विचार

जनयुद्धका कमाण्डर प्रचण्डको काँधमा पृथ्वीजयन्ती

पृथ्वीनारायणलाई मान्नु भनेको विभिन्न जातजाति, धर्म, सम्प्रदाय, विचार र वादमा अल्झेर रहेका नेपालीबीच एकल नेपाली जातीय भाव प्रवद्र्धन गर्नु पनि हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, उनका पुत्र पारस र बुहारी हिमानीका वर्षभरी हुने गतिविधि र बेलाबेला आउने वक्तव्यले अचेल राजतन्त्रको चर्चा सकारात्मक वा नकारात्मक भइरहन्छ । त्यसमाथि पूर्वपञ्चहरूको दल र त्यसबाट छुट्टिएको राप्रपा नेपालका नेताहरूको मन्तव्यमा पनि राजतन्त्रको विषय उठिरहन्छ । अझ देशमाथि वैदेशिक हस्तक्षेपका कुरा उठ्दा होस वा विदेशीसँग लम्पसार परेको आरोप लागेको बेला पृथ्वीनारायण शाहको दिव्योपदेश धेरैले सम्झने गरेका छन् ।

त्यसैले राजतन्त्रको विषय सुन्न, पढन् पहिले जस्तो पुस १, पुस १४ र पुस २७ गते कुरिरहनुपर्दैन । विसं २०१७ पुस १ गते आफ्नो सरकारलाई अपदस्त गर्ने र प्रतिनिधिसभा नै भङ्ग गरेर प्रत्यक्ष शासन गर्ने राजा महेन्द्रको कदमको विरोध गरे पनि नेपाली कांग्रेसका सभापति वीपी कोइरालाले आफू नमरुञ्जेल ‘राजा र मेरो घाँटी जोडिएको छ’ भनिरहे । मदन भण्डारीले राजालाई आँखा नचम्काउन खबरदारी गरे । तत्कालीन नेकपा (माओवादी)ले त संविधानसभाको निर्वाचन र निरङ्कुश राजतन्त्रको अन्त्य गर्ने माग राखी ‘जनयुद्ध’ नै गर्यो ।

पुष्पलाल पनि राजतन्त्रको अन्त्य नै चाहन्थे । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको अन्त्य गर्ने पार्टीगत निर्णय गरेका हुन् । अझ उनमा पहिलो राष्ट्राध्यक्ष वा राष्ट्रपति हुने लोभ पनि थियो । राजेन्द्रप्रसाद लिङ्देनले नेतृत्व गरेको राप्रपाले प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ सात गरी चौध स्थानमा विजय गर्याे । जबकि, अघिल्लो पटक २०७४ मा लिङ्देनले मात्र झापा–३ मा विजय हासिल गरेका थिए त्यो पनि नेकपा (एमाले)को सहयोगमा ।

यस पटक झापा, रुपन्देही र बाँकेमा एमालेसँग गठबन्धन गरेर चुनाव जितेको हो । राप्रपाको मूल नारा राजतन्त्र र हिन्दूराज्य नै थियो । हुन त पुराना दलहरूमा जाने मत यस पटक बिलकुल नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीमा गएको पाइयो । पुराना र ठूला दलहरूप्रति जनताको विकर्षण बढेको तथ्य अघि सार्ने हो भने ३२ वर्षअघि जन्मेको राप्रपालाई पुरानै मान्नुपर्ने हो । तैपनि राजतन्त्रप्रति केही मतदाता पहिलेभन्दा नरम भएको जनमत राप्रपाको विजयले देखाउँछ ।

निर्वाचनमा सेन्टर लेफ्ट एमाले र एक्स्ट्रिम राइट राप्रपाबीच तालमेल भएको परिणाम हो । यो गठबन्धनलाई एमाले नेता ओलीको पुरातन संस्थाप्रतिको सकारात्मक दृष्टिकोण हो कि भन्ने अनुमान भने गर्न सकिन्छ । जसले प्रतिनिधिसभा पुनःस्थापनाको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका जाने भनी सात दललाई व्यङ्ग्य कसेका थिए । राजतन्त्रप्रतिको उनको यस्तो नरम झुकावलाई बेलाबेलामा सतहमा ल्याउने गरिन्छ । वंश परम्पराको विरोध गर्ने ओलीको लिङ्देनप्रतिको नरम दृष्टिकोण तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री, गिरिजाप्रसाद कोइरालाकालका शक्तिशाली नेता र प्रतिनिधिसभा पुनःस्थापनापछि गृहमन्त्री बनेका कृष्णप्रसाद सिटौलालाई हराउनैपर्ने कदमबीच तादात्म्य भने खोज्न गाह्रो छ ।

इजिप्टका राजा फारोक (इसं २०१४–५२) ले आफू क्रान्तिकारीहरूबाट अपदस्त भएपछि भनेका थिए, ‘अब विश्वमा पाँच मात्र राजा(राजतन्त्र) रहन्छन्, एक बेलायतमा र चार तासका पत्तीमा ।’ तथापि, विश्वमा एशिया, युरोप, अफ्रिका, अमेरिका, अष्ट्रेलियाका अति विकसित देशसमेत गरी ४६ मुलुकमा हालसम्म पनि राजतन्त्र छन् । कुनै कुनै देश जस्तै कम्बोडियामा राजतन्त्र उन्मूलन भए पनि पछि फेरि पुनःस्थापना भएको उदाहरण छन् । धेरैजसो देशमा राजतन्त्र आफ्नै व्यवहारले हटेका हुन् । नेपाल पनि त्यसको उदाहरण हो ।

जनयुद्ध कालमा नुवाकोटलगायत कतिपय ठाउँमा पृथ्वीनारायणका शालिक भत्काए पनि माओवादी दलका नेता प्रचण्ड लगायत अन्य नेताहरूले आफुहरूले उनकै रणनीतिक कौशलताबाट सिकेर ‘जनयुद्ध’ चलाएको स्वीकारिसकेका छन् र उनलाई सम्मान गर्न पछि नपर्ने जनाइसकेका छन् ।

पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौँ जितेपछि नेपाल जितेको मानी सोही सालदेखि हिसाब गर्दा २४० वर्ष राज्य गरेको राजतन्त्र अन्त्यमा जनतामा रहेको प्रजातान्त्रिक अधिकार आफैँ हडप्न पुग्दा हट्नुपर्यो । राजतन्त्र हटेको दिन काठमाडौँको सडकमा २० जनाको पनि विरोध देखिएन, संविधानसभाको पहिलो बैठकले हटेको घोषणा गरिदियो । प्रतिनिधिसभाको पोडियममा तिनै सिटौलाले सो प्रस्ताव राखेका थिए जो मन्त्री थिए, प्रतिनिधिसभाको सदस्य थिएनन् । संयोग कस्तो भने तिनै गृहमन्त्री सिटौलाकै पालामा नेपालमा पृथ्वीनारायणको जन्मदिन पुस २७ (पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस) मा सार्वजनिक रूपमा बिदा दिने चलन हटेको थियो ।

अहिले आफूलाई अझै स्पातबाट बनेको क्रान्तिकारी कम्युनिष्ट जिकिर गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनपछि (पुस १० मा) भर्खरै प्रधानमन्त्री भएका छन् र उनको सरकारलाई उग्रदक्षिणपन्थी मानिएको राजावादी–हिन्दूधर्मवादी दल राप्रपाले पनि समर्थन गरेको छ । राप्रपाले सरकारलाई विश्वासको मत दिन आधुनिक राजतन्त्रका जनक तिनै पृथ्वीनारायणको जन्मदिनलाई सार्वजनिक बिदाको दिन घोषणा गर्न पूर्वशर्त राख्यो । र, विदा दिने निर्णय गर्यो । सरकारको न्यूनतम साझा कार्यक्रममा सो दिनलाई बिदाको दिन घोषणा गर्ने प्रस्ताव भए पनि अटाउन सकेन । राप्रपाले केही वर्षअघिदेखि नेपाली नोटमा राष्ट्रनिर्माताको तस्वीराङ्कित गर्न पनि माग गर्दै आएको छ ।

नेपाल राज्यबाट राजतन्त्र हटेको डेढ दशक भए पनि पूर्वराजाले पहिलेजस्तै सांस्कृतिक क्रियाकलाप गर्न छाडेका छैनन् । इन्द्रजात्रा अवलोकन गर्ने, कुमारीको दर्शन गर्ने जस्ता काम चलिआएकै छ । जब जब राजनीतिक दल र सरकारबाट अनियन्त्रित भ्रष्टाचार र अनियमितता, संसद्को निष्क्रियता र निरीहता, न्यायपालिकामा चरम बेथिति, हत्या, हिंसा, बलात्कार जस्ता गतिविधि मुलुकमा बढ्दै जान्छ, तब राजतन्त्र पुनःस्थापनाको माग बढ्दै जान्छ । यस्तै उच्छृङ्खलाबीच कुनै न कुनै समय पारेर हरेक वर्ष राजधानीमा राजतन्त्र समर्थकहरूको जुलुस र आमसभा हुने नै गर्छ । अझ पृथ्वीजयन्तीको अवसरलाई उपयोग गर्दै राजावादीहरूले सिंहदरबारअघि रहेको एकीकरणका नायकको शालिक वरपर भेला भएर दलहरूविरुद्ध र राजतन्त्र समर्थनको नारा लगाउने काम गर्दै आइरहेका छन् ।

स्मरणीय के भने, पञ्चायत कालमा राजतन्त्र र प्रजातन्त्रको माग गर्न सख्त प्रतिबन्ध लगाइए पनि हालको गणतन्त्रमा भने दलहरूविरुद्ध र राजाको समर्थनमा प्रशस्तै नाराबाजी गर्न, जुलुस गर्न र आमसभा गर्न खुला छुट नै छ । यसैबीच अघिल्ला शपथ ग्रहण कार्यक्रममा सुटमा कालो टोपी मात्र लगाउने प्रधानमन्त्री प्रचण्ड (बाबुराम भट्टराई पनि) यस पाला भने दौरा सुरुवालसहित देखा परे । यसलाई प्रधानमन्त्री दाहालको राष्ट्रियताप्रतिको झुकावका रूपमा मिडियाले लिए । जबकि, नेपालको संविधान र कुनै ऐनमा पनि नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल, ढाका वा भादगाउँले टोपी, पटुका, कोट भनी उल्लेख गरिएको छैन । हुन त सोही दलका नेता नारायणकाजी श्रेष्ठले यसअघि नै दौरासुरुवालमा आफूलाई प्रस्तुत गरिसकेका थिए र मिडियामा राम्रै ‘कभर’ पाइसकेका थिए ।

‘जनयुद्ध’ कालमा नुवाकोट लगायत कतिपय ठाउँमा पृथ्वीनारायणका शालिक भत्काए पनि माओवादी दलका नेता प्रचण्डलगायत अन्य नेताहरूले आफुहरूले उनकै रणनीतिक कौशलताबाट सिकेर ‘जनयुद्ध’ चलाएको स्वीकारिसकेका छन् र उनलाई सम्मान गर्न पछि नपर्ने जनाइसकेका छन् । त्यसैले यसपालि सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएर राष्ट्रिय एकीकरणका नायकप्रति राष्ट्रिय कृतज्ञतासहित मूर्त रूपमै सम्मान गर्न सरकारले कुनै जनजाति वा केही साम्प्रदायिक समुदायको मुख ताकिरहनुपर्दैन, उनलाई केन्द्रीय राज्य प्रणाली लादेको मान्ने कुनै झिनो समुदायको कथित विरोधले सरकारले विश्वासको मत गुमाउने पनि होइन, बरु राप्रपा जस्ता दलको समर्थन पाउन सजिलो हुनेछ ।

पृथ्वीनारायणलाई मान्नु भनेको विभिन्न जातजाति, धर्म, सम्प्रदाय, विचार र वादमा अल्झेर रहेका नेपालीबीच एकल नेपाली जातीय भाव प्रवद्र्धन गर्नु पनि हो । नेपाली राष्ट्रियताको सम्वद्र्धनबाट नै नेपालको अस्तित्व अखण्डकालसम्म जोगाउन सकिन्छ भन्ने ज्ञान सबैले लिए हुन्छ । पृथ्वीनारायणलाई थुकेर सद्भाव बढ्दैन, घृणाभाव मात्र जन्मन्छ भन्ने कुरा आङ्काजी शेर्पा प्रवृतिले बुझेकै जाती हुन्छ । जब नेपाली नेपालीबीच फुट आउँछ, तब मुलुकमा वैदेशिक हस्तक्षेप पनि बढ्दै जान्छ, यत्ति कुरा राजनीति गर्नेहरूले बुझ्नुपर्ने हो ।

स्रोत : दृष्टि न्यूज

प्रतिक्रिया

लोकप्रिय