निर्वाचन विशेष

मतदान सकिएसँगै सेतो कपडामा शिलबन्दी भए मतपेटिका, अब के हुन्छ ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तोकिएको मतदानको समय सकिएको छ । मतदानको निर्धारित समय सकिएपछि मतदानस्थलबाट मतपेटिकाहरु मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।

देशभरका मतदानस्थलबाट मतपेटिकाहरु संकलन भइरहेका छन् । मतदानस्थल तथा मतदान केन्द्रबाट सुरक्षितरुपमा मतपेटिकाहरु सेतो कपडामा शिलबन्दी गरेर सम्बन्धीत गणनास्थलमा लगेर मतगणनाको तयारी सुरु गरिएको छ ।

आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा केहि ठाउँमा बाहेक अधिकांश ठाउँमा मतदान कार्य सकिएको हो । विवाद तथा झडपका कारण केही क्षेत्रको मतदान रोकिएको छ भने केहि ठाउँमा बिचमा रोकिएर सुरु भएका कारण मतदान लम्बिएको आयोगको भनाइ छ ।

मतदान समय सकिएसँगै निर्वाचन आयोगले मतदान केन्द्रबाट मतपेटिकाहरु सम्बन्धित मतगणना स्थलमा जम्मा गर्नेछ । आयोगले १६५ निर्वाचन क्षेत्रमै मत गणनाको व्यवस्था गरेको छ । निर्वाचन अधिकृतको कार्यालय वा अधिकृतले तोकिएको स्थानमा मतगणना हुनेछ ।

कसरी राखिन्छ मतपेटिका ?

मतगणनाका लागि निर्वाचन आयोगले मतगणना निर्देशिका,२०७९ बनाएको थियो । मतदान गर्नअघि नै निर्वाचन अधिकृतले मतगणना स्थानबारे सूचना जारी गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन अधिकृतले मतदान अधिकृतबाट मतपेटिका बुझिलिन र त्यसको भर्पाइ गर्नुपर्ने व्यवस्था छ । निर्वाचन अधिकृतले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक मतपेटिकालाई मतगणना अघि एकै ठाउँमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

तर मतदान केन्द्र छुट्टिनेगरि मत पेटिका राख्नुपर्नेछ । मतपेटिकालाई कोठामा राखिसकेपछि लाहाछाप लगाउनुपर्नेछ । उम्मेदवार वा निर्वाचन प्रतिनिधिले लाहाछाप लगाउन चाहेमा लाहाछाप लगाउन दिनुपर्नेछ ।

त्यसपछि लाहाछाप पछि मुचुल्का गर्नुपर्नेछ । मुचुल्कामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा प्रतिनिधिले अधिकार दिएको व्यक्तिको सहिछाप गरि निर्वाचन अधिकृतले सहिछाप गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

सम्भव भएसम्म मतगणना गर्ने ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने व्यवस्था छ । मतपेटिका राखिएको कोठा खोल्दा लाहाछाप जाँच गर्नुपर्ने व्यवस्था छ । कोठा खोलेको मुचुल्का गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

मतपेटिका खोल्नुअघि के के हुन्छ ?

मतपेटिका खोल्नुअघि सबै ठाउँको मतपेटिका प्राप्त भएको हुनुपर्ने मतगणना निर्देशिकामा उल्लेख गरिएको छ ।

‘सबै मतदान केन्द्रबाट मतदानका लागि प्रयोग भएको मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरेर सूचन प्रकाशन गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

कुनै मतदान केन्द्रको मतदान स्थगित भएको अवस्थामा अरु ठाउँको मतगणना पनि सुरु हुने छैन । निर्वाचन अधिकृतले मतगणना सुरु गर्नुअघि उम्मेदवार तथा दलका प्रतिनिधिसँग छलफल हुनेछ ।

मतगणना सकेसम्म एकै ठाउँमा र ठाउँ सानो भएमा सम्बन्धित भवनको अर्को कोठामा गर्नुपर्छ । प्रदेश तथा प्रतिनिधिसभाको मत गणना अलग अलग कोठामा हुनेछ । मतगणना सुरु गर्नुअघि मुचुल्का गर्नुपर्छ ।

उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको सहिछाप गराई निर्वाचन अधिकृतले राख्नुपर्छ । मतगणना प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक एकैसाथ सुरु हुनेछ ।

मतगणना सुरु गर्नुअघि मतपेटिका खोलिएको वा फोरिएको छ छैन भन्नेबारे भने जाँच गर्नुपर्छ । मतपेटिका जाँच गरिसकेपछि उम्मेदवार वा निर्वाचन प्रतिनिधिलाई सहि छाप लगाउनुपर्छ । कसैले कैफियत जनाउन चाहेमा त्यसको व्यवस्था निर्वाचन अधिकृतले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यसरी हुन्छ मतगणना

मतपेटिकाको चेक जाँच भइसकेपछि मतपेटिकामा लगाएको शिल तोड्नेछन् । सबै मतपत्रहरु मतगणना गर्नुपर्ने टेबल वा स्थानमा खन्याउनुपर्ने छ । खाली भएको बाकस भने उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनुपर्नेछ ।

मतपत्र खन्याउँदा एकभन्दा बढी मतदान केन्द्रको खन्याउन सकिनेछ । यसरी खन्याउँदा कुल मतको विवरण मुचुल्कामा उल्लेख हुनेछ । मतपत्र मिसाउँदा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको प्रदेशसभा निर्वाचन अनुसार मिसाउनुपर्नेछ ।

प्रदेशसभाको प्रत्यक्षतर्फको मिसाउँदा प्रदेशसभा निर्वाचन क्षेत्र अनुसार अलग–अलग मतदान केन्द्रको मिसाउनुपर्छ । मतपत्र खन्याइसकेपछि निर्वाचन चिह्न भएको भाग घोप्टाएर राखिनेछ । ५० वा १०० मतपत्रको ठेली बनाइ धागो वा रबरले बाँधेर राखिन्छ ।

उक्त ठेली निर्वाचन अधिकृतले जिम्मा लिइ राख्नेछन् । प्रत्येक ठेलीबाट मतगणना निरन्तर हुनेछ । मतपत्रको ठेलीबाट सदर र बदर मत छुट्यार राखिन्छ । पहिला बदर मतगणना गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारको चिह्न अनुसार सदर मतगणना हुनेछ । सदर र बदर मतगणना भइसकेपछि भने खाम वा बोरामा राख्ने छन् । राख्दा सहिछाप गर्नुपर्ने व्यवस्था छ ।

मतगणना समापनपछि के हुन्छ ?

मतगणनामा दुईजना उम्मेदवारको संख्या बराबर भएमा निर्वाचन अधिकृतले गोला हाल्ने छ । मतगणना समापन भएको मुचुल्का गर्नुपर्ने व्यवस्था छ । अन्तिममा मात्रै मत परिणाम घोषणा हुनेछ । मत परिणामको एक प्रति टास गर्नुपर्नेछ भने अर्को प्रति निर्वाचन कार्यालयमा पठाउनुपर्नेछ । परिणाम घोषणापछि मात्रै निर्वाचन अधिकृतले निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र दिनुपर्नेछ ।

प्रतिक्रिया

लोकप्रिय