समय सन्दर्भ

महिलासँग किन डराउन थाले पुरुष ?

प्रेम गर्ने, यौन साटासाट गर्ने, ब्रेकअप भएपछि हिंसा भो भनेर जेल पठाउने । यो कति न्यायोचित छ ?

केटाहरूको केही डाइलग, पल र सन्दीपपछि तेरो पालो आउला ! १८ वर्ष नकटेकासँग नबोल ! उमेर सोधेर मात्रै लभ गर ! डेटिङ जानुअघि जन्मदर्ता हेर ! १८ वर्षमुनिका केटीलाई साथी नै बनान ! केटाले केटालाई भन्ने डाइलग हो यो । चोक, क्याफे, कार्यालयतिर कहिलेकाहीँ प्रेमको चर्चा हुन्छ । क्रसको चर्चा हुन्छ । त्यसबेला ख्यालठट्टा गर्दै यस्तै डाइलग भन्ने गरिन्छ ।

यस्ता डाइलगहरूको सामाजिक सञ्जाल पनि निकै व्यापक देखिन्छ, सुनिन्छ । यस्ता डाइलगको चर्चा हुन थालेको धेरै भएको छैन । नाबालिगको तर्फबाट अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी परेपछि सुरु भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध पनि बलात्कारको मुद्दा परेपछि यसले व्यापकता पायो । त्यसपछि यो डाइलग ठट्टाका रूपमा दोहोरिरहन्छ ।

यी डाइलगहरू सुन्दा सामान्य लाग्छ । तर, सुन्दा यो जति सामान्य छ, मनोवैज्ञानिक रुपमा उति नै जटिल छ । हाम्रो पुस्ता डरै डरमा बाँचिरहेको छ । केटीको डर– बेलुका घर फर्कँदा कतै बलात्कृत पो हुन्छु कि ? भिडभाडमा जाँदा कसैले संवेदनशील अङ्गमा चिमोटिदिने पो हो कि ? महिला मात्रै होइन, पुरुष पनि अहिले त्रासमै छन् । उनीहरूलाई कसैले फसाउलान् कि भन्ने डर छ । कुनै पुरुषलाई यौन हिंसाको आरोप लाग्नासाथ उसलाई अपराधी ठहराइन्छ । उसलाई मृत्युदण्डको माग उठ्छ ।

चर्चा व्यापक हुन्छ । समाचार बन्छ । रेडियोले फुक्छ, टेलिभिजनले देखाउँछ, पत्रिकामा छापिन्छ– फलाना बलात्कारी समातिए ! त्यसपछि माइतीघर मण्डलामा अभियान चल्छ । अधिकारकर्मीहरू कुर्लन्छन्, बलात्कारीलाई फाँसी दे ! त्यसैले पुरुषमा त्रास बढ्दो छ । महिलालाई अप्ठ्यारो पर्दा अधिकारको कुरा उठ्नु स्वाभाविकै हो । उठ्नु पनि पर्छ । तर, छानबिन हुन त दिनुपर्यो नि । आरोपितलाई अपराधी नै त मान्नु भएन ।

यस्तो लाग्छ– केही यस्ता अभियन्ता छन् । कहिले कसलाई आरोप लाग्छ, अनि आन्दोलन गरौँला भनेर बसिरहेका छन् । उनीहरूको सोच यस्तो हुन्छ– पीडित महिला मात्रै ! पुरुषमाथि त हिंसा नै हुँदैन । पुरुष पीडक मात्रै हुन् ! पीडित त छँदै छैनन् । त्यसैले त बारम्बार फलाकिन्छ– पुरूष प्रधान देश । पितृसत्तात्मक सोच । हुन त पुरुषले ‘म असुरक्षित छु’ भन्दा जोक हुन्छ । उ जोकर बन्छ । उ नामर्दा हुन्छ । समाजले हाँसोमा उडाउँछ । उसको समाचार रोचक बन्छ ।

महिलामाथि लामो समय पुरुषले शोषण गरेकै हुन् । यो सर्वस्वीकार्य छ । तर समय सधैँ एकैनाश पनि त रहँदैन । समाजले सधैँ पुरुष खराब ठानिरहन्छ ! महिला सोझा, निमुखा र निरीह मानिरहन्छ ! के यहाँ पुरुष चाहिँ पीडित नै छैनन् ? उ महिलाको कारणले कहिले प्रताडित हुँदैनन् ? प्रश्न उठ्न थालेको छ । हाम्रो समाज यो मान्नको लागि तयार छैन, पुरुष पनि महिलाले गर्ने अपराधको सिकार बन्न सक्छ । कहिल्यै खोज्दैनन्, महिला हिंसाका कारण पुरुषको कयौँ व्यथा नलेखिने कथा बनेका छन् कि ?

महिलाले पनि पुरुषलाई फसाइरहेका छन् । ब्ल्याकमेल गरिरहेका छन् । तर, समाजलाई थाहा हुँदैन । र, खासै बाहिर पनि आउँदैन । प्रेमको नाममा पनि कति पुरुष पीडित छन् । प्रेम गर्ने बहानामा स्वार्थ लुट्नेको कमी छैनन् । मन मिलेसम्म प्रेम, नमिलेपछि बलात्कार । त्यसपछि जेल । यस्ता उदाहरणहरू हाम्रैसामु छन् । नेपालमा बलात्कार सम्बन्धी कानून निकै कडा छ । चर्चित सेलिब्रेटी पनि सामान्य गल्तीका कारण ठूला मुद्दामा फसिरहेका छन् ।

सभामुखजस्ता उच्च पदस्थ पनि यसबाट अछुतो हुन सकेनन् । जेल जानुपर्यो । जोकोही पनि यो अवस्थाका लागि तयार हुनुपर्ने अवस्था बनेको छ । तर, यहाँ महिला मात्रै हिंसामा पर्छन् ! पुरुषमाथि कहिल्यै हिंसा हुँदैन ! उ माथि अपराध नै हुँदैन । समाज बारम्बार महिला हिंसाको कुरा गर्छ । तर, पुरुष हिंसा कल्पनासमेत गर्न सक्दैन । महिला हिंसाविरुद्धको १६ दिने अभियान चल्छ । जहाँ सधैँ पुरुषलाई दोषी देखाइन्छ । तर, पुरुषमाथि पनि हिंसा हुन्छ है भन्ने परिकल्पनासमेत हुँदैन ।

ठुलाबडा भनाउँदाले ‘महिला हिंसा अन्त्य गरौँ’ भन्ने स्लोगानसहितको ब्याज लगाउँछन् । ती पुरुषहरू आफैँ पनि हिंसाबाट प्रताडित पो छन् कि ? हरेक दिन महिला सुरक्षाको बारेमा नयाँनयाँ कानुन निर्माण हुन्छ । व्याख्या हुन्छ । तर, महिला मात्रै हिंसामा पर्छन् भन्नु अव्यवहारिक हुन्छ । अन्यायपूर्ण हुन्छ । पुरुष सबै खराब नहोलान् । तर, सबै महिला असल पनि त छैनन् । हो पीडा लुकाउन हुँदैन, बोल्नुपर्छ  ।

यसको मतलब यो होइन, प्रेम गर्ने, यौन साटासाट गर्ने, ब्रेकअप भएपछि हिंसा भो भनेर जेल पठाउने । यो कति न्यायोचित छ ? यो बारे पनि बहस हुनु जरुरी छ । पुरुषलाई एउटा अप्ठ्यारो छ । महिला जसरी हिंसामा परे सहजै बाहिर आउन सक्दैनन् । आफ्नो कुरा खुलेर भन्न सक्दैनन् । महिलाजसरी रुन, कराउन सक्दैनन् । रुढीवादी समाजले नै भन्छ– छोरा मान्छे भएर रुनु हुँदैन । जसको कारणले उनीहरू भित्रभित्रै रोइरहेका पो छन् कि ? मानसिक बिरामी पो हुँदैछन् कि ?

केही आत्महत्या गर्नेसम्मको अवस्थामा पो पुग्दैछन् कि ? पुरुषबिना महिला अधुरो । महिलाबिना पुरुष । फेरि किन महिलाको शत्रु पुरुष ? र, पुरुषको शत्रु महिला ? यस्तो व्यवहारले स्त्री र पुरुषबीचको प्राकृतिक सम्बन्धमै पो असर पर्ने हो कि ? यस्ता व्यवहारले पुरुष र महिलाको मित्रवत् व्यवहार र प्रेमको धमिलो हुँदै गएको छ । यदि, यही रूपमा असमानताहरु बढ्दै जाने हो भने सामाजिक जीवनमा नै असर पर्दैन कसरी भन्ने ?

महिला र पुरुषको माया र विश्वास सङ्कटमा पुग्नेछ । र, समाज झनै असुरक्षित हुनेछ । माया लोप हुनेछ । कृत्रिम यौन अंगहरूको विकास हुनेछ । महिला र पुरुष दुवैको जिन्दगी कृत्रिमतातिर धकेलिनेछ । त्यसैले पुरुष र महिला एकअर्कालाई दोष थोपारेर होइन, हातमा हात मिलाएर अघि बढ्नुपर्छ । दुवैमाथि हुने हिंसाविरूद्ध दुवै मिलेर लड्नुपर्छ । त्यसपछि मात्रै महिला र पुरूषको सम्बन्ध प्रगाढ हुन्छ ।

प्रतिक्रिया

लोकप्रिय