थियो । तर, बुढा दम्पत्तीले यतिबेला परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेतीमा परिणत गरेका छन् ।

त्यसो त उनीहरुको पुर्ख्यौली पेशा नै कृषि हो । बुवा–हजुरबुवाको परम्परागत खेती प्रणालीको फरक देखाउँदै बुढा दम्पत्तीले भने, ‘उहाँहरुले थोरै खेती गर्नुहुन्थ्यो । हामी आधुनिक तरिकाले धेरै खेती गरिरहेका छौं । उहाँहरु आफै खट्नुहुन्थ्यो । हामी प्रविधिसँगै खटिएका छौं । व्यवसायलाई पनि बढाउँदै लगेका छौं । पहिलेभन्दा धेरै राम्रो आम्दानी भइरहेको छ ।’ आधुनिक तरकारी खेती गर्त थालेपछि तरकारी बारीमा हरियाली छाएको छ ।

आलु, काउली, भेडे खुर्सानी, साग, टमाटर, धनियाँ, प्याज, भिण्डी, रायो, बन्दागोभीले तरकारी बारी मनमोहक देखिन्छ । परशुरामले ४ रोपनी जमिनमा तरकारी खेती गरिरहेका छन् । अन्य खेतीभन्दा तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको परशुरामले सुनाए । ‘अन्य खेती गर्दा लगानीसमेत उठाउन गाह्रो हुन्थ्यो । तरकारी खेतीबाट एक फसलमै लगानीको दोब्बर आम्दानी हुन्छ,’ परशुरामले भने, ‘त्यसैले अन्य खेती गर्न छाडेको हुँ ।’

उनले सिजन अनुसारको तरकारी खेतीबाटै मेहनत अनुसारको फल र आम्दानी पाउन सकेको बताए । बारीबाट टिपेको ताजा र आलो तरकारी स्थानीय बजारका साथै प्रदेश राजधानी वीरेन्द्रनगर, नेपालगन्ज लगायत सहरसम्म बिक्रीका लागि लैजाने गरेको उनले बताए । उनका अनुसार घरबाट बजार पुर्‍याएको तरकारी नबिकेर घर ल्याउनुपर्दैन । करिब एक लाख रुपैयाँ लगानी गरेका बुढा दम्पत्ती एकाबिहानैदेखि साँझ अबेरसम्म तरकारी बारीमै ब्यस्त हुन्छन् ।

दैनिक ५–६ हजार रुपैयाँको तरकारी बारीबाटै बिक्री हुने गरेको बुढा दम्पत्तीको भनाई छ । ‘दैनिक कम्तीमा ५० किलो तरकारी बेच्दा पनि ५ हजार रुपैयाँ कमाइ हुन्छ,’ बुढा दम्पत्तीले भने । घरखर्च चलाउन झन्डै १० वर्ष भारतमा मजदुरी गरेका बुढा सात वर्षयता भने प्लास्टिकको टनेलमा तरकारी उत्पादन गरेर रमाइरहेका छन् । ‘बिहान ४ बजे नै तरकारी बारीमा पस्छु,’ परशुरामले भने, ‘विगतमा रोजगारीका लागि भारतमा किन भौंतारिएछु जस्तो लाग्छ ।’

बुढा दम्पती आफूहरूले सात वर्षदेखि तरकारी व्यवसायमा काम गर्दा गर्दा प्राविधिकको जस्तै अनुभव बटुलिसकेको बताउँछन् । ‘अहिले त गाउँमा कसैको तरकारी बारीमा केही समस्या आए हामीले नै समस्या समाधान गरिदिन्छौं,’ बुढा दम्पत्तीले एकसाथ भने, ‘कुन रोग किराको प्रकोप भए के लक्षण देखिन्छ र कुन विषादी प्रयोग गर्नेबारे हामीले नै अरू किसानलाई सल्लाह दिन्छौं ।’ तरकारी बेचेरै बुढा दम्पत्तीले सबै खर्च कटाएर बार्षिक साढे २ लाख बचत गर्छन् ।

‘बुढाको तरकारी खती हेरेरै गाउँका धेरैले तरकारी लगाएका छन् । अहिले विदेश वा अन्त काम गर्न जान परेको छैन । आफ्नै गाउँठाउँमा कमाइ गरिरहेका छौं,’ परशुरामले भने । आफ्नो देशमा बसेर तरकारी खेती गर्यो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय कृषक बनेका छन्, बुढा दम्पत्ती । ‘अरूको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देश तथा गाउँठाउँमा केही गरौँ, काम भनेको सानो ठूलो हुँदैन,’ परशुराम भन्छन् ।

उनले समाजले अझै पनि कृषि पेशालाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको पनि बताए । ‘कृषि क्षेत्र रमाइलो पेशा पनि हो । आफ्नो व्यवसायको आफंै मालिक हुन पाइन्छ । आफ्नो अनुकूलतामा काम गर्न पाइन्छ भने अरूको आदेशमा काम गर्नुपर्दैन,’ परशुरामले भने, ‘कृषि पेशालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ ।’ सरकारले कृषिमा अझ बढी जोड दिन सके धेरै मानिसको जीवनस्तरमा सुधार हुने किसान बताउँछन् ।

विगतमा रोजगारी खोज्दै भारततिर भौतारिने परशुराम अहिले गाउँका अब्बल किसानको सूचीमा दर्ज भएका छन् । ‘भारतमा अर्काको रोजगारी गरेर बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचले यता लागेँ,’ उनले भने, ‘अहिले राम्रो छ, मेहनतको फल पाएजस्तो लाग्छ ।’ अहिले तरकारी खरिद गर्न व्यापारीहरू नै बारीमा आउने गरेको धर्माले बताइन् । उनले भनिन्, ‘थोक बिक्रीका लागि व्यापारीहरु बारीमै आइपुग्छन् भने कहिलेकाहीँ श्रीमान्ले पनि बजार लैजानुहुन्छ ।’

उनले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् । बुढा दम्पत्तीले तरकारी खेतीका लागि सुरुवातमा २०–२५ हजार जति खर्च भएको बताए । व्यावसायिकरुपमा तरकारी खेती गर्दा सुरुवातमा तरकारी विक्री गर्न केही समस्या भए पनि अहिले भने माग अनुसार उत्पादन गर्न नसकेको परशुरामले बताए । आफूले तरकारी खेती सुरु गरेपछि अहिले ब्युरेनीका ४५ घरले तरकारी खेती गर्दै आएको उनले बताए ।

परशुरामकी श्रीमती धर्माले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् । खडेरीमा पानी नहुँदा १२ महिना तरकारी खेती गर्न गाह्रो हुने गरेको पनि उनले बताइन् । यस क्षेत्रमा अझै लगानी थप्ने परशुरामको सोचमा छ । परशुरामले भने, ‘सरकारी निकायबाट अनुदान पाउन सके हामीलाई अझै राहत हुने थियो ।’ परशुरामका अनुसार तरकारी खेतीका लागि बाँदर र पानी मुख्य समस्याका रुपमा रहेको छ ।

किसानलाई सहज कर्जा, मल, बीऊ तथा प्रविधिको अनुदानमा सबैको समान पहुँच स्थापित गरी राहत, अनुदान तथा कृषि बिमाको प्रभावकारी व्यवस्था गर्नुपर्ने बुढा दम्पत्तीको सुझाव छ । ‘अनुदान, प्राविधिक सहयोग पाउन पाए अझै सहज हुने थियो,’ बुढा दम्पत्तीले दुखेसो पोख्दै भने, ‘कृषिको अनुदान काम गर्ने किसानलाई भन्दा नगर्नेलाई जान्छ ।’ योग्य किसान हुँदाहुँदै पनि पहुँचका आधारमा अनुदान वितरण हुने गरेको बुढा दम्पत्तीको गुनासो छ ।

कुखुरापालन पनि सँगसँगै

तरकारी खेतीसँगै बुढा दम्पत्तीले कुखुरापालन व्यवसायलाई पनि सँगसँगै अघि बढाएका छन् । तरकारी खेतीका लागि मलको आवश्यकता पर्ने भएकाले कुखुरापालन व्यवसायलाई पनि सँगसँगै अघि बढाएको बुढा दम्पत्तीको भनाई छ । उनीहरुको खोरमा ५०० ब्रोइलर कुखुरा छन् । बुढा दम्पत्ती भन्छन्, ‘व्यावसायिकरुपमा कृषिकर्म गर्दा नोक्सान बेहोर्नुपर्दैन भन्ने कुराको ज्ञान भएको छ । दुवै व्यावसाय सुरु गरेयता हामीलाई घाटा व्यहोर्नुपरेको छैन ।’

एक लाख ५० हजार रुपैयाँबाट सुरु गरेको कुखुरापालन व्यवसायले अहिले मासिक ५० हजार रुपैयाँ आम्दानी दिइरहेको बुढा दम्पत्ती बताउँछन् । दुई रोपनी जग्गामा कुखुरापालन गरिरहेका बुढा दम्पत्तीले एक वर्षयता गाउँमै मासु पसल पनि सञ्चालन गरिरहेका छन् । ४०० रुपैयाँ प्रतिकिलो दैनिक २० देखि २५ किलोसम्म कुखुराको मासु गाउँमै खपत हुने गरेको बताउँदै बुढा दम्पत्ती भन्छन्, ‘मासु पसलबाट ४–५ हजारको व्यापार भइरहेको छ ।’

बुढा दम्पत्ती भन्छन्, ‘कुखुरापालनबाट राम्रो आयआर्जन भएको छ । अझ तरकारीका लागि प्राङ्गारिक मल पनि आवश्यक पर्ने भएकाले कुखुराको मल प्रयोग गर्दा उत्पादन पनि बढेको छ ।’ उनले हालसम्म कहिँकतैबाट अनुदान नलिएको पनि बताए । परशुरामले भने, ‘सरकारले कृषि तथा पशुपंक्षीपालन व्यवसायमा अनुदलान दिन्छ । तर अनुदान लिने प्रक्रिया भने झन्झटिलो छ । त्यसैले पनि मैले अनुदान लिनेतर्फ ध्यान नै दिएको छैन ।’

बुढा दम्पत्ती बिहानदेखि बेलुका अबेरसम्म कुखुराकै हेरचाहमा ब्यस्त हुन्छन् । ‘बिहानदेखि नै तरकारी खेती र कुखुराको हेरचाहमै बिताउने गर्छौ,’ आफ्नै जग्गामा अत्याधुनिक खोर बनाएर कुखुरापालन व्यवसाय गरिरहेका व्यवसाय गरिरहेका बुढा दम्पत्ती भन्छन्, ‘कुखुराको दानाको मूल्यमा उचारचढाब हुँदा आम्दानी घट्ने–बढ्ने हुन्छ । तर अहिलेसम्म घाटा नै भएको छैन । अहिले कुखुरापालनबाटै मासिक ५० हजार चोखो आम्दानी हुन्छ ।’

कहिलेकाँही कुखुरामा देखिने विभिन्न रोगले सताउने गरेको परशुराम बताउँछन् । ‘गाउँमा व्यवसाय गर्दा केही चुनौती छन् । प्राविधिक र औषधि अभावमा कहिलेकाहीँ समस्या आउँछ । कुखुराको बजार भाउ पनि राम्रो छ’, बोहराले भनिन्, ‘कुखुरालाई रोग नलाग्ने हो भने कुखुरापालनबाट मनग्ये आम्दानी गर्न सकिने देखिएको छ ।’ उनले लगानीअनुसार आम्दानी भइरहेकोमा सन्तुष्टि पनि व्यक्त गरे ।

गाउँघरमै पाइने बाँस तथा अन्य काठको प्रयोगबाट उनीहरुले कुखुराको खोर बनाएका छन् । गाउँमै कृषि कर्ममा तल्लिन बुढा दम्पत्तीले व्यवसाय गर्नेलाई गाउँमै अवसर भएको प्रमाणित पनि गरिदिएका छन् । छोटो समयमै आफ्नै मेहेनतले बुढा दम्पत्ती गाउँकै उदाहरणीय कृषक हुन् । श्रम गर्ने सके देशकै माटोले मनग्य आम्दानी र रोजगारी निद सक्ने उनीहरुको अनुभव छ । कृषि पेशाबाटै बुढा दम्पत्तीले तीन छोराछोरीले सुर्खेतको बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।

प्रतिक्रिया

लोकप्रिय