सस्तियो पेट्रोलियम पदार्थको मूल्य, किन भएन समायोजन ?

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब रूपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ ।

इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूची बमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर दुई सय ७७.०२ रूपैयाँ घाटा भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रूपैयाँ तिर्न बाँकी रहेको पनि विज्ञप्तीमार्फत जनाएको छ ।

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रूपैयाँ नाफा हुने निगमले जनाएको छ ।

‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

लोकप्रिय