नरैनापुरमा प्रभावकारी बन्दै मतदाता शिक्षा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाउँपालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडा तह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरीकाबारे जानकारी गराउन पालिकाको ६ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ,’ उनले भने ।

मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एकजना स्वयंसेवक परिचालन गरिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत खरालले मंसिर १ गतेसम्म सबै वडा हुँदै घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गरिएको बताए ।

उनले भने, ‘निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।’ मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग–अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

अध्यक्ष शाहले भने, ‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’

अध्यक्ष शाहले निर्वाचनमा मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

लोकप्रिय