समीक्षा अधिकारी भन्छिन्, ‘कसैले अवसर नदिए एक्लै कोठामा गाउँछु’

गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन् ।

मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ, अरुको कुरा काट्छ, त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ ।’

छोरी मान्छेले सानो उमेरमा राम्रो नराम्रो छुट्याउन नजान्ने र मान्छेका जालझेल नबुझ्ने कुरा उनले स्टाटसमा उल्लेख गरेकी छन् । ‘सानो उमेरमा छोरी मान्छे बहकिन्छन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरूलाई थाहा हुँदैन,’ उनले लेखेकी छन् ।

उनले ‘सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाज र अभिभावकले यो बुझ्नुपर्छ,’ पनि लेखेकी छन् । आफू गायिका बन्नकै लागि जन्मेको भन्दै स्वरले साथ दिँदासम्म गाइरहने जिकिर उनले गरेकी छन् । उनले लेखेकी छन्, ‘कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु ।’

आफूलाई अपशब्द प्रयोग गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै कसैलाई पनि अपशब्द प्रयोग गरेर गाली गलौज गर्ने अधिकार नरहेको जनाएकी छन् । साथै नबोली बस्दा धेरैले हेपेको भन्दै अबका दिनबाट चुप नलाग्ने संकेत पनि उनले गरेकी छन् ।

प्रतिक्रिया

लोकप्रिय