अभिमत

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओली राजनीतिक बिचौलिया !

संविधान, लोकतन्त्र, अदालत, राष्ट्रपति, संसद्, प्रतिपक्षजस्ता सबैखाले संस्थाको सम्मान र विश्वसनीयता यतिबेला न्युनतम् बिन्दुमा झरेको छ ।

चुनाब अगाडि केपी ओलीले रेकर्ड राख्नुस् भन्दै ‘माओवादी बिचौलिया’ दल बन्ने तर एमालेको पूर्ण बहुमत आउने हुनाले बिचौलियाको कुनै भूमिका नहुने बताएका थिए । कांग्रेसले त बहुमत शब्द उच्चारण गर्ने आत्मविश्वाससमेत गुमाइसकेको थियो र पनि पहिलो पार्टीका रूपमा सत्तामाथि आफ्नो पत्ता सधैँ माथि रहने उसको विश्वास थियो ।

भोट त माओवादीले बिचौलिया बन्ने स्तरकै पाएको हो । तर, परिस्थिति यस्तो बन्यो कि उल्टै एमाले र कांग्रेसलाई उसले बिचौलिया बनाइदियो । अरूलाई सजिलै बिचौलिया भन्नेले पनि त्यही भूमिकामा आफू हुँदा चाहिँ ‘किङ्गमेकर’ भन्ने या सत्ताको चाबी हाम्रो हातमा छ भन्ने आत्मवञ्चनामा रमाउने हुँदोरहेछ । उसो त ढोकाको चाबी गेटपालेसँग पनि हुन्छ ।

यसअघि एमालेका मनमोहन अधिकारीले अल्पमतको सरकार बनाउँदा लगभग संसदको पूर्ण समर्थन पाएका रहेछन् । प्रतिपक्षमा रहेको कांग्रेसले समेत विश्वासको मत दिएको रहेछ । उनको छोटो कार्यकाल पनि आजसम्म सम्मानपूर्वक सम्झिइने गरिन्छ । अहिले प्रचण्डले त्यो अवसर पाएका छन् । आवश्यकताभन्दा बढ़ी शक्तिले उन्माद र निरङ्कुशता जन्माउने उदाहरण पनि छन् ।

संविधानतः विपक्षले दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन सक्दैनथ्यो । तर, बहुमत पुग्न समर्थन गरेका दलमध्ये कुनैले बिचैमा समर्थन फिर्ता लिएको खण्डमा चाहिँ सरकारले फेरि विश्वासको मत लिनुपर्ने प्रावधान रहेछ । राजनीति र पार्टीको सम्बन्ध कति तरल छ भन्ने प्रचण्डले जति कसले बुझेको होला ? मेरूदण्डविहीन कांग्रेसको विश्वासको मत यही कमजोरीलाई ध्यान दिएर प्रयोग भएको हुनुपर्छ ।

अब कुनै एउटा दलले मेरो समर्थन फिर्ता गर्छु भन्दैमा प्रचण्डको कुर्सी हल्लिने देखिन्न । चुनाब जसले जितुन्, राजनीति माओवादीले जितेको छ । राम्रो होस् या नराम्रो, देश उसकै एजेन्डामा हिँडेको छ । प्रधानमन्त्रीबाट हट्नेबित्तिकै बाँदरमुढ़ेको तस्बीर बेचेर प्रचण्डलाई हत्यारादेखि विदेशी दलालसम्म सबै गाली गरेर बर्सैभरि संसद चल्न नदिने ओलीले आज प्रचण्डलाई प्रधानमन्त्री बनाएर बिचौलिया बन्न पाउँदा मख्ख छन् ।

ठूलो स्वरमा लोकतन्त्र र संविधान रक्षाको बकबक गर्ने कांग्रेसले त संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्य मात्रै होइन, आफू कहाँ र केमा उभिएको छु भन्ने पनि होस गुमाएको छ । ऊ प्रमुख बिचौलिया बन्न सङ्घर्ष गर्दैछ । दुबैको प्रतिष्पर्धा बिचौलिया बन्न या बनिरहनका लागि हो । माओवादी एक कित्ता माथि छ । बत्तीमा पुतलीजस्तो सत्ता र अरू पार्टीको के कुरा गर्नु ? संविधान, लोकतन्त्र, अदालत, राष्ट्रपति, संसद्, प्रतिपक्षजस्ता सबैखाले संस्थाको सम्मान र विश्वसनीयता यतिबेला न्युनतम् बिन्दुमा झरेको छ ।

विश्वासको मतमा देखिएको यो अद्भुत विश्वास पनि एक अर्काप्रतिको अविश्वासकै अभिव्यक्ति हो । जसरी एउटा गरिब किसानले आफ्नो आयले मात्रै होइन, ऋण लिएरै पनि हेलिकप्टर किन्न सक्दैन, देशको अवस्था पनि उस्तै छ । किसानलाई मल किन्न त ऋण मिल्ला, हेलिकप्टर किन्न कसैले ऋण पत्याउन्न । आफ्नो आयले तलबभत्ता खुवाउन नसक्ने देशलाई सिङ्गापुर बनाउन कसले लगानी गर्ला र ? तैपनि नगरी त झन् केही पनि हुँदैन । गर्ने हो भने प्रचण्डलाई जस्तो अवसर शायदै अरू कसैलाई मिल्ला ?

स्रोत : लेखकको फेसबुकबाट

प्रतिक्रिया

लोकप्रिय