निर्वाचन विशेष अन्तर्वार्ता

‘मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलसम्म पुग्नेछन्’

मतदाताहरुले कुनै पनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनु हुने छैन । ढुक्कका साथ मतदान गर्ने वातावरण हुन्छ ।

यतिबेला निर्वाचनको मौन अवधि छ । निर्वाचन आयोग र सरकारले आइतबारको निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् ।

मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी :

निर्वाचनमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बलको जिम्मेवारी के हो ?

निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्दा एकीकृत सुरक्षा योजना जुन तयार भइसकेको छ, नेपाल सरकारले बनाएको, निर्वाचन आयोगले बनाएको । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र जुन जुन कुराहरू हामीले गर्नुपर्ने भन्नेछ, जस्तोः निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा ।

समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ । निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्णरुपमा तैनाथीको काम सकिसक्यो ।

निर्वाचनका लागि कस्ता खालका चुनौती आकलन गर्नुभएको छ ।

सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै स्थानीय चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रुपमा भयरहीहत रुपमा सम्पन्न ग–यौं । त्यसको अनुभवका आधारमा यसपालीको सुरक्षा योजना त्यही अनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौतीहरुलाई मैले बनाएको छु । आन्तरिक र वाह्य सुरक्षा चुनौती ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले गर्दा सम्पूर्ण सीमा नाकाहरु निर्वाचनको दिनको ७२ घण्टा अगाडिबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ । त्यो अवधिमा सीमा नाकाहरू बन्द गर्नुपर्ने र छिमेकी देशहरुबाट हाम्रो देशमा मान्छेहरु आउने क्रमलाई रोक्नुपर्ने, आवतजावत बन्द गर्नुपर्ने थियो त्यो पूरा गरिसकेका छौँ ।

त्यो अवस्थामा मान्छेहरु आउँदाखेरी साना हतियारहरु लिएर आउने, आपराधिक मनोवृत्तिका मान्छेहरू भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्नसक्ने, यस्तो क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रुपमा छिमेकी देशको सुरक्षाकर्मीहरूसँग समन्वय गरेर । उदाहरणका लागि हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउट पोष्टहरु छन् भने त्यो २२० वटा बोर्डर आउट पोष्टहरु हाम्रो स्थायी चेक पोइन्ट त्यहीँ बसेको छ ।

कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरु राखेका थियौँ । त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ–ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरूको ड्युटी तैनाथी हुन्छ । र आवतजावत पूर्ण रुपमा बन्द गरी यो निर्वाचनमा बाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ । अब आन्तरिक रुपमा भन्नुपर्दा, मतदानस्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ । नेपाली सेना हुन्छ ।

मतदाताको घरदेखि मतदानस्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । शान्तिपूर्वक रुपमा, भयरहीत, निर्धक्क तरिकाले गएर आफ्नो मतदान गरेर फर्किने अवस्थासम्मलाई उहाँहरुलाई सुरक्षितसँग घरबाट मतदानस्थल र मतदानस्थलबाट घरसम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेक पोइन्टहरु राखेर मतदातालाई ढुक्कसाथ निर्वाचन गर्ने वातावरण बनाउनको लागि सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ ।

आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रुपमा निर्वाचनको वातावरण बिथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?

निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसाबले सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिम पनि राखेका छौँ । र स्थानीय स्तरमा पनि सूचनालाई महत्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरू हुनसक्छ ?

त्यहाँ दुई किसिमको घटनाहरू हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरुले गर्नसक्ने घटना हुनसक्छ भने अर्को राजनीतिक दलहरुको आपसी झडपको घटनाहरु पनि हुन सक्छन् । यो दुई वटै घटनाहरूलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिनेगरी हामीले योजना बनाएका छौँ । त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ ।

मतदानस्थलमा मत खसेपछि मत गणनास्थलसम्म लैजान कसरी बन्दोबस्ती गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरूको बन्दोबस्ती कस्तो छ ? कत्तिको पर्याप्त छ ? कसरी व्यवस्थापन गरिएको छ ?

मतदान सकिएपछि मतपेटिकाहरुलाई सुरक्षित साथ मत गणनास्थलसम्म पुर्याउनका लागि निर्वाचन क्षेत्र क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ । मतपेटिकाहरुलाई सुरक्षित साथ मतगणनास्थलसम्म लैजान्छौँ । लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्ने कुरामा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरु अपुग भयो भने पनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसको लागि कुनै समस्या नहुने गरी सुरक्षाको वातावरण मिलाएका छौँ ।

अन्त्यमा, सशस्त्र प्रहरी बल, नेपालको प्रमुखको रुपमा यहाँले मतदाताहरुलाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?

हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने, यसलाई राज्यले एउटा महाअभियानको रुपमा लिएको छ । यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनै पनि किसिमको कमी कमजोरी हुन्न । मतदाताहरुले कुनै पनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनु हुने छैन । ढुक्कका साथ मतदान गर्ने वातावरण हुन्छ । त्यसकारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागी हुनका लागि म यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

स्रोत : न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

लोकप्रिय