किन रिसाहा हुँदैछन् महिलाहरू ?

विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ । दुई वर्षअघि भान्सा कोठामा रहेका बेला ताशा रेनीले निकै चर्को आवाज निस्कने गरी चिच्याइन् । यसले उनी आफैलाई आश्चर्यचकित पार्यो ।

‘रिसाउनु मेरा लागि सधैँ सहज भाव थियो,’ उनले भनिन् । तर यस्तो अवस्था उनले विगतमा महसुस गरेकी थिइनन् । यो कोभिड महामारीको बीचमा भएको थियो । त्यसको २० मिनेट अघि आफूलाई क्रुद्ध पारेका कुराहरू सम्झँदै घरभित्रै उनी हिँडेकी थिइन् । त्यसरी चिच्याएपछि उनले असाध्यै हलुका महसुस गरिन् ।

पेसाले हिप्नो थेरापिस्ट र लाइफ कोच ताशाले त्यसयता विश्वभरका महिलाहरूलाई जुममा जमा गर्दै उनीहरूलाई क्रुद्ध बनाउने कुराहरूबारे बोल्न लगाउने र चिच्याएर आफ्नो भाव प्रस्फुटन गर्न लगाउने गर्छिन् । ग्यालप वर्ल्ड पोलको १० वर्षको तथ्याङ्क केलाउँदा महिलाहरू झन् झन् रिसाहा हुँदै गएको देखिन्छ ।

उक्त सर्वेक्षणमा प्रत्येक वर्ष १५० देशका १२०,००० मानिसहरूलाई सोधिने प्रश्नमध्ये अघिल्लो दिन अधिकांश समय ती व्यक्तिले कस्तो भाव महसुस गरेका थिए भन्ने प्रश्न पनि पर्छ । खासगरी नराम्रो महसुस हुँदा महिलाहरूले (क्रोध, नैराश्य, तनाव अनि चिन्ता) जस्ता भाव पुरुषको तुलनामा निरन्तर रूपमा बढी महसुस गर्ने गरेको बताउने गरेका छन् ।

सन् २०१२ यताको तथ्याङ्क केलाउँदा पुरुषको तुलनामा बढी सङ्ख्यामा महिलाहरूले निराश महसुस गर्ने गरेको देखिन्छ । महिला, पुरुष दुवैले गर्ने यस्तो अनुभूति उकालो लाग्ने क्रममै छ । तर क्रोध अनि तनाव महसुस हुनुमा पुरुषसँगको तुलनामा खाडल बढ्दो क्रममा छ । सन् २०१२ मा दुवै लिङ्गका मानिसहरूले समान तहमा क्रोध अनि तनाव महसुस गर्ने गरेको देखिन्छ ।

त्यसको ९ वर्षपछिको समयसँग तुलना गर्दा महिलाहरू झन् झन् क्रुद्ध बन्दै गएको देखिन्छ । पुरुषहरूको तुलनामा उनीहरू ६ प्रतिशत बढी रिसाहा भएको देखिन्छ । बढी तनाव लिने कुरामा पनि महिलाहरू अघि परेको देखिन्छ । यस्तो तथ्याङ्कले अमेरिकास्थित एक जना थेरापिस्ट सारा हार्मनलाई आश्चर्यमा पार्दैन ।

सन् २०२१ मा उनले आफूकहाँ आउने महिलाहरूलाई चौरमा जमा पारेर चिच्याउन लगाएकी थिइन् । विश्वभर महिलाहरूले महसुस गरेको भाव आफूले समात्न सकेको साराको विश्वास छ । महामारीको बोझ असमान रूपमा आफूहरूमा परिरहेकाले उनीहरू तीव्र गतिमा निराश बनेको साराको बुझाइ छ ।

इन्स्टिच्युट फर फिस्कल स्टडीजीले सन् २०२०मा इङ्गल्यान्डमा विषम लैंगिक सम्बन्धमा रहेका झन्डै ५ हजा अभिभावकहरूको सर्वेक्षणमा बुवाको तुलनामा लकडाउनको समयमा आमाहरूले बढी घरेलु जिम्मेवारी लिने गरेको पाइएको थियो । जसका कारण उनीहरूले काम गर्ने समय घटाएका थिए । श्रीमान् भन्दा श्रीमतीले बढी आमदानी गर्नेहरूको हकमा समेत अवस्था उस्तै देखियो ।

केही देशमा अघिल्लो दिन रिस महसुस गरेको बताउनेको महिला र पुरुषको सङ्ख्यामा देखिएको भिन्नता विश्वव्यापी औसतभन्दा धेरै छ । कम्बोडियामा सन् २०२१ मा १७ प्रतिशतको फरक देखिएको थियो भने भारत र पाकिस्तानमा त्यस्तो भिन्नता १२ प्रतिशत थियो । मनोचिकित्सक डा लक्ष्मी विजयाकुमार यो बढीभन्दा बढी महिला शिक्षित, रोजगार अनि आर्थिक रूपमा आत्मनिर्भर भएसँगै उत्पन्न भएको तनावको नतिजा रहेको ठान्छिन् ।

‘यसै समयमा उनीहरू पुरातन, पितृसत्तात्मक प्रणाली र संस्कृतिद्वारा बाँधिएका छन्,’ उनी भन्छिन्, ‘घरमा पितृसत्तात्मक व्यवस्था र घरबाहिर मुक्ति पाएकी महिलाबीचको असहमतिले धेरै क्रोध निम्त्याउँछ ।’ उनका अनुसार विगतमा महिलाहरूलाई रिस उठ्यो भन्नुलाई उचित मानिँदैनथ्यो तर त्यो बिस्तारै परिवर्तन हुँदै गएको छ ।

महामारीले महिलाहरूको काममा पारेको प्रभावले पनि उनीहरूको भावमा फरक पारेको हुनसक्छ । सन् २०२० अघि श्रममा महिलाहरूको सहभागितामा निकै ढिला प्रगति भएको देखिएको यूएन विमिनकी डेटा साइन्टिस्ट जीनेट अजकोना बताउँछिन् । सन् २०२० मा त त्यो गति ठप्प नै भयो । यो वर्ष १६९ राष्ट्रमा काम गर्ने महिलाहरूको सङ्ख्या सन् २०१९ भन्दा कम हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लोकप्रिय