५० हजारमा दुहुनो भैंसी बेचेर ‘टिकटक लाइभ’ !

किशोरावस्थाका युवामा टिकटकप्रतिको क्रेज बढ्नु स्वभाविकै हो । तर, उमेरको उत्तरार्धमा पुगेकी अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ । अछामको ठाँटीमा वाइफाइ छैन । रंगाले टिकटक बनाउन र हेर्न नेपाल टेलिकम वा एनसेलको डाटा किन्नुपर्छ । ‘छोराछोरीले टिकटक चलाएको हेर्दा रमाइलो लाग्यो ।

छोराले टिकटक आइडी पनि बनाइदियो । पछि त रिचार्ज गर्दागर्दै ५० हजार ऋण लाग्यो अनि भैंसी बेचेर तिरें,’ रंगाले खुँसी हुदै भनिन् । रंगाको घरमा अझै तीन वटा लैनो भैंसी छन् । ‘रमाइलो गर्न एउटा भैंसी बेच्नुपरे पनि मलाई कुनै पश्चाताप छैन । तीनवटा भैसी त अझै छन् नि,’ उनले थपिन् । उनको टिकटक आईडी छोरी देव बुढाका नामबाट छ । रंगा निरक्षर महिला हुन् ।

उनले केही दिनको प्रौढ कक्षा मात्र पढेकी छन् । तर, अहिले उनी आफैं टिकटक बनाउँछिन् । पोस्ट गर्छिन् । अनि लाइभमा पनि बस्छिन् । रंगा बढीजसो टिकटक अछामको स्थानीय भाषामा बनाउँछिन् । उनको अधिकांश टिकटक भाइरल हुने गरेका छन् । अछामी भाषाको प्रचारप्रसार भएको भन्दै धेरैले उनको प्रसंशा गर्न थालेपछि उनलाई अझ टिकटक बनाउने जोश बढेको हो ।

ठाँटीमा इन्टरनेट र बिजुलीको पहुँच छैन । उनी मोबाइलमा रिचार्ज हालेर बढीजसो टिकटक लाइभमा बस्छिन् । छोरी देवले मोवाइलमा टिकटक चलाएको हेर्दाहेर्दै उनले सिकेकी हुन् । चलाउन सिकेपछि आफ्नै मोबाइल किनेर अछामी भाषामा बोलेर लाइभ बस्न थालेको उनले बताइन् । उनले टिकटक चलाउन थालेको एक वर्ष भयो ।

उनले भनिन्, ‘गत वर्षका पुसदेखि टिकटक चलाउन सुरु गरेकी हुँ । छोरीले मोबाइलमा टिकटक चलाएको बेला हेरिरहन्थें । रमाइलो लाग्यो । टिकटक हेर्दा समय बितेको थाहै नहुने रहेछ । दुई तीन दिन छोरीले भिडियो बनाउन र लाइभ बस्न सिकाई दिई । त्यसपछि त सिकिहालें । रहर र इच्छा भएपछि छिटो सिकिने रहेछ । आफ्नो मन र दुःख भुलाउन सजिलो हुने रहेछ टिकटकमा ।’

टिकटक चलाउन उनको मोबाइलमा दैनिक झण्डै ५०० रुपैयाँको रिचार्ज खर्च हुन थाल्यो । घर नजिकैको पसलबाट रिचार्ज ल्याउने गरेको उनले बताइन् । सुरुका केही दिन त उनले पैसा दिएर रिचार्ज ल्याइन् । त्यसपछि उनले उधारो ल्याउन थालिन् । रंगादेवी भन्छिन्, ‘रिचार्ज हाल्दा–हाल्दा उधारो १६ हजार पुगिसकेको रहेछ । पसलेले उधारो धेरै भयो भनेर रिचार्ज नदिने भन्यो । अनि मैले रमाइलै त हो नि भनेर भैंसी बेचेकी हुँ ।’

उनले रिचार्जको पैसा तिर्न भैसी बेच्नुपर्यो भनेर टिकटक लाइभबाटै भनेकी छिन् । रंगाका बुढा वीरबहादुर घरमै कृषि कार्य गर्छन् । रंगाको जेठो छोरोको मृत्यु भएको दुई वर्ष भयो । अहिले १५ वर्षको छोरा एकेन्द्र र २० वर्षीया छोरी देव छन् । जेठो छोरा खेमराज भारतमा नोकरी गर्थे । धनगढीमा कमर्स पढ्दै गरेका खेमराज कक्षा १२ को पढाइ सकेर नोकरीका लागि भारत गएका थिए ।

दुई वर्ष पहिले भारतबाट घर फर्केका खेमराज गाउँ घुम्न निस्कने भन्दै काठ चिर्ने गाउँलेहरूसँगै निस्केका थिए । खोलामा पानी खाने क्रममा त्यहाँ राखिएको बिजुलीको तारबाट करेन्ट लागेर छोराको ज्यान गएको उनले बताइन् । उनले भनिन्, ‘धनगढी पढाउँदा ७ लाख खर्च भयो । छोराको बिहे धुमधामसँग गरेको थिएँ । बिहेमा ४ लाख खर्च गरें । बिहे गरेको एक महिनामा त यस्तो घटना भयो । टिकटक चलाएपछि मन भुलिन्छ । छोराको दुःख बिर्सिन्छु ।’

टिकटक चलाउन थालेको कति वर्ष भयो ?

यो पुसमा ठ्याक्कै एक वर्ष पुग्यो । टिकटक चलाउँदा–चलाउँदै वर्ष बितेको पत्तै भएन । वास्तवमा टिकटिक चलाएर समय गएको थाहै नहुने रहेछ । अघिल्लो वर्ष यही पुसमा अलि–अलि सिक्दै थिएँ । केही दिनमै आफै चलाउने भइसकेको थिएँ । अहिले त आफै लाइभ बस्छु, आफैं भिडियो बनाएर पोस्ट गर्छु । सिक्दा–सिक्दै अहिले त टिकटकका धेरै कुरा आफैं गर्न जान्ने भइसकेको छु ।

दैनिक कति घण्टा टिकटक चलाउनुहुन्छ ?

दैनिक यति घण्टा भन्ने त छैन । गाउँतिरका मान्छे हामी अरू काम पनि धेरै हुन्छन् । भैसी चराउनुपर्छ । घासपात गर्नुपर्छ । घरको काम पनि गर्नुपर्छ । बढी जस्तो भैंसी चराउन गएको बेला दिउँसोतिर टिकटक चलाउन समय बितेको पत्तो हुँदैन । काम पनि हुने सँगै राम (रमाइलो) पनि हुने । भैंसी चराउन गएको बेला जेठानी देउरानीहरूसँग मिलेर टिकटक बनाउँछु ।

  • जसले इन्टरनेट चलाएरै सकाइन् ५० हजार रुपैयाँ ।
  • दैनिक ५ सय रुपैयाँ बराबरको रिजार्च गर्छिन् ।
  • भन्छिन्, ‘छोरा गुमाएको पीडा कम गर्न टिकटक सहयोगी बन्यो ।’

हाम्रा गाउँ त विकट ठाउँ हो । कहिले मोबाइलको टावरले राम्रोसँग काम गर्दैन । कहिले बत्ती नभएर चार्ज हुँदैन । यस्तै छ । जिन्दगीमा रमाइलो गर्नुपर्छ । मरिलानु के छ र ! भोलि सबै थोक यहीं छुट्ने हुन् । ( हाँस्दै) खान लगाउन पुगे भइहाल्यो नि ।

टिकटक चलाउनकै लागि भनेर भैंसी नै बेच्नु भएछ त ?

(हाँस्दै) उम भैंसी बेचिदिएँ । दूध दिने भैंसी ५० हजारमै बेंचे । भैसी बेचेको पैसाले रिचार्जको उधारो तिरे नि । मैले टिकटिक लाइभमै यो कुरा जानकारी गराएको थिएँ । धेरैले ‘नबेच्नुपर्ने बरु हामी सहयोग गर्थेउँ’ भने । उनीहरूले मायाले भनेका होलान् । मैले पनि आफूलाई परेको दुःख सुनाएँ । अहिले घरमा दुई भैंसी छन् । दूध दही बेच्ने बजार छैन । सबै आफैं खान्छौं । घिउ बनाउँछौं ।

लाइभमा बस्दा के के भनेर बोल्नु हुन्छ ?

आफ्नै अछामी भाषामा आफ्नै सुख–दुःखको कुरा गर्छु । गाउँघरका कुरा । कहिलेकाहीं देउडा गाउँछु । भैंसी पालेको छु । दूध, दही, मही, खान आउनु होला भन्छु । गाउँघरमा महिलालाई हुने दुःखका कुरा गर्छु ।

कस्ता–कस्ता कमेन्टहरू आउँछन् ?

कमेन्टहरूमा ‘सन्चै छ ?’, ‘आरामै छ ?’, ‘भैसी कहाँ गयो त आज ?’ भनेर भन्ने गर्छन् । खाना खाए नखाएको सोध्छन् । टिकटक केबाट चलाउनुहुन्छ वाइफाइ छ कि छैन भन्छन् । कसैले देउडा गाउनु भन्छन् । यस्तै–यस्तै कमेन्ट आउँछ ।

कति पढ्नु भएको छ त ?

कठै के पढ्नु र म । अलि–अलि पौढ कक्षा पढेकी हुँ । हाम्रा पालामा छोरी पढाउने चलनै थिएन । आजभोलि जन्मेको भए त (हाँस्दै) पढ्न जाने थिएँ । के गर्नु भाग्य यस्तै भयो ।

कमेन्टहरू पढ्न जान्नुहुन्छ ?

सुरु–सुरुमा त आउँथेन । छोरीले सिकाइ दिन्थी । छोरीसँग सिक्न थालें । राम्रैसँग त जान्दैनँ । अलि–अलि लाइभ बस्दा आएका कमेन्टहरू पढेर जवाफ फर्काउँछु । धेरैले मैले बुझ्ने गरी नेपालीमा सजिलोसँग लेखेर पठाउनुहुन्छ ।

टिकटक लाइभमा गिफ्ट माग्नुहुन्छ कि नाइ ?

आजसम्म मागेको छैन । माग्दैन पनि । माग्नलाई टिकटक चलाएको होइन मैले । कसै–कसैले आफैं दिन्छन् । फूल दिन्छन् । आफ्नो रहर र दुःख–सुखका कुरा गर्न टिकटक चलाउँछु । लाउँ–लाउँ खाउँ–खाउँ भन्ने उमेरको जेठो छोरा बित्यो (मलिन स्वरमा) छोरा बितेको दुई वर्ष भयो । सम्झेपछि मन पागल हुन्छ । यस्तै टिकटकले त्यो पीडा भुलाउन मदत गरेको छ । हिजोआज यसैमा मन भुल्ने गरेको छ । यसैमा रमाउने गरेको छु ।

स्रोत : गीता कुँवर । अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

लोकप्रिय