अभिमत

धवलको सदाचारी ढ्वाङ्ग र ‘मतको सौदा’

अरूलाई निर्वाचनमा आर्थिक चलखेल गरेको आरोप लगाउने धवलशमशेरले त झन् पाँच वर्ष अगावैदेखि नै ‘मतको सौदा’ गरिरहेका रहेछन् ।

अरूले मानुन् नमानुन् ! धवलशमशेर राणा आफूले आफैलाई भने सदाचारीको उपमा दिँदै आएका छन् । आफूविरुद्ध भ्रष्टाचारका अनेकन प्रश्न उठ्न थालेदेखि नै धवलशमशेर आफूलाई सदाचारी भएको कथ्य स्थापित गर्न लागिपरेको विषयमा कमसेकम बाँकेबासी जानकार छन् । तर उनको कथ्य र तथ्य भने विल्कुल उल्टो छ ।

नेपालगन्जको मेयरको दोस्रो कार्यकालमा छँदा स–साना कुराहरूमा पनि उनले ‘लामो हात’ गरेका किस्साहरू निरन्तर उजागर भइरहेका छन् । जसले उनको कथनी र करणीबीचको भिन्नता उदांगिएको छ । कुनै समय समकक्षी रहेका राप्रपाका पूर्वनेता तेजविक्रम शाहले त धवल शमशेरको शरीरमा भ्रष्ट रगत बगिरहेकोसम्म भनेका छन् ।

धवलशमशेरले राप्रपाका दुई नेतालाई अनायाशै पार्टीबाट निष्कासन गरेपछि उनीविरुद्ध शाहले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रको सम्पत्ति लुटेको पूर्खाहरुको भ्रष्ट रगतप्रति झुक्न अस्वीकार गरेकोमा राष्ट्रवादी यौद्धाद्वय प्रदिप शाह र अर्जुनजङ्ग शाहप्रति सलाम !’ धवलशमशेरले सुरुदेखि नै होनहार राष्ट्रवादी कार्यकर्ताहरुको भविष्य बर्बाद पार्दै आएको गम्भीर आरोप शाहले सार्वजनीकरूपमै लगाएका छन् ।

धवलशमशेरको दलिल सुन्दा लाग्छ, उनले जनप्रतिनिधि भएर अहिलेसम्म ‘ठूलो’ रकम कुम्ल्याउन पाएका छैनन्, त्यसैले उनी भ्रष्टाचारी होइनन् । सार्वजनिक कार्यक्रममै ‘आफूले ठूलो भ्रष्टाचार नगरेर कतै गल्ती त गरेन ?’ भन्दै उनले भ्रष्टाचारप्रतिको आफ्नो मोह व्यक्त गरिसकेका छन् । तर के भ्रष्टाचार नगर्नु भनेको पदीय हैसियतमा रहँदा ‘ठूलै’ आर्थिक लाभ नलिनुमात्र हो त ? नियम वा कानुनविपरित पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम भ्रष्टाचार होइन ? राज्यले दिँदै नदिएको सरकारी सेवा–सुविधा लिनु के भ्रष्टाचार होइन ?

आफू भ्रष्ट हुँ वा होइन भन्ने ज्ञान छैन भने धवलशमशेरले एकपटक नेपाली शब्दकोष पल्टाए हुन्छ । जसमा भ्रष्टाचारको ब्याख्या यस्तो छ, नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम; भ्रष्ट मनसाय वा घुसखोरीको काम । शब्दकोष पल्टाएर पनि म त सदाचारी नै हुँ भन्ने लाग्छ भने एकपटक आफ्नो ब्रम्हलाई सोधुन् धवलशमशेरले ।

उपमहानगरपालिकाको कार्यालयबाट पाउने तलब जनतालाई बाँडेको ढ्वाङ्ग पिटेर सुरुवातमा ‘वाहवाही’ बटुलेका धवलशमसेरको ‘गुप्त रणनीति’ बुझेपछि अहिले तिनै तारिफ गर्नेहरू उनको तीव्र आलोचनामा उत्रिएका छन् । धवल शमशेरले बाँडेको तलबको रकम अधिकांश आफू निकटस्थ व्यक्ति र संस्थालाई रहेछ भन्ने अहिले आएर खुल्दै गएको छ । अरूलाई निर्वाचनमा आर्थिक चलखेल गरेको आरोप लगाउने धवलशमशेरले त झन् पाँच वर्ष अगावैदेखि नै ‘मतको सौदा’ गरिरहेका रहेछन् ।

आफ्नो तलब आफू निकटलाई दिए यो उनको अधिकार होला रे ! तर त्यसलाई राजनीतिक लाभको खुड्किलो बनाउनु भने बेइमानी हो, भ्रष्ट आचरण हो, भ्रष्टाचार हो । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा एमालेको समर्थन लिएर बाँके क्षेत्र नं. २ बाट राप्रपाका प्रतिनिधिसभा उम्मेदवार धवलशमसेर राणाले मतदातालाई पैसा दिएको देखिन्छ ।

आफ्तो तलब जनतालाई बाँडेको दाबी गर्ने धवल शमशेरले जनताको करको पैसामा मस्ती मार्नुलाई पनि सदाचार नै ठान्दा रहेछन् सायद । उता तलब बाँडेको ढिण्डोरा पिट्ने अनि यता उपमहानगरपालिकाबाट नियम–कानुनविपरित सेवा–सुविधा लिने ! धवलशमशेरका यस्ता हर्कतको अन्तर्य सामान्यजनले पनि बुझिसकेका छन् ! धवलशमशेरले जनतालाई यतिसम्म अबुझ त सम्झिनु भएन कि उनका अन्धभक्तहरूले झैं सबै कुरा पत्याइदिउन् !

कतैका मेयरले नपाएको अफिस क्वाटरको सुविधा पनि लिए धवलशमशेरले । आफ्नो घर भाडामा लगाए । उपमहानगरपालिकाको कार्यालयको क्वाटर कब्जा गरे । जहाँको एसी खर्चदेखि टिस्यु पेपरसम्ममा सरकारी कोष उडाए । कार्यकर्ताहरूको चिया खाजाको जोहो पनि त्यहीँबाट गरे । नेपालगन्जवासीले पसिना बगाएर तिरेको करको रकम दुरुपयोग गर्दै यतिविधि लुट मच्चाएर पनि उनलाई सदाचारी भनिदिनुपर्ने रे ! उफ !

संस्थाको नामबाट खाद्यान्न लगायतका सामग्री बाँड्दै राप्रपाका कार्यकर्ता ।

यिनै धवलका विरुद्ध भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उपमहानगरपालिकाको कार्यालयको जग्गा व्यक्तिको नाममा गरिदिएको र आफ्ना आसेपासेलाई काम दिलाउन बजेट टुक्र्याएर उपभोक्ता समिमिमार्फत गराउनु भ्रष्टाचार होइन ? अनि कोरोना महामारीका बेला कमिसनको चक्करमा कुहिएको खाद्यान्न बाँड्नु कस्तो सदाचार हो ? ताज्जुब लाग्छ ! जसले उपमहानगरका लागि आवश्यक डस्टविन खरिदमा समेत लालची बनेर आपूर्तिकर्तासँग साँठगाँठ गर्यो उसले नै आफूलाई सबैभन्दा पारदर्शी भन्दै हिँडेको छ ।

जसले आफू र आफ्ना निकठस्थहरूको जग्गाको मूल्य बढाउन सरकारी भौतिक संरचनाहरू निर्माण गर्यो अनि आफ्नो जग्गालाई प्राथमिकतामा राखेर सडक बनायो ऊ नै अहिले सबैभन्दा ठूलो भ्रष्टाचारविरोधी कहलिन खोजिरहेको छ । जसले फोहोर फाल्ने ठाउँ (ल्याण्डफिल साइट)मा जग्गाको लफडा झिकेर आर्थिक चलखेल गर्यो ऊ नै अहिले बेदाग बन्न खोज्दैछ । जसले संस्थाको नाममा कार्यकर्ता लगाएर चुनावलक्षित खाद्यान्न वितरण गरिरहेको छ उसले नै मतदातालाई प्रलोभनमा नपर्नुस् भनिरहेको छ । जसले हाकाहाकी मतदातालाई पैसा बाँड्यो उसले नै आफूलाई सदाचारी भन्दै हिँडेको छ ।

धवलशमशेरका यी केही किस्साहरू नै उनको वास्तविक चरित्र चित्रण गर्न काफी छन् । म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भन्ने नारा लगाउँदै अहिले जनताको घरदैलोमा पुगिरहेका धवललाई मतदाताले यी सबै किस्साबारे सोध्ने कि नसोध्ने ? उनको कथनी र करणीबीचको भेद छुट्ट्याउने कि नछुट्ट्याउने ? भ्रष्टाचारका अनेकन किस्सा बाहिर आउँदा पनि धवलशमशेरले जनतालाई जवाफ दिन जरूरी ठान्दैनन् र जनचासोलाई लत्याइरहन्छन् भने उनी जनताका नजरमा भ्रष्ट मात्र होइन्न् महाभ्रष्ट हुन् ।

 

 

– लाइभपाटी

प्रतिक्रिया

लोकप्रिय


आफ्तो तलब जनतालाई बाँडेको दाबी गर्ने धवल शमशेरले जनताको करको पैसामा मस्ती मार्नुलाई पनि सदाचार नै ठान्दा रहेछन् सायद । उता तलब बाँडेको ढिण्डोरा पिट्ने अनि यता उपमहानगरपालिकाबाट नियम–कानुनविपरित सेवा–सुविधा लिने ! धवलशमशेरका यस्ता हर्कतको अन्तर्य सामान्यजनले पनि बुझिसकेका छन् ! धवलशमशेरले जनतालाई यतिसम्म अबुझ त सम्झिनु भएन कि उनका अन्धभक्तहरूले झैं सबै कुरा पत्याइदिउन् !