आश्रमका नागरिक मतदानबाट बञ्चित

आश्रममै मतदान गर्ने व्यवस्था नहुँदा आश्रित मानसिक रोगी तथा वृद्धवृद्धाहरु मतदानबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

सल्यानकी ३५ वर्षीया विमला थापा मानसिक रोगी हुन् । उनलाई गाउँमा बौलाहा भनेर अपमान गरिन्थ्यो । गाउँमा अपमानित हुन थालेपछि उनका परिवारले विमलालाई वीरेन्द्रनगर नगरपालिका–११ स्थित मानव सेवा आश्रममा ल्याएर राखे ।

लामो समयदेखि आश्रममा बस्दै आएकी उनको नियमित उपचार तथा परामर्शपछि अहिले स्वास्थ्यमा धेरै सुधार भइसकेको छ । निको भएर चाँडै घर जाने भन्दै उनी दिन गन्दै बसेका छिन् । रामेछाप स्थायी घर भएकी विष्णु तिवारी पनि लामो समयदेखि मानव सेवा आश्रममै बसिरहेका छन् ।

यहीबेला सबैतिर मंसिर ४ गते हुने निर्वाचनको सरगर्मीले छोइसकेको छ । चुनाव हुने गाइगुइँ सुनेपछि विमला र विष्णुलाई पनि मतदानको रहर जागेको छ । तर दुवै जनाको नाम मतदाता नामावलीमा छैन । नत उनीहरुसँग मतदाता परिचयपत्र नै छ । दुवैलाई मतदान गर्ने भने ठूलो सपना छ । तर मतदाता परिचयपत्र नहुँदा मतदान गर्नेसपना अधुरै छ ।

‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने त थाहा छ । तर, अहिलेसम्म कुनै पनि निर्वाचनमा मतदान गर्न पाएकी छैन,’ १० वर्षदेखि मानसिक रोगले छाएपछि हाल मानव सेवा आश्रममा बसिरहेकी विमलाले भनिन्, ‘मतदान गर्ने ठूलो धोको छ । मतदाता परिचयपत्र बनाउन कसैले सहयोग गदैनन् । बिरामी मान्छे आफूलाई केही थाहा नै छैन ।’

केही वर्षअघि मतदान गरेको सम्झिँदै फेरि मतदान गर्ने इच्छा भने पूरा नभएको विष्णु बताउँछिन् । ‘२०६४ को संविधानसभाको चुनावमा भोट हालेकी थिएँ । भूकम्पपछि सबै कागजपत्र नष्ट भए, साहारा दिने कोही पनि नभएपछि अहिले यहाँ बसिरहेकी छु,’ विष्णुले भनिन्, ‘मसँग नागरिकता पनि छैन । यी सबै कागजात कसले बनाइदिन्छ र भोट हाल्नु ?’

भूकम्पपछि सबै कागजपत्र नष्ट हुँदा विष्णुसँग परिचय खुल्ने कुनै कागजात छैनन् । विमला र विष्णु प्रतिनिधि पात्र मात्र हुन् । सुर्खेत जिल्लाका विभिन्न आश्रममा आश्रय लिइरहेका अधिकांश व्यक्तिसँग नागरिकता र मतदाता परिचयपत्र नहुँदा मतदानबाट बञ्चित हुने देखिन्छ । मानव सेवा आश्रम सुर्खेतमा ७४ जनाले आश्रय लिइरहेका छन् ।

उनीहरूमध्ये कसैको पनि अहिले मतदाता परिचयपत्र छैन । अधिकांशसँग नागरिकता पनि छैन । उनीहरूलाई मतदान गर्ने धोको भए पनि पाउने अवस्था भने छैन । वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रममा बस्दै आएका दैलेखका ६३ वर्षीय खड्कप्रसाद आचार्यसँग पनि कुनै कागजात छैन । सानो उमेरमै भारत गएका आचार्य लामो समयमा उतै बसे ।

अहिले आश्रममा आश्रय लिइरहेका आचार्यलाई मतदान गर्ने ठूलो धोको छ, तर कुनै कागजात नभएकाले उनले भोट हाल्न पाउँदैनन् । ‘पहिले भोट हाल्ने कागजपत्र त बनाएको थिएँ । आफू यहाँ छु, कागजपत्र साथमा छैन । भोट हाल्ने मन त थियो तर, के गर्नु न नेताले चासो दिन्छन्, न कोही आफन्तलाई चासो छ,’ आचार्यले गुनासो गर्दै भने ।

दैलेखकै डम्मरबहादुर बुढासँग नागरिकता र मतदाता परिचयपत्र दुवै छ । ८० वर्षीय बुढाले यसअघिका निर्वाचनमा दैलेखमै पुगेर पनि मतदान गरेका थिए । अहिले उमेरले थलिएपछि गाउँ जान आउन समस्या हुने भएकोले अब मतदान गर्न नसक्ने उनी बताउँछन् । सरकारले यहीँबाट मतदान गर्ने व्यवस्था मिलाइदिए भोट हाल्ने उनको पनि धोको छ ।

प्रशान्ति वृद्धाश्रममा अहिले ११ जना महिला र १५ जना पुरुष गरी २६ जना वृद्धवृद्धा छन् । उनीहरूमध्ये सुर्खेतकै स्थायी बासिन्दा रहेका केहीले यसअघि नै मतदाता परिचय पत्र बनाएर स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए । २६ जनामध्ये ६ जनासँग नागरिकता र मतदाता नामावलीमा नाम छ भने अन्यसँग नागरिकता समेत छैन ।

कर्णाली प्रदेश निर्वाचन आयोग कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले अन्य जिल्लामा मतदाता नामावलीमा नाम भएकाहरूलाई समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाएको बताए । तर आश्रममै मतदान गर्ने व्यवस्था नहुँदा आश्रित मानसिक रोगी तथा वृद्धवृद्धाहरु मतदानबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

प्रशान्ति वृद्धाश्रम सञ्चालक समितिकी उपाध्यक्ष शितलसिंह राठौरले आश्रममा बसेका २० जनासँग मतदाता परिचय पत्र नभएको बताए । ‘आश्रममा रहनुभएका बुवा–आमाहरूसँग मतदाता परिचय पत्र नै छैन । केहीसँग मात्र छ, भएकाहरूलाई पनि मतदानमा सहभागी गराउन समस्या छ,’ उनले भने ।

आश्रममा रहेका सबैको मताधिकार सुरक्षित गर्न निर्वाचन आयोगले विशेष व्यवस्था गर्न जरुरी रहेको राठौरको भनाई छ । उनले विषयमा प्रदेश निर्वाचन आयोगसँग छलफल गर्दा आश्रममै अस्थायी केन्द्रको व्यवस्था गरी मतदान गराउने प्रबन्ध मिलाउने आश्वासन दिए आफ्नो आश्रममा ६ जना मात्रै मतदाता हुँदा समस्या भएको बताइन् ।

प्रतिक्रिया

धेरै पढिएको