अन्तर्वार्ता

रेशम चौधरीले भने, ‘हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ’

चन्द्रकान्त (सिके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले यसपटकको निर्वाचनमा तीन सिटसहित संघीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार ६९६ मत प्राप्त गरेको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा उनकी धर्मपत्नी एवं पार्टी अध्यक्ष रञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार ४०४ मतसहित निर्वाचित भएकी छिन् । उनले नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरी सदनमा प्रवेश गरेकी हुन् ।

कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए । सोही पार्टीबाट कैलाली क्षेत्र नं २ मा अरुणकुमार चौधरीले २१ हजार ८७१ मत ल्याएर निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई पराजित गर्दै उनी संघको सांसद बनेका हुन् । एमालेका रावलले १६ हजार १२८ मत ल्याएका छन् ।

यस्तै क्षेत्र नं ३ बाट गङ्गाराम चौधरीले नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका छन् । गङ्गारामले २३ हजार १२० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याए । रेशम चौधरीका पिता लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्र नं २ बाट २६ हजार ५२० मतसहित स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत ल्याएका छन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका उनको पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा रहेको छ ।

सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ । निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग गरेको कुराकानीको सारसंक्षेप :


भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ ?

– निर्वाचन जनमत परीक्षण गर्ने विधि हो । यसलाई पार्टीले स्वाभाविक रूपमा लिएको छ । यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ ?

– निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ । तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन ।

जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा संघ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार २०० भन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब १०० साथीहरू निर्वाचित भइसक्नुभएको छ ।

तपाईँको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

– टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरू जेलमा छन् । कैयौँले मुद्दा खेपिरहनुभएको छ । यसपटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरू र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ ।

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

– मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरूले हामीहरूलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?

– उहाँहरूप्रति खास केही भन्नु छैन । मैले उहाँहरूलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर उहाँहरूले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ ।

त्यहाँका जनताले पनि मतमार्फत उहाँहरूप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त (सिके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।

निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाईँसँग कसैको कुराकानी भएको छ ?

– म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरू पनि कुनै न कुनै रूपमा सरकारमै हुनुहुन्छ । उहाँहरूबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।

सरकार गठनमा तपाईँहरूको भूमिका के हुन्छ ?

–हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरू सम्बोधन हँुदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौँ । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरू थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्यो ।

त्यसो भए तपाईँहरूको मुख्य माग के हो त ?

– हाम्रा माग पुरानै छन् । पटक–पटक उहाँहरूलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरूसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ ।

स्रोत : रासस

प्रतिक्रिया

लोकप्रिय