असिना नपरेपछि सुन्तला उत्पादनमा वृद्धि

तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।

‘तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ,’ कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।’

उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनी बताउछन् । ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ,’ तिवारीले भने । गत वर्ष जिल्लामा एक हजार ६६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए । उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार ५१० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार ४८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए । उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल रु २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ लगायतका स्थानमा निर्यात गरिन्छ ।

सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनी बताउँछन् । व्यास नगरपालिका–१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताए । सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनी बताउछन् ।

‘बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ,’ किसान रानाले भने । विगतको तुलनामा किसान सचेत भएको उनी बताउँछन् ।‘पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पुर्याउनुपर्छ भन्ने बुझ्दै आएका छन्,’ उनले भने ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गरेका छन् । यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष रु चार–पाँच लाख आम्दानीलाई बढाएर रु सातदेखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनी बताउँछन् ।

त्यसैगरी देवघाट गाउँपालिका–३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताइन् । ‘पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ । अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्,’ उनले भनिन् । म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ ।

यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारी बताउँछन् । ‘हामीले जिल्लामा समग्र उत्पादन वृद्धि भएको छ भन्ने कृषि ज्ञान केन्द्रमार्फत सूचना पाएका छौँ । तर म्याग्दे गाउँपालिका–४ उमाचोकमा सुन्तला उत्पादन खस्किएको छ,’ अधिकारीले भने ।

कृषि ज्ञान केन्द्रको सहयोगमा अध्ययन गरी सुन्तलाको बोटविरुवालाई उचित तत्त्व पुर्याउन समन्वय गरिरहेका किसान अधिकारी बताउँछन् । तनहुँका सुन्तला पकेट क्षेत्रमध्ये अधिकांश स्थानमा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रको अनुमान छ । अनुगमन र अध्ययनका क्रममा केही स्थानमा भने सुन्तला उत्पादन खस्किएको पाइएको केन्द्रले जनाएको छ ।

किसान सचेत

विगतमा सुन्तला खेती निर्वाहमुखी भएर चलेको थियो । तर हाल किसान सचेत बन्दै गएका छन् । राम्रो उत्पादनका लागि किसानले सुन्तलाका बोटविरुवालाई खाद्यतत्त्व पुर्याउनुपर्ने कुरामा सचेत भएको कृषक जगतबहादुर महत बताउँछन् । मल, जल र खाद्यतत्त्व नै नराखी उत्पादन हुने निर्वाहमुखी खेती मानिएको थियो ।

अहिले व्यापारिक तवरबाट उत्पादन वृद्धिका लागि मलजल, खाद्यतत्त्व, स्याहारसुसार लगायतलाई प्राथमिकता दिने गरेको पाइएको महत बताउँछन् । ‘पहिले एक डोको मलसमेत हालिन्थिएन । अहिले चेतनास्तर वृद्धि भएर सुन्तलाको बोटमा एक डोको ठाउँमा दुई डोको प्राङ्गारिक मल हाल्छन् । दुई डोको हाल्ने गरेकोमा चार पुर्याएका छन्,’ उनले भने ।

उनका अनुसार सुन्तलाको उचित समयमा पोशकतत्त्व हाल्ने गरेका छन् । यसले गर्दा उत्पादन वृद्धि हुँदै गएको हो । ब्लकबाट नै आएको बिरुवा लगाउनु, विरुवालाई पनि मानिसलाई जस्तै हेरचाह र उपयुक्त समयमा खाद्यतत्त्व र भिटामिन हालिएकाले सुन्तला उत्पादन वृद्धि भएको किसान बताउँछन् । मानिसले बालबालिकालाई हुर्काउँदा गरेको हेरचाहजस्तै खेतीबालीलाई पनि हेरचाह गर्न सक्नुपर्ने उनीहरुको भनाइ छ ।

स्रोत : रासस

प्रतिक्रिया

लोकप्रिय