अपेक्षाकृत विकास नभएको कर्णालीको ‘भाषा र साहित्य’

भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको वास्तविक इतिहास लामो समय आउन सकेन । विसं २०२८ मा करिब छ महिना जुम्ला बसेका शताब्दी पुरुष स्व सत्यमोहन जोशीको अध्ययनपछि उनले लेखेको कृति ‘कर्णालीको लोक संस्कृति’ले केही खोतलेको पाउन सकिन्छ ।

सिञ्जा राज्य गोर्खालीको अधिनमा गएपश्चात् नेपाल एकीकरणको फेहरिस्त इतिहासबाहेक यहाँको सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक विवरण पाउन सकिदैन । इस्वीको बाह्रौँ शताब्दीदेखि नागराजले राज्य सुरु गरे । बाह्रौँ शताब्दीदेखि चौधौँ शताब्दीसम्म सिञ्जाबाटै नेपाली भाषा, साहित्य र कलाको उत्पत्ति भएको इतिहासमा पाउन सकिन्छ । उतिबेला भने खस राजा नागराजपछि चाप, चापिल्ल हुँदै पृथ्वी मल्लसहितले २२६ वर्ष राज्य गरेको विकिपिडियामा उल्लेख भएको पाइन्छ ।

तत्कालीन भाषा, साहित्य र कलाको उर्बर भूमिका रुपमा परिचित कर्णालीमा भने आज साहित्यिक गतिविधि अपेक्षित भएको पाइँदैन । विसं २०७७ मा डा जीवेन्द्रदेव गिरी नेतृत्वको टोलीले सुर्खेतमा ‘कर्णाली वाङ्मय साहित्यिक सङगोष्ठी’को आयोजना गरी यहाँको साहित्य र सृजनाको उत्थानमा सहयोग पु¥याएको देखिन्छ । कर्णालीको भाषा संरक्षणमा भाषा आयोगले सिञ्जा गाउँपालिकासँग समन्वय र सहकार्य गर्दै आएको छ ।

खस आर्यको थलो खसान राज्यका रुपमा चिनिने कर्णालीमा नेपाली भाषाको संरक्षण, श्रीवृद्धि, प्रवर्द्धन र सम्वर्द्धन जति हुनुपर्थ्यो त्यति हुन नसकेको कर्णाली साहित्य समाज सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । कर्णालीमा जन्मेर राष्ट्रियस्तरमा चिनिएका साहित्यकारले पनि कर्णालीको नाम भजाएर खाने काम गरेको उनको आरोप छ । प्रदेश सरकार तथा स्थानीय तहले साहित्यका क्षेत्रमा शून्य लगानी रहेको उनको भनाई छ ।

‘नीतिगत तहमा भएकाले बाटो, भवन, पार्कलाई मात्र विकास देखे तर बौद्धिक विकास देखेनन्,’ अध्यक्ष अधिकारीले भने, ‘रचनात्मक तथा सिर्जनात्मक काम कारवाहीमा लगानी हुन सकेको छैन । सिञ्जा र दैलेखको दुल्लुमा भाषा तथा साहित्यको राष्ट्रिय सम्मेलन गर्न खोजियो तर हाम्रा आवाज सुनिएनन् ।’ भाषा र साहित्यको विकासले संस्कृति र सभ्यताको संरक्षण हुन्छ भन्ने विषयलाई उठाएर कर्णालीमा प्रज्ञा–प्रतिष्ठान बनाउन अनुरोध गरिएको अध्यक्ष अधिकारीले बताए ।

उनले लेखन प्रक्रिया संस्थागत पहल हुन नसकेको बताए। नवप्रतिभाको विकास गर्न, लेखन क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई ऊर्जा दिन कृति पुरस्कार, प्रतिभा पुरस्कार, कर्णाली साहित्य साधना सम्मान पुरस्कार दिँदै आएको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले यहाँको भाषा, साहित्य र कलाका माध्यमबाट कर्णाली तथा सिङ्गो नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने दाबी गरे ।

प्रदेश सरकार तथा स्थानीय तहले यसको विकास तथा प्रवर्द्धनमा जोड दिनसके पर्यटनका गतिविधि बढ्ने र त्यसले कर्णालीको अर्थतन्त्रमा सहयोग पुग्ने उनको भनाइ छ । महिला साहित्यकार देवकी तिमिल्सिनाले कर्णालीमा पुरुषको सापेक्षतामा महिला स्रष्टा निकै कम भएको बताए । महिला शैक्षिक, सामाजिक र आर्थिक हिसाबले कमजोर हुनु र महिला स्रष्टाले पारिवारिक वातावरणबाट पनि प्रेरणा नपाएको उनको भनाइ छ ।

प्रतिभा हुँदासमेत धर्मिक सामाजिक संस्कारसँग जोडिएका कारणले पनि स्रष्टाका हिसाबले महिला बाहिर आउन नसकेको उनको भनाइ छ । उनले नयाँ पुस्तालाई पथप्रदर्शन नभएको, साहित्यको केन्द्रीयकरण हुन नसकेको तथापि नयाँ पुस्ता जुर्मुराएको बताए। मातृसत्ताको जगमा भए पनि व्यावहारिकमा पुरुषसत्ता नै हाबी भएको र सोच, रुपान्तरण तथा सामूहिकताको मनन गर्न नसकिएको उनले प्रतिक्रिया दिए ।

कर्णालीमा नवपुस्तामा जागरण ल्याउने खालका साहित्यिक सम्मेलन हुन सकेका छैनन् । ‘यहाँको भाषा साहित्यको विकास गर्ने हो भने पढ्न जरुरी छ । यहाँको जीवन पढ्न आवश्यक छ’, ‘मिथक बनाएर जाने हो भने प्रत्येकको घरमा इतिहास छ । कथा छ । हामी जिन्दगी बोकेर जिन्दगी खोज्न थालेनौँ । भौतिक विकास मात्र विकास भन्न थाल्यौँ ।’ यहाँका साहित्य अनुरागीले कर्णालीमा जिउँदा मान्छे थोरै हुँदा त्यसको सुनुवाइ कम भएको बताउँदै आएका छन् ।

मानसिक, सामाजिक र बौद्धिक भन्दा विकास भनेकै पुल धारा बाटो मात्रै हो भन्ने बुझाइ नराखी त्यसलाई फराकिलो दृष्टिबाट हेर्न सक्नुपर्ने उनीहरूको सुझाव छ । तत्कालीन मध्यपश्चिम गजल प्रतिष्ठानका अध्यक्ष एवं गजलकार गणेश आचार्य साहित्यको अपेक्षित प्रस्फुटन हुन नसकेको बताए । ‘साहित्यिक स्रष्टाको क्रियाशीलता नबढ्दा स्रष्टाको पनि कमी भएको छ,’ आचार्यले भने, ‘कर्णाली र मुलतः जुम्लाको साहित्यिक उचाइमाथि भए पनि सिर्जना, रचना र लेखन क्षेत्रको वातावरण मिलेको छैन ।’

भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले पनि आवश्यक कार्यक्रम ल्याउनुपर्ने उनले सुझाएका छन् । कर्णालीका संस्कृतिसम्बन्धी तथा भाषासेवी रमानन्द आचार्यले भने, ‘भाषा, साहित्य, सभ्यता र कलाको उद्गमस्थल कर्णाली भए पनि त्यसको अपेक्षाकृत विकास हुन सकेको छैन । भाषा र साहित्य हाम्रो संस्कृति, सान र सम्पत्ति हो । तर यसको संरक्षण सम्वर्द्धन र प्रवर्द्धनमा कसैले ध्यान दिएको पाइदैन । अझ यस क्षेत्रमा यहाँको महिला आकर्षण निकै कम भएको पाइन्छ ।’

एक दशकभन्दा बढी समयदेखि खस शब्दकोष निर्माणमा लागिरहँदा त्यसमा पनि अपेक्षित सहयोग नपाएको उनले दुखेसो पोखे । यद्यपि उक्त शब्दकोष प्रकाशोन्मुख अवस्थामा रहेको उनले बताए । भाषा, साहित्य र कलाले सम्बन्धित क्षेत्रको संस्कृति र सभ्यताको पहिचान दिने भएकाले यसको विकासमा सबै सरकारसहित सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

स्रोत : शुरबहादुर सिंह । रासस

प्रतिक्रिया

लोकप्रिय