शैक्षिक समृद्धि

‘पाँच वर्षभित्र कोहलपुरका सबै विद्यालय अभावमुक्त’

अब कोहलपुर नगरभित्रका विद्यालयको अनुगमन विज्ञहरु सम्मिलित तेस्रो पक्षले गर्नेछ ।

बाँकेको कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ ।

‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो ।

दुई दिनसम्म कोहलपुरका सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको क्षमता विकास तालिममा नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

उक्त योजनामा नगरपालिकास्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिकास्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ ।

‘विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरिनेछ,’ प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुख पुर्णप्रसाद आचार्यले भने, ‘विद्यालयलाई राजनीतिक हस्तक्षेप एवम् आग्रह पूर्वाग्रहको हिसावले मुक्त क्षेत्रको रुपमा विकास गरिनेछ ।’

विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा योग्य तथा सक्षम शिक्षकलाई प्रधानाध्यापक बनाउने र प्रधानाध्यापकसँग करार सम्झौता गरी सोही आधारमा स्वतन्त्र रुपमा काम गर्नका लागि सहयोग गरिने पनि नगर प्रमुख आचार्यले स्पष्ट पारे ।

‘प्रधानाध्यापकका निम्त्ति उनीहरुले खाईपाई आएको तलवको निश्चित प्रतिशतको आधारमा प्रोत्साहन भत्ता थप गरिनेछ,’ उनले भने, ‘उत्कृष्ट गर्ने प्रधानाध्यापकलाई पुरष्कृत गरिन्छ ।’ अब कोहलपुर नगरभित्रका विद्यालयको अनुगमन विज्ञहरु सम्मिलित तेस्रो पक्षले गर्नेछ ।

‘विज्ञहरु सम्मिलित तेस्रो पक्षबाट विद्यालयको अनुगमन गर्नका लागि साझा संयन्त्रको विकास गरि अनुगमन कार्यलाई प्रभावकारी गराइने पनि प्रतिबद्धता पत्रमा समेटिएको जानकारी दिँदै प्रमुख आचार्यले भने ‘अनुगमन प्रतिवेदनका आधारमा विद्यालयमा गर्नुपर्ने आवश्यक कारवाहीका लागि शूल्य सहनशीलताको साथ अघि बढिने छ ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा विज्ञ जितबहादुर शाह, शिक्षा शाखा अधिकृत रबिलाल मिजारसहितको टिमले तयार पारेको नगरपालिकाको पञ्चवर्षीय शिक्षाका प्रतिबद्धतामा विद्यालयलाई प्रविधिको हिसावले साधन स्रोत सम्पन्न बनाउनेदेखि स्मार्ट कक्षा सञ्चालनका लागि कक्षा कोठाहरु निर्माण गर्नेसम्मका योजना समेटिएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकहरुको प्रतिबद्धतालाई समेत समेटिएको शाखा अधिकृत मिजारले बताए । उनीहरुकातर्फबाट पनि २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

पहिलो चरणमा सामुदायिक विद्यालयसँग बसेर शैक्षिक गुणस्तरको उपाय खोजिएको बताउँदै नगर प्रमुख आचार्यले संस्थागत विद्यालयसँग पनि यस्तै छलफल गरेर कोहलपुरलाई शैक्षिक हवकोरुपमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे योजना बनाइने उल्लेख गरे ।

प्रतिक्रिया

लोकप्रिय