‘विष्ट बा’को चिया पसल : देउवाले किन तिरेनन् चिया चुरोट खाएको दुई मोहोर ?

बिहानीको लाली घामले त्रिवि परिसर न्यानो बनेको छ । विद्यार्थीहरू न्यानोपना थप्न ‘विष्ट बाको चिया पसल’ तर्फ गइरहेका छन् । नानीकाजी विष्ट ताप्केमा चिया उमालिरहेका छन् । पसलका वरिपरी तेर्स्याइएका छन्, खुइलिएका पुराना बेञ्च ।

युवा विद्यार्थीको एक जमात चिया पिउँदै गफिइरहेको थियो । र केही भने उमालिरहेको चियामा नजर लगाइरहेका थिए । ग्यासको चुलो भुइँमा छ । कालो ज्याकेट र टोपी लगाएर टुसुक्क बसेका ७४ वर्षका नानीकाजी ग्राहकसम्म पुग्न सक्दैनन् ।

चिया पकाउने उनका हात पनि काँपिरहन्छन् । पाकेपछि ग्राहकहरू आफैं चिया लिन आइपुग्छन् । घडीघर अगाडि चियापसल थापेको ५८ वर्ष भइसकेछ विष्टले । तर चिया पसलको कुनै साइनबोर्ड छैन ।

चिन्नेहरूले ‘विष्ट बाको चिया पसल’ भनेर सम्झन्छन् । नानीकाजीको सानो चिया पसलका अधिकांश ग्राहक त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू छन् । हामी पुग्दा चिया पसलमा नेविसंघका परिचित नेता थिए ।

जो विष्टले उमालिरहेको चियाको प्रतीक्षा गरिरहेका थिए । ६ दशकको इतिहास बोकेको विष्टको चिया पसलमा नानीकाजीसँग थुप्रै स्मृति छन् । यहीँ चिया पिएका विद्यार्थीहरू ठूला नेता भए, मन्त्री भए, प्रधानमन्त्रीसम्म भए ।

तर उनीहरूले उधारो पिएको चियाको पैसा कहिल्यै पाएनन् विष्टले । ‘मेरो पसलमा उधारो खानेको नाम कान्तिपुर पत्रिकामा छापियो । अहिले त उधारो गर्न डराउँछन् विद्यार्थीहरू,’ नानीकाजी हाँस्दै सुनाउँछन् ।

उधारो खानेहरूको नाम उनले डायरीमा टिप्नै छाडिसके । र पैसा माग्न पनि । तर नतिर्नेहरूको सम्झना भने आइरहँदो रहेछ नानीकाजीलाई । उनले कहिल्यै नबिसर्ने नाम हो पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ।

शेरबहादुर त्यतिबेला त्रिविमा विद्यार्थी राजनीति गर्थे । उनको नियमित चिया अड्डा थियो विष्टको पसल । विष्ट र देउवाबीच मित्रता नै थियो त्यतिबेला । तर पसलमा उधारो पिएको चियाको पैसा देउवाको अझै बाँकी रहेछ ।

नानीकाजी सम्झन्छन्, ‘शेरबहादुरको उधारो सात मोहोर थियो । पाँच दिए, दुई अझै बाँकी छ ।’ देउवाको चुरोट तान्ने लत थियो । एक खिल्ली नसकिँदै उनी अर्को खिल्ली माग्थे । कहिल्यै नहाँस्ने, गजधम्म परेर बस्ने देउवाको स्वभावलाई नानीकाजीले प्रायः नियाल्थे ।

देउवा नानीकाजीलाई ‘विष्ट जी’ भन्थे । नानीकाजी ‘देउवा सर’ भनेर सम्बोधन गर्थे । देशमा राजनीतिक परिवर्तन तीव्र भइराखे । उनको चिया पसलमा आउने विद्यार्थीहरू पनि बदलिरहे । त्यही क्रममा पहिलो पटक उनले देउवा प्रधानमन्त्री बनेको समाचार रेडियोमार्फत् सुने ।

आफ्नै साथी प्रधानमन्त्री हुँदा उनी गद्गद् भए । त्यसपछि त देउवा पटक–पटक प्रधानमन्त्री भए । तर नानीकाजीले आफूजस्तै मानिसहरूको जीवनमा चाहिँ कहिल्यै परिवर्तन देख्न पाएनन् । नानीकाजीलाई धेरै कुरा स्मरण छैन । जति छन्, त्यो पनि चिया जस्तै धमिलो ।

उनले देउवाको निजी स्वकीय सचिव भानु देउवाको नम्बर राखेका छन् । कहिलेकाहीँ फोन दबाउँछन् । एकपटक टियुले उनलाई पसल उठाउने उर्दी दियो । नानीकाजीले भानुलाई फोन गरेर भने, ‘म कतै जान्न भनेर देउवालाई सुनाइदिनू ।’

तर कुनै प्रतिक्रिया आएन । भानुले देउवालाई सुनाए, सुनाएनन् थाहा छैन । तर टियुले उनले टहरो उठाउन चाहिँ उठाएको छैन । देउवा पछिल्लो पटक ललितकलाको उद्घाटन गर्न पुगेका थिए । देउवा भेट्न चाहनेहरूको बाक्लो लाइनमा मिसिएका थिए नानीकाजी ।

उनलाई देउवासँग हात मिलाउँदै भन्न मन थियो, ‘बरु मलाई उधारो बाँकी राखेको पैसा चाहिन्न । यहाँबाट कतै नउठाइयोस् ।’ तर त्यो रहर पूरा भएन । ०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो ।

०२१ मा पहिलो पटक टियुको हातामा विष्टले चिया पसल खोले । तत्कालीन त्रिविका रेक्टर त्रैलोक्यनाथ उप्रेतीले उनलाई चिया पसल खोल्न दिए । त्यो बेला एकमात्र विष्टको चिया पसल थियो । र कालान्तरमा यो चिया पसल नेपालको विद्यार्थी राजनीतिको साक्षी बनिरह्यो ।

उनले सधैँ सम्झिरहने प्रसङ्ग अर्को पनि छ । तत्कालीन युवराज दीपेन्द्र शाह त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा भूगोल विषय लिएर पढ्थे । उनी पनि चुरोटको अम्मली । ‘दीपेन्द्र सधैं गार्डलाई मेरोमा लालीगुँरास चुरोट लिन पठाउँथे,’ उनी सम्झन्छन्, ‘अनि म खुसी भएर दिन्थेँ ।’

दीपेन्द्र युवराज घोषित हुने दिन नारायणहिटी दरबारमा विष्ट जान खोजे । बुबाको निधन भएकाले उनी सेतो पोशाकमा थिए । सेतो पहिरनकै कारण उनलाई गेटबाट भित्र प्रवेश गर्न दिइएन । कीर्तिपुरस्थित भाजंगलमा ०५ सालमा जन्मे नानीकाजी । अहिले पनि त्यहीँ छ उनको घर ।

जग्गा बेचेर, ऋण गरेर तीन तलाको घर जोडेका छन् नानीकाजीले । घरमा श्रीमती कमला विष्ट बिमार भइरहन्छिन् । नानीकाजी पनि बेला बेलामा बिरामी भइरहन्छन् । एकताका झाडापखाला लागेर दुई महिना पसल बन्द भयो । उच्च रक्तचापको विरामी छन् उनी । चिया बेचेर उधारो गएकै कारण पैसा कहिल्यै बचत भएन ।

कहिलेकाहीँ त लाग्दो रहेछ, ‘अन्त काम गरेको भए जीवन अर्कैै भइसक्थ्यो होला ।’ विष्टको सानो चिया पसलमा पनि ८ पटक चोरी भयो । जोरजाम गरेर थपेको सामान पटक पटक चोरीले रित्तिँदा उनी निराश बन्न पुगे । तर पनि उनी चिया बेच्न छाड्दैनन् । उनी यसैमा रमाएका छन् । जतिले चिने, चिया बेचेकै कारण चिने । जति साथी बने, चिया पसलमै बने ।

त्यसकारण उनी सकुन्जेल यहीँ बसेर विद्यार्थीहरूलाई चिया पिलाउन चाहन्छन् । ‘तर उधारोचाहिँ अब कसैले नराखिदिए हुन्थ्यो,’ नानीकाजी उम्लिरहेको चिया गिलासमा हाल्दै भन्छन् । सगरमाथामा देशहरूका स्वार्थको टकराव पन्छाउँदै आफ्नै बलबुतामा यसको नयाँ उचाइ नापेर नेपालले आत्मनिर्भरताको सन्देश दिएको छ ।

प्रतिक्रिया

लोकप्रिय