विचार

वैदेशिक ऋणको किस्ता तिर्न नसक्ने अवस्थामा सरकार !

नेपाललाई कुन देशले कति ऋण दिएका छन् ? जनता बेखबर छन् ।

नेपाल सरकारले विदेशीसँग लिएको ऋण निरन्तर उकालो लागिरहेको छ । सरकारले न साँवा तिर्न सकेको छ न ब्याज । किस्ता ठप्प भइसकेको छ । अर्थ मन्त्रालयले पैसा छैन् भन्दा विदेशी मुलुकहरुको विश्वासनीयता नेपालबाट उठिसकेको छ । अब विदेशीले नेपाललाई ऋण पनि दिँदैनन्, अनुदानको कल्पना नगरेपनि हुन्छ । सरकारले थु्रपै मुलुकसंग ऋण लिएको छ । अहिले आएर उक्त ऋण तिर्न नेपालले हिच्किचाइरहेको छ । जसका कारण नेपाल कालोसूचीमा पर्ने देखिएको छ ।

विदेशीसंँ नेपालले कति ऋण लिएको छ ? सरकारले जनतालाई अहिलेसम्म जानकारी गराएको छैन । नेपाललाई कुन देशले कति ऋण दिएका छन् ? जनता बेखबर छन् । ल्याएको ऋण कहाँ खर्च भयो ? त्यसको उचित सदुपयोग भयो कि भएन ? सरकारले जनताको आँखामा कालोपट्टी बाँधेको छ । विदेशीसँग ऋण लिने अनि सरकारी खर्च धान्ने ? सरकारी कर्मचारीको तलबभत्ता र नेताहरुको आवश्यकता परिपूर्ति गर्दै सकिन्छ, विदेशी ऋण । तर, सरकारले उक्त ऋणको भारी त नेपाली जनतालाई बोकाइरहेको छ ।

विकासको नाममा ऋण लिँदै जथाभावी खर्च गर्ने प्रवृत्तिले जनताहरु आजित भइसकेका छन् । नेपालीले ऋणको भारी बोक्न नसक्ने भइसकेका छन् । नेपाल ऋणको दलदलमा फसिसकेको छ भन्ने कुरा अन्य मुलुकमा थाहा पाइसकेका छन् । यता, नेपाली जनताले पनि यो कुरा राम्ररी चाल पाइसके । यस्तै पाराले विदेशीले नेपालको भूमि हस्तक्षेप गर्न बेर लगाउँदैनन् । कि पैसा फिर्ता देऊ भन्छन् कि नेपालको भूमि छोड्न लगाउँछन् । एक जोर चप्पल किनेर लाउन नसक्ने जनताको टाउको ७९ हजार रुपैयाँ विदेशी ऋण पुगेको छ ।

बिहानबेलुका छाक टार्न धौधौ परिरहेका जनताको टाउकोमा यत्रो ऋण कसरी भयो ? सरकारले विकासमा खर्च गरेका छौं भन्छ । तर, खोइ कहाँ छ विकास ? जनताले आफ्नो थाप्लोमा भएको ऋण कहाँको विकास हेरेर चित्त बुझाउने ? विदेशी ऋणमा सरकारी कर्मचारी र नेताहरुले मोजमस्ती गरे । सरकारी कर्मचारी र नेताहरुले पैसामै डुब्की मारे । सेवासुविधा, तलबभत्ता, मँहगा गाडी गर्दागर्दै नेपाल सखाप पारेर छाडेर भ्रष्ट्राचारीहरुले । जनतालाई ऋणी बनाएर यिनीहरुले गर्नुसम्म भ्रष्ट्राचार गरेका छन् ।

विदेशीले ऋण र अनुदान दिएन् भने माघ महिनादेखि मुलुकको अवस्था दयनीय बन्न सक्छ । सरकारी कर्मचारीलाई तलबभत्ता दिन सक्ने पैसा सरकारको ढुकुटीमा छैन् । ज्येष्ठ नागरिक, एकल महिला लगायतलाई दिने भत्ता कहाँबाट ल्याएर दिन्छ ? सरकारी कर्मचारीलाई तलबभत्ता, पेन्सन र ज्येष्ठ नागरिकलाई भत्ता दिन सरकारले फेरिपनि हात फैलाउनैपर्छ । विदेशी ऋण घट्ने होइन् झन्झन बढ्दै जान्छ । अबको केही वर्षमा विदेशीले नेपाल कब्जा गर्ने आकंलन लगाउन थालिएको छ ।

नेपालको अर्थतन्त्र नाजुक अवस्थामा छ । लक्ष्यअनुरुप राजस्व उठाउन सरकार विफल छ । विदेशी ऋणमा नेपाल चुलुम्मै डुबिसकेको छ । निर्माण व्यवसायीहरु आफूले काम गरेको पैसा नपाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालय धाइरहेका छन् । यातायात मन्त्रालय निर्माण व्यवसायीको पैसा भुक्तानी गर्न चिठी लेख्छ । तर, अर्थसंग तिनलाई दिने पैसा छैन् । निर्माण व्यवसायीले काम गरेको पैसा त चुक्ता गर्न नसकेको सरकारले देशमा के विकास गर्छ ?

अब विकास होइन्, विदेशी ऋण तिर्न नसकेर नेपाल अर्कालाई सुम्पिन पर्ने अवस्था आउँछ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको लगानी छ । सरकारले चीनबाट ऋण लिएर विमानस्थल निर्माण गरेको हो । पछिल्लो समय चीनले नेपाललाई झ्याप्झयापी ऋण दिइरहेको छ । भारतले भन्दा धेरै ऋण त चीनको भइसकेको छ । चीनले ऋण दिनुको पछाडि केही रहस्य भएको अनुमान लगाउन थालिएको छ ।

कतै चीन नै नेपाल कब्जा गर्ने दाउपेचमा त होइन ? गम्भीर प्रश्न उब्जिएको छ । शेरबहादुर देउवाको सरकार रहँदा चीनले तातोपानी नाका बन्द गरेको थियो । देउवा सरकारले पटकपटक आग्रह गर्दा पनि चीनले विभिन्न बहाना बनाएर टारिरह्यो तर नाका खोलेन् । तर, प्रचण्डको सरकार बन्नेबित्तिकै नाका सञ्चालनमा आयो । नेपाल विदेशी ऋणमा फसिसकेको छ भनेर चीनले थाहा पाइसकेको छ । जसका कारण उसले खुरुखुरु ऋण दिएको बुझिन्छ ।

यसरी विदेशीसँगै हात थाप्दै सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने, सरकारी खर्च धान्ने हो भने नेपालको अवस्था के हुन्छ ? विदेशी ऋणमै दाउरा सुरुवाल लगाएर हिँडेका छन् नेताहरु । यस्तै पाराले नेपालको अस्तित्व के हुन्छ ? अहिले नेपालमा सबै व्यवसायीहरु धरासायी बनिसकेका छन् । नेपाली जनताको उठीबास लागिसकेको छ । नेपालीको चुलोमा पाक्ने खाद्यान्नसमेत बाहिरैबाटै आउँछ । लत्ताकपडा, गाडी, मोबाइल सबै आयात गरेरै चलाइरहेका छौं ।

नेपाल कुनै पनि वस्तुमा आत्मनिर्भर छैन् । नेपालको जमिन घर र बाटो गर्दागर्दै सकिसकेको छ । खाद्यान्न उब्जनी गर्न हामीसँग जमिन छैन् । अरु देशले नेपाललाई खाद्यान्न पठाएन् भने नेपालीहरु भोकभोकै मर्नुपर्ने हुन्छ । नेपाललाई अन्य मुलुकले व्यापार गर्ने थलो बनायो । नेपाल यो स्थितिमा पुग्नमा नेताहरुकै हात छ । बेलैमा जमिन मात्र बचाइदिएको आज यस्तो अवस्था आउँदैनथ्यो । बाटो बनाउन सिकाउने पनि त्यही विदेशी मुलुक । अहिले आएर हामीलाई खाद्यान्न बेच्ने पनि तिनै नै हुन् ।

मुलुकको अर्थतन्त्र दयनीय अवस्थामा पुग्यो । बजारमा मन्दी छायो, तरलता ह्वात्तै बढ्यो भनेर सरकारले गत वैशाख १४ गतेदेखि लागु हुने गरी १० वटा चीजको आयातमा प्रतिबन्ध लगायो । किन कि नेपालको अवस्था श्रीलंकाजस्तै बनिसकेको थियो । सरकारले स्वीकारे पनि नस्वीकारेपनि सत्यतथ्य त यही हो । तर, व्यवसायीहरुको दबाबमा आएर सरकारले त्यो फुक्का गरिदियो । सरकारले यी विलासीपूर्ण वस्तु फुक्का गरिदियो नेपालको पैसा त फेरिपनि विदेश जाने भयो ।

चकलेट, तास, गाडी यतिखेर नेपालीलाई किन चाहियो ? दुई छाक टार्न मुश्किल पर्ने बेलामा सरकारले नचाँहिदो क्रियाकलाप गरिरहेको छ । बैंकहरु अहिले नै टाँट पल्टिसकेका छन् । सर्वसाधारणले बैंकमा लगेर पैसा राख्न छाडिदिएका छन् । बुढापाखाले भन्थे,‘सय वर्ष कटिसकेपछि नयाँ दाँत उम्रिन्छ ।’ यसअघि दुईपटक सुट पाइन्टमा शपथ खाने प्रचण्ड अहिले दाउरा सुरुवालमा झरेका छन् । प्रचण्डकै पालामा देश डुब्ने त निश्चित छ । प्रचण्डको सरकारलाई न विदेशीले विश्वास गर्छन् न सर्वसाधारणले ।

उनको बोलीमा कुनै विश्वास छैन् । जताबाट आफूलाई फाइदा हुन्छ उनी त्यतैतिर लाग्छन् । कहिले देउवा त कहिले ओलीको पछाडि लाग्छन् । उनलाई जसरी हुन्छ पद मात्र चाहिएको छ । प्रचण्डसंग भूमिगतमा लागेका लर्काहरुलाई छुट्याएको पैसासमेत उनले खाइदिए । पूरै पैसा तिनीहरुले पाएनन् । उनीसंग विदेशी बैंकमा थु्रपै सम्पत्ति भएको बताइन्छ । २०४६ सालपछि कांग्रेस र एमालेका नेताहरुले पनि सत्तामा पुगेर धेरै भ्रष्टचार गरे । बहुदलीय व्यवस्था आइसकेपछि पनि लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रधानमन्त्री भए ।

२०६२–६३ सालपछि माओवादीका नेताहरुले जति भ्रष्टाचार कसैले गरेनन् । माओवादीका एउटै नेता पाँच चोटिसम्म मन्त्री भएका छन् । प्रचण्ड नै तीन चोटि प्रधानमन्त्री भए । माओवादीका नेताहरुले सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडेका छन् । देश ठग्ने र लुट्ने भनेकै माओवादी हुन् । हिजो जनयुद्धमा चप्पल लाउन नपाएकाहरु आज करोडौंको घरमा बस्छन् । करोडको गाडी चढ्छन्, आफ्ना छोराछोरी महंगो स्कुलमा पढाउँछन् । माओवादीले जनतालाई भुङ्ग्रोमा पारेर लुट्नुसम्म लुट्यो । हिजो के कारणले भूमिगत गएको ? भन्ने नै माओवादीका नेताहरुले बिर्सिए ।

उनीहरु शोखको भागी भए । जनताले माओवादी भनेको फट्याहा भ्रष्टाचारी र लुटेरा हो भन्ने थाहा पाइसकेपछि २०७० सालको चुनावमा माओवादीले त्यसको उचित ठाँउ देखाए । जनताले सानो दल बनाएपछि प्रचण्ड २०७४ को चुनावमा केपी शर्मा ओलीसंग टाँसिए । केपीको पछिपछि लागेर ३६ सीट ल्याए । २०७९ सालको चुनावमा देउवाको दउरा समातेर १८ सीट ल्याए । अबको पाँच वर्षपछि माओवादीले दुई सीट पनि जित्दैन । माओवादी नेपालबाट बिलाँउछ । जनता र विदेशीबाट माओवादी नङ्गिन्छ । उनलाई जसरी हुन्छ सत्ता चाहिएको छ । भ्रष्टाचार गर्न यिनीहरु माहिर छन् । यिनीहरुलाई जनता र राष्ट्रको अलिकति पनि माया छैन ।

प्रतिक्रिया

लोकप्रिय