व्यङ्ग्य

जुहारी : खड्गेश्वर बा भर्सेस हर्कराज

व्यसाषनको अघिल्लो लहरको देब्रे छेउमा लहरै छाताधारी र सूर्जेमुखि उम्मेद्वार ढलमल बसे ।

मुकाम – गीता भवन, हर्कपुर, धरान
तिथि – २५ कात्तिक
कार्जेक्रम – ओलियण पुरान
प्रमुख वाचक – श्री १०३ अखण्ड पुरुष खड्गेश्वर ‘बा’ ।

पुरान वाचनको लागि अघिल्लै दिन प्रमुख वाचक ‘खड्गेश्वर बा’का लागि व्यसाषनको व्यवस्था बामाले भक्तजनहरुले गरिसकेका थिए । तोरण, फलफूल बाजा–गाजाको पनि व्यवस्था भैसकेको थियो । ‘बा’ र प्रथम माताका दासीको पनि व्यसाषनमा आषनग्रहण वैद्धिक मन्त्रोचरणसँगै भयो । यता प्रमुख भक्त पुड्के सुब्बाले अध्यक्षता ग्रहण गरे । व्यसाषनको अघिल्लो लहरको देब्रे छेउमा लहरै छाताधारी र सूर्जेमुखि उम्मेद्वार ढलमल बसे ।

दाहिने लहरमा माता, मञ्जु भण्डारी, मोती सुनुवार लगायतकाले ठाउँ पाए । पछिल्लो लहरमा मञ्जुपति मुरारी, डिवी शाह शंकर, द्रोपध्वज राई लगायतका भरसक चार वर्ण छत्तिस जातका भक्तहरु उपस्थित थिए । यतिकैमा व्यसाषनमा बसीबसी ‘बा’ले स्पिकर ताने । अघिल्लो लहरका भक्तजनहरु नियाले । माताले दासीमा थोरै नजर लगाए । तल प्रवचन सुन्न व्यग्र दर्शक श्रोतामा परपरसम्म नजर दौडाए ।

अर्थात्, आइकण्ट्याक्ट सकिएपछि ‘बा’ले खोक्न सुरु गरे, ‘तिमेर्ले अस्ति जेठको चर्को घाम पनि देखेनौ । उतिबेला भोट हाल्दा आँखा देखेनौ अहिले कोलाहल मच्चाएर के हुन्छ ? तिमेर्ले घाम नदेखेकोले मैले छाता पठाइ देको हुँ । धरानको त इज्जतै गयो । उहिल्यैदेखि घाम लागिरहने पारिलो ठाउँ थियो । अहिले त बादल लागेर पुरै हुस्सु भएछ ।’ ‘बा’ले यतिमात्र के भनेका थिए भक्तजनले तालि पड्काए परर…।

यता तालीको गडगडाहट सकिएपछि ‘बा’ले थोरै आँखीभौं तन्क्याए । निधार थोरै खुम्च्याए र हौसिँदै प्रवचन सुरु गरे, ‘त्यो हर्के भन्ने राई केटोले गाग्रीमा पानी ल्याएर धरानमा पानी बाँडेको देख्दा म छक्कै परेँ । तेत्रा विधि मान्छेलाई गाग्रीको पानी लोटामा सारेर दिएर साध्ये हुन्छ ? धरानाँ पानी कोशीबाट सेटेलाइटले उफारेर ल्याउनुपर्छ । नभए तमोर छेँडेर दुलो पारेर ल्याउनुपर्छ । नभए महाभारा डाँडो कटाएर ल्याउनुपर्छ ।

पाँचथरको याङनाममा तल तमोरको पानी मैले नै डाँडो कटाएर ल्याएको हुँ । यस्तो काम बामालेले मात्र गर्न सक्छ । तर, एकदुई जना हाम्रा भक्तहरु के के न पाइन्छ भनेर छोडेर हिँडेका छन् । कस्को लौरो भेटेछ कोनी अहिले सोतन्त्र कि के भाको छरे । उस्को चुनाउ चिनो पनि जंगली जनावर जरायो हो कि खरायो भन्ने छ रे । यस्ता भँडुवा जंगली जनावरको गोठालोको तिमेर्ले हुर्मत लिनु । दिउँसो दिँदा नखाने राती कोल चाट्नेलाई पाता कस्नु ।’

यति भनेपछि श्री १०३ अखण्ड पुरुष ‘खड्गेश्वर बा’को प्रवचन सकियो । पुरान सम्पन्न भएको घोषना पुड्के सुब्बाले गरे । उता भालुखोलामा गिट्टी बालुवा बोकेर थकित भएका मेयर हर्कराजले सञ्चार माध्यममार्फत यति कुरामात्र के सुन्न भ्याएका थिए उनले पनि त्यही उपस्थित युटुबेलाई बोलाएर प्रत्युत्तर खापे, ‘त्यो उठेर पनि बोल्न नसक्ने गोज्याङ्ग्रोले के खोकेको ? रेल, पानीजहाज ल्याउँछु भनेर उल्का कुरा गर्ने हाउडीको कुरा पनि पत्याउने ।

यस्तो बाह्र गाउँ ढाँटी खान पल्केको हाउडीले कोशीको पानी स्याटेलाइटले उफारेर ल्याउँछु भनेर बेकुफ बनाउन आएको भेलु ‘बा’को कुरा कसैले पत्याउँदैनन । अहिलेसम्म त मैले सभ्य भाकामा उखाने, हाउडी र गोज्याङ्ग्रो मात्रै भनेको छु । उखाने शब्दको ‘उ’लाइ निकालेर नेपाली वर्णमालाको तेस्रो अक्षर ‘ग’मा तल्कुरे लगाएर भन्नु नपरोस् ।’

स्रोत : दृष्टि न्यूज

प्रतिक्रिया

लोकप्रिय