समाचार

नेपालगन्जमा रगत अभाव, गम्भीर बिरामीलाई सास्ती

हालका लागि जेनतेन कम चलिरहे पनि आपतकालीन ठूलै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन ।

पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य हब बन्दै गएको नेपालगन्जस्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क)मा रगतको मौज्दात न्यून हुँदा समस्या उत्पन्न भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामी लगायत दुर्घटनामा परेकाको प्रमुख उपचार केन्द्र बनेको नेपालगन्जमा रगत अभावले गम्भीर अवस्थाका बिरामीलाई समस्या हुन थालेको हो ।

रक्तसञ्चार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले चाडपर्वलगत्तै निर्वाचन हुँदा संस्थागत रक्तदानका कार्यक्रममा कमी आउँदा रगतको अभाव भएको बताए । ‘हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्क गरिरहेका छौँ,’ उनले भने ।

उनका अनुसार संस्थाहरूले नियमित रक्तदान गराउने र अभावको समस्या समाधान गर्ने आश्वासन दिएका छन्, आशा छ छिट्टै समाधान हुनेछ । रगतको अभाव भएपछि गम्भीर अवस्थाका बिरामीलाई तत्काल चाहिने रगतका लागि आफन्तले निकै दौडधुप गर्नुपरेको अस्पतालहरूले जनाएका छन् ।

भेरी अस्पतालमा बिरामी भर्ना गरेका कोहलपुर १० का रमेश थापाले रक्तसञ्चार केन्द्रमा माग गरिएको समूहको रगत नहुँदा दुई दिन दौडधुप गरेर व्यवस्थापन गर्नुपरेको बताए । हालका लागि जेनतेन कम चलिरहे पनि आपतकालीन ठूलै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन ।

कोहलपुर र नेपालगन्ज गरी दैनिक ५०–६० पिन्ट रगत माग हुने गरेको ब्लड बैङ्कका प्रमुख रेग्मीको भनाइ छ । यस क्षेत्रका लागि कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने जानकारी दिँदै उनले नेपालगन्जमा तीन हजार पिन्टभन्दा बढी रगत मौज्दात गर्ने क्षमता रहेको बताए । रक्तसञ्चार केन्द्रले विभिन्न सङ्घसंस्था र व्यक्तिसँग नियमित रक्तदानको आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

लोकप्रिय