विचार

‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी

हिजो कम्युनिष्ट बन्नु भनेको त्यो स्वर्णीम सपनाका निम्ति आफूलाई होम्नु थियो तर अहिलेको साम्यवादी नेतृत्व र अनुयायीहरूको पुस्ता यही व्यवस्था भित्रबाट प्राप्त हुने क्षणिक लाभ र निजी स्वार्थका लागि अनुबन्धित हुने प्रवृत्ति बढेको छ ।

स्वतन्त्र र दलीय उम्मेदवार

निर्वाचन आयोगको हालैको तथ्याङ्क अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगमा जम्मा ११६ वटा दलहरू दर्ता भएका छन् । जसमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जम्मा २४१२ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये दलहरूका तर्फबाट १५४५ जनाको र स्वतन्त्र तर्फबाट ८६७ जनाको उम्मेदवारी परेको छ । प्रतिशतका आधारमा हेर्दा स्वतन्त्रहरूको उम्मेदवारी कुल सङ्ख्यामा झण्डै ३१ प्रतिशत रहेको छ ।

यसैगरी प्रदेशसभातर्फ हेर्दा जम्मा ३२२४ जनाको उम्मेदवारी परेकोमध्ये २२२५ राजनीतिक दल सम्बद्ध उम्मेदवार छन् भने ९९९ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेशसभामा उम्मेदवारी दिने यी स्वतन्त्र उमेदवारहरूको संख्या झण्डै ३६ प्रतिशत हुन आउँछ । अझ विवादकाबीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम राखी प्रतिनिधिसभा सदस्यतर्फ १३३ जनाले सो दलबाट उम्मेदवारी समेत दिएको सन्दर्भमा ‘स्वतन्त्र’ शब्दावली प्रयोग भई निर्वाचनमा सामेल हुने उमेदवारहरूको संख्या अझै बढ्न गएको छ ।

हुनत यसअघि भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नै पहिलेको तुलनामा थुप्रै सङ्ख्यामा स्वतन्त्र उमेदवारहरू उठेका थिए र विजयी पनि भए । खासगरिकन काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह, धरान नगरपालिकाका हर्क साम्पाङ, र धनगढी नगरपालिकाका प्रमुख गोपाल हमालले आफ्नो स्वतन्त्र उमेदवारीको हैसियतमै निर्वाचनमा विजयी भए । स्थानीय तहको यो परिणामबाट थपिएको हौसलाले अहिले आएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा अझ धेरै स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी दिएका छन् ।

सक्रिय राजतन्त्रद्वारा सञ्चालित पञ्चायती व्यवस्थाको अवसानपछि क्रमश मुखरित हुँदै गएको बहुदलीय प्रतिस्पर्धामा आधारित संसदीय राजनीतिक व्यवस्थाको अभ्यासका क्रममा यति ठूलो सङ्ख्यामा स्वतन्त्र उमेदवारहरू देखापरेको सम्भवतः यो नै पहिलो निर्वाचन हो । पहिलेको निर्दलीय पञ्चायती व्यवस्थाको झलक दिनेगरी किन यसरी बग्रेल्ती देखापरिरहेका छन् स्वतन्त्र उमेदवारहरू ?

को हुन् स्वतन्त्रहरू ?

आखिर को हुन् यी स्वतन्त्रहरू ? अनि किन भयो उनीहरूको उदय ? स्वतन्त्रहरूको उदयको वास्तविक कारण के हो? के उनीहरू अन्तरवस्तुमै स्वतन्त्र हुन् वा स्वरूपमा मात्र? के उनीहरूको स्वतन्त्रता सापेक्ष र तुलनात्मक स्वतन्त्रता हो कि निरपेक्ष स्वतन्त्रता हो? के रवि लामिछाने अध्यक्ष भएर दर्ता भएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नाम गरेको दल पनि स्वतन्त्र हो ? यस्ता केही ज्वलन्त प्रश्नहरू रहेका छन् ।

यस लेखकको विचारमा राजनीतिक अभियानमा स्वतन्त्र व्यक्ति र समूहहरूको उदयका खास केही वस्तुगत र आत्मगत वा मनोगत कारणहरू हुने गर्दछन् । मनोगत कारणको आधारमा हुने स्वतन्त्र अभियान वा गतिविधि क्षणिक र अस्थायी प्रकृतिका हुन्छन् भने वस्तुगत कारणमा आधारित स्वतन्त्र अभियानहरू केही परिपक्व र दिगो प्रकृतिका हुन्छन् । हालै सम्पन्न स्थानीय तहदेखि आसन्न निर्वाचनको उम्मेदवार मनोनयनका क्रमसम्म देखापरेका स्वतन्त्र अभियानहरूले दुवै विशेषता र लक्षण बोकेका छन् ।

स्थानीय तहको निर्वाचनमा विजयी भएका केही व्यक्तिदेखि लिएर आसन्न निर्वाचनका आकाङ्क्षीका रूपमा देखापरेका व्यक्ति, अभियान, र समूहहरूको विशेषता हेर्दा उनीहरू भिन्न परिवेश, विशेषता र लक्षणका आधारमा स्थापित भएका छन् । केही विशुद्ध व्यक्ति छन्, केही समूह बनाएर स्वतन्त्र अभियान अन्तरगत छन् भने केहीले दल बनाएर ‘स्वतन्त्र’ नाम दिएका छन् । केही व्यक्तिहरू राजनीतिक दलबाट विद्रोह गरेका विद्रोही स्वतन्त्रहरू हुन् । यसरी हेर्दा मौलिक स्वतन्त्र र विद्रोही स्वतन्त्रका रूपमा पनि उनीहरूलाई छुट्याउन सकिन्छ ।

जनकपुरका मेयर मनोजकुमार शाहलाई एक विद्रोही स्वतन्त्र उम्मेदवार भई विजयी बनेका व्यक्तिका रूपमा लिन सकिन्छ । उता हर्क साम्पाङ र गोपाल हमालको निरन्तर समाजसेवाको छवि अनि बालेन्द्र शाहको हकमा सामाजिक सञ्जालको उपयोग गरी महानगरपालिकाका विकासका मुद्दाहरू कुशलतासाथ उठान गर्नु विजयका प्रमुख कारणका रूपमा देखापरेका छन् । स्वतन्त्र व्यक्ति, अभियान र दलको सन्दर्भमा विश्लेषण गर्दा के देखिन्छ भने यिनीहरू सापेक्ष र तुलनात्मक अवधारणा हुन् ।

हरेक स्वतन्त्र तुलनीय तथ्य हो । मानौँ राम कुनै दलसँग आवद्ध भएको व्यक्ति वा उम्मेदवार हो तर श्याम दलीय आबद्धता भएको व्यक्ति वा उम्मेदवार हैन यसर्थ श्यामलाई स्वतन्त्र भनिएको हो । श्याम फेरि पनि कुनै खास वर्ग, जाति, जात, क्षेत्र र लिङ्ग र लैङ्गिकताबाट निरपेक्ष बन्न नसक्दा र उसले आफ्नो समूह स्वार्थबाट विमुख हुन नसक्ने हुँदा वास्तवमै उ कति स्वतन्त्र हुन सक्ला ?

यसर्थ हाल स्वतन्त्रको परिभाषाभित्र आफूलाई राखेर देखापरेका उम्मेदवार र विजयी व्यक्तिहरू यो निर्वाचन अभियानको सन्दर्भ र आगामी ५ वर्षे कार्यकालका लागि आफूलाई राजनीतिक दलसँग आवद्ध नगरी प्रस्तुत गरेका कारणबाट मात्र स्वतन्त्र हुन् । तसर्थ उनीहरूले दावा गरेको यो ‘स्वतन्त्रता’ सापेक्ष र तुलनात्मक छ, यो दीर्घकालीन, निरन्तर र निरपेक्ष स्वतन्त्रता हैन । नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी नाम गरेको दलले नाम नै स्वतन्त्र राखेको अर्थमा के यो स्वतन्त्र हुन सक्ला ?

यसरी हेर्दा बहुदलीय लोकतन्त्रमा यो पनि अरु दल सरह नै नेपालको प्रचलित संविधान र कानूनको अधीनमा रही सञ्चालन हुने भएको हुँदा ‘स्वतन्त्र’ नाम राख्दैमा यो दल चाँहि स्वतन्त्र हुने र अरु चाँहि परतन्त्र हुने कुनै तार्किक आधार देखिदैन । यद्यपि यो दलले लोकतन्त्रको संस्थागत विकासका लागि अरु दलहरूले गर्न नसकेका वा बिगारेका कुराहरूलाई सच्याएर थोरै भए पनि सहीरूप दिन सकेको खण्डमा त्यो सापेक्ष अवधारणाको तुलना गर्दै यसको स्वतन्त्र छवि केही समय जनमानसमा रहन सक्ला भन्न सकिन्छ ।

तर एउटा जीवाङ्ग र जीव जस्तै व्यक्तिको राजनीतिक व्यक्तित्व, उसको सामाजिक छवि र राजनीतिक दलको आफ्नै पनि जीवन चक्र हुने गर्दछ । जसअनुसार उनीहरू पनि उद्भव वा उदय, उत्थान, उत्कर्ष, चरमोत्कर्ष अवसान र पतनको प्रक्रियाबाट गुज्रने गर्दछन् । यो प्रक्रियाबाट हेर्दा स्वतन्त्र व्यक्ति, अभियान र दल पनि जीवनचक्रको यो नियमबाट अपवादमा पर्न सक्दैनन् ।

समाजशास्त्रीय दृष्टिकोणमा भन्ने गरिन्छ मानव जातिको इतिहासमा नरभक्षी, आदिम र बर्बर समाजलाई विस्थापित गर्दै आएको दाश युग, दाश युगलाई निषेध गर्दै आएको सामन्तवादी युग र त्यसलाई निषेध गर्दै आएको पुँजीवादी युग हरेक हिसाबमा अघिल्लोको तुलनामा प्रगतिशील थिए । मानव जातिको इतिहासमा सामान्यतः पछिल्लो पुस्ता पनि अघिल्लो पुस्ताको तुलनामा प्रगतिशील हुने गर्दछ ।

यदि उनीहरूले साँच्चै नै अघिल्लो पुस्ताका सकारात्मक र उपयोगी पक्षहरू ग्रहण गरेर कमी भएका पक्षहरूमा नवीन दृष्टिकोण, पद्धति र तरिकाहरू अपनाएर मानव कल्याणको अभिवृद्धि गर्ने कुरामा प्रगतिशील भएको खण्डमा उनीहरूले जनविश्वास जितेर तत्कालीन समाजको राजनीतिक नेतृत्व गर्ने अभिभारा ग्रहण गर्न सक्छन् ।

स्वतन्त्रको उदय वस्तुगत कि मनोगत ?

स्वतन्त्र व्यक्ति, अभियान समूह वा दलहरूको उदयका वस्तुगत कारणभित्र केही मुख्य आधारहरू रहेका छन् । हाल नेपाली समाज आर्थिकरूपमा उत्पादन सम्बन्धको दृष्टिकोणबाट हेर्दा पुँजीवादी चरणमा प्रवेश गरिसकेको छ । यसले आर्थिक क्रियाकलाप र मुनाफामा विविधीकरण ल्याएको छ । पहिले राजा र रजौटाहरू द्वारा केन्द्रीय रूपमा नियन्त्रणमा राखिएको सामन्तवादी अर्थव्यवस्था भित्रै स्वतन्त्र अर्थतन्त्रको परिकल्पना गर्न सकिन्नथ्यो ।

हाल भने नेपाल उत्पादनको विकास र उत्पादन सम्बन्धका आधारमा हेर्दा पुँजीवादको चरणमा प्रवेश गरिसकेको सन्दर्भमा उत्पादनका क्षेत्रहरूमा आएको विविधीकरण र विकेन्द्रीकरणका कारण नयाँ प्रकृतिको पेशा व्यवसायको जगमा थुप्रै नवधनाढ्य परिवारहरू देखापरिरहेका छन् । यो नयाँ र स्वतन्त्र अर्थतन्त्र नै नयाँ स्वतन्त्र व्यक्ति, अभियान र दलहरूको अरु परम्परागत दल वा समूहसँगै स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न सक्ने मूल वस्तुगत आधार र कारण पनि हो ।

अर्को वस्तुगत आधार हाल प्रविधिको उपलब्धता र अभूतपूर्व प्रयोगमाथिको पहुँच पनि हो । सूचना र सञ्चारको क्रान्तिले हिजोको मानिसको तुलनामा नवीन ज्ञान मात्र हैन सीप र अवधारणा पनि सहजरूपमा आज प्राप्त हुन थालेको छ । हिजो बेठिक छुट्याइने (सेन्सअफ जज्मेन्ट), दृष्टिकोण (एट्टिच्युट) निर्माण गरिने जस्ता पक्षहरूमा अग्रजहरूमाथि भर पर्नु पर्ने अवस्था इन्टरनेटमा उपलब्ध सूचनाका कारणबाट ह्वात्तै घटेको छ ।

व्यक्तिले इन्टरनेटमा आधारित भएर अनि अन्य सूचना र सञ्चारका माध्यमहरूको प्रयोग गरेर नितान्त नवीन ज्ञान, सीप र दृष्टिकोण प्राप्त गरिरहेको हुनाले अब उसले पुरानो पुस्ता वा दलका नेताहरू भन्दा आफूलाई भिन्न र स्वतन्त्र भएर प्रस्तुत गर्न वा कार्य गर्न सक्षम बन्न पुगेको छ । पुरानो पुस्ताले २० औं वर्ष लगाएर सिकेको ज्ञान आज उ २० मिनेटमा प्राप्त गर्न सक्षम बनेको छ । थप कुरा यातायातको पहुँचसँगै भूमण्डलीकरणमार्फत दुनियाँभरका समाज र सभ्यताहरूसँगको जम्काभेट र तुलनात्मक अनुभवहरूले पनि मानिस परम्परागत सोच र दृष्टिकोणबाट बाहिर निस्किएर थप स्वतन्त्र बन्न पुगेको छ ।

स्थापित दलहरूले रूपान्तरण गर्न सकेनन्

यो वस्तुगत आधारबाट उदित युवाहरू पुराना राजनीतिक दलहरूमा झाँगिएको यथास्थितिवाद, व्यक्ति र नेताकेन्द्रित अनि मनोमानी प्रवृत्ति, दलभित्र रहेको नोकरशाहीतन्त्र, चाकडी, चाप्लुसी, परिवारवाद, अपारदर्शी अर्थतन्त्र, मनोमानी प्रवृत्ति, राष्ट्रिय स्वाधीनताको मामलामा आत्मसमर्पणवाद, कमजोर राज्य, अविकसित देश, अनिश्चित भविष्य अनि पार्टी भित्र नयाँ कुलिनवर्गको हालीमुहाली जस्ता पक्षहरूले विकल्पको खोजी गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

हुन पनि नेपालको पहिलो र अगुवा राजनीतिक दल नेपाली कांग्रेसको मूल नेतृत्वमा २००७ सालको क्रान्ति भई नेपाललाई सामन्तवादी समाजबाट आधुनिक लोकतान्त्रिक समाजको बाटोमा अगाडि बढाउने महत्वपूर्ण भूमिका खेलेको थियो । यो क्रान्तिमार्फत नागरिक तथा राजनीतिक अधिकारहरूको प्राप्तिको सुरुआत र लोकतन्त्रको संस्थागत विकास हुँदै अघि बढेको भए तापनि अहिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार परिपूर्ति गर्ने जनअपेक्षा कति सम्बोधन हुन सक्यो त्यो मननीय छ ।

यस अवधिमा दलमा सुकिलामुकिला हावी भए, देशमा प्रजातान्त्रिक समाजवादको आदर्शतर्फ उन्मुख हुनुको सट्टा वर्गीय खाडल झन् बढ्दै गयो । राष्ट्रिय अर्थतन्त्र कमजोर भयो, मुलुक आर्थिकरूपमा परनिर्भर हुँदै गयो । झण्डै एकतिहाइ युवाहरू वैदेशिक रोजगारीको नाममा विदेशिन बाध्य भएका छन् । अर्कातर्फ नेपालको साम्यवादी आन्दोलनको प्रतिनिधित्व गर्ने थुप्रै दलहरूको उदय भयो । उनीहरूले ‘केही समय क्रान्ति गर्ने, क्रान्ति पूरा हुन्छ ! सामूहिक स्वामित्व स्थापित हुन्छ ! वर्ग उन्मूलन हुन्छ ! धनी र गरिब, चुस्ने र चुसिने रहँदैनन् ! अमुक देशको जस्तै विकास हुन्छ जहाँ सुखै सुख हुन्छ दुःखको त नामोनिसाना रहन्न !’ भनी देखाएको सपना मूलतः यो पुस्तामा भत्किएको छ ।

हिजो कम्युनिष्ट बन्नु भनेको त्यो स्वर्णीम सपनाका निम्ति आफूलाई होम्नु थियो तर अहिलेको साम्यवादी नेतृत्व र अनुयायीहरूको पुस्ता यही व्यवस्था भित्रबाट प्राप्त हुने क्षणिक लाभ र निजी स्वार्थका लागि अनुबन्धित हुने प्रवृत्ति बढेको छ । यसरी राजाको सक्रिय नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्था पछि आधिकांश समय राज्यसत्ता सञ्चालनको केन्द्रमा रहेका नेपाली कांग्रेस र कम्युनिष्ट दलहरूले सामयिक रूपमा आफूमा रूपान्तरण गर्दै जनआकाङ्क्षाको सम्बोधन गर्न नसक्दा वितृष्णा स्वरूप स्वतन्त्रका नाममा नयाँ विकल्पको खोजी गर्न थालेका हुन् नयाँ पिँढीले ।

प्रजातन्त्र वा लोकतन्त्रका नाममा निजी रूपमा प्राप्त गरिनुपर्ने पद, प्रतिष्ठा, शक्ति, सम्पत्ति जस्ता पक्षहरूमा केन्द्रित भएको छ । झापा सशस्त्र विद्रोहदेखि माओवादी जनयुद्धसम्म आइपुग्दा साम्यवादले देखाएको सपनाबाट समेत वितृष्णा जागेका युवा पुस्ता हरेक ढङ्गबाट विकल्पको खोजीमा छ । उनीहरू दल भित्र र बाहिर दुवैतिर विकल्पको खोजीमा छन् । दल बाहिर गएर, दलको प्रभावबाट मुक्त भएर विकल्प खोज्ने क्रममा उनीहरू स्वतन्त्र बन्न पुगेका छन् ।

जतिबेला दलहरूले अधिकांश युवाहरूको मनोभावनाको प्रतिनिधित्व गर्न सकेका थिए त्यतिबेला स्वतन्त्र व्यक्ति र अभियानहरू नगन्य मात्रामा थिए । अहिले आएर स्वतन्त्र अभियानमा मात्रात्मक र गुणात्मक वृद्धि हुनु र राजनीतिमा झण्डै एक तिहाइ बढी युवाहरू दलहरूको विकल्पको रूपमा आफूलाई स्वतन्त्र उम्मेदवारका रूपमा खडा गर्नु भनेको दलहरू प्रति युवा पिँढीमा जागेको वितृष्णाको सूचक हो ।

परम्परागत ठूला दलहरूले अझै पनि ब्रह्म ज्ञानी मानसिकताबाट बाहिर निस्किएर समस्याको जरो र समाधानको उपाय दुबै नै समाजमा छन् भनेर समस्याका वस्तुगत आधारहरूको पहिचान गरी विरक्तिएको युवा समुदायलाई स्वतन्त्र हुनबाट जोगाउन (रिटेन गर्ने) सक्षम भएमा स्वतन्त्र अभियानको पारो ह्वात्तै तल झर्न सक्छ । अमेरिका, बेलायत, चीन, लगायतका देशहरूमा रहेका पुराना दलहरूले शताब्दीयौं पार गर्नु भनेको निरन्तररूपमा आफूलाई परिमार्जन गरेर मात्र त्यति लामो आयु बनाउन सक्षम भएका हुन् । यदि परिमार्जन गर्न नसकेमा द्वन्द्ववादको नियम अनुसार हरेक पुरानाहरू नयाँबाट निषेध हुनु भन्ने उनीहरूको भाग्यमा लेखिएको हुन्छ ।

राजनीतिक बेथिति र स्वतन्त्रको उदय

दलहरू दलाल पुँजीवादको पक्षपोषक हुँदै जाँदा राष्ट्रिय पुँजीको विकासको बाटोबाट विमुख मात्र भएनन् फलतः उनीहरू जनसरोकार र जनआकांक्षाबाट विमुख र टाढा हुँदै गए । मानवद्वारा मानवमाथि हुने शोषण र उत्पीडनको चपेटामा पारिएका वा कुनै व्यक्ति र वर्गको हातमा थुप्रँदो अतिरिक्त मूल्य र मुनाफाका कारण कमजोर बन्न पुगेका नागरिकको आधारभूत आवश्यकता पूर्ति गर्न दलहरू असमर्थ भए ।

दलहरूले परिवारका सदस्य र आफन्तलाई मात्र टिकट दिएनन् उनीहरूले पैसामा टिकट बिक्री गर्न थाले । दल सञ्चालनका लागि पैसाको आवश्यकता पर्छ भन्ने तर्कका आधारमा राजनीतिक विचारधारा, सिद्धान्त र दृष्टिकोण नमिल्ने व्यक्तिलाई दलको नेतृत्वदायी पदमा स्थान दिन थाले । यो कारणले गर्दा सिद्धान्तनिष्ठ, प्रतिवद्ध र त्यागी कार्यकर्ताहरू पाखा पारिइन थाले । दलहरूको घोषित सिद्धान्त र नीति विपरीतको गठबन्धन बनाउन थाले ।

यस्तो गठबन्धनका कारण कतिपय ठाउँमा उम्दा सम्भावना भएका कार्यकर्ताहरू जसले आफ्नो सिंगो जीवन दलमा होमेर संसदीय राजनीति मार्फत निर्वाचित भएर केही गर्ने सपना देखेका थिए उनीहरूका ठाउँमा गठबन्धनको तर्फबाट बेग्लै व्यक्तिले टिकट पाएको अवस्थामा कार्यकर्ताहरू निरास मात्र बनेनन् कतिपयले त दल त्याग गरेर आफूलाई स्वतन्त्र घोषित समेत गरे । कतिपय स्थानमा यस्ता व्यक्तिहरूले आफूलाई विद्रोही स्वतन्त्र उमेदवारका रूपमा खडा गरे ।

अर्कोतर्फ दशकौंदेखि आफूले प्रतिद्वन्द्वी करार गरेको दलको चुनाव चिह्नमा भोट माग्नु र त्यहाँ भोट हाल्नुपर्ने गरी गरिएका गठबन्धनहरूले जनताले दललाई हेर्न बनाएको परम्परागत दृष्टिकोण तोडिन पुगेको छ । ‘प्रेम र युद्धमा हरेक थोक जायज हुन्छ’ भनेझैँ निर्वाचनमा पनि धेरै भोट पाउन गरिने ‘सबै हर्कतहरू जायज हुन्’ भन्ने मान्यताले एकातर्फ कार्यकर्तामा वितृष्णा पैदा हुन पुग्यो भने अर्कातर्फ अन्तरदल सम्बन्धको समीकरणमा पनि परिवर्तन ल्यायो ।

जब दलका नेताहरू सिद्धान्त र नीति विपरीत गएर कोहीसँग सहकार्य र गठबन्धन गर्न पुग्छन् भने उक्त दलप्रति केही सकारात्मक दृष्टिकोण राख्दै आएको कार्यकर्ताको पङ्क्ति विस्तारै उक्त दलसँग नजिकिने र सो क्रममा आफ्नो मातृदलबाट अलगथलग हुँदै स्वतन्त्र हुने प्रक्रिया बढ्दै गएको छ । अर्थात् एक खाले कार्यकर्ताहरू प्रतिद्वन्द्वी दलसँगको सहकार्यबाट बिरक्तिएर स्वतन्त्र हुने प्रक्रियामा छन् भने अर्कोखाले कार्यकर्ताहरू परम्परागतरूपमा प्रतिद्वन्द्वी करार गरिएका दलप्रति सकारात्मक हुँदै आफ्नो दलसँग बिरक्तिएर स्वतन्त्र हुने क्रममा पुगेका छन् ।

अर्को पक्ष के रहेको छ भने दल बाहिरमात्र हैन स्वयम् दलभित्रै पनि स्वतन्त्रताको माहोल सिर्जना भएको छ । यो अर्थतन्त्रमा आएको विविधिकरण र कार्यकर्ताहरूको बढ्दो आर्थिक सामर्थ्यको परिणाम पनि हो । यहाँ दलबाट बिरक्तिनेहरूको निगमनात्मक र दलहरूमा प्रवेश नगरी बाहिरबाट व्यक्तिगत तवरले राजनीतिमा आउने चाहिँ आगमनात्मक स्वतन्त्रता हो ।

राजनीतिक दल र जीवनचक्र

गहिरिएर हेर्दा भौतिक प्रकृतिमा कुनै पनि वस्तुको उत्पत्ति, सोको वृद्धि विकास र विनाशको चक्र चलिरहे झैँ वर्गीय सङ्गठनको सर्वोच्च रूपमा देखापर्ने राजनीतिक दलहरूमा समेत यही नियम लागू हुन्छ । राजनीतिक दलहरू समाजका निश्चित आवश्यकता परिपूर्तिका लागि गठन गरिएका हुन्छन् । जसरी धर्तीमा वनस्पति एवं जीवहरू देखा पर्दछन्, हुर्किन्छन् र माटाका पत्रहरूमा बिलाएर जान्छन् त्यसैगरी कतिपय दृष्टिकोण र विचारधाराहरू जन्मन्छन् र मानिसलाई प्रभावित गर्दै हराएर जान्छन् ।

यस्ता दृष्टिकोण र विचारधाराहरू नत सर्वकालिक हुन्छन् नत सर्वग्राह्य नै हुन्छन् । जडीभूत, जीवन र मानव संस्कृतिका बहुआयामिक स्वरूपहरू सबै नै उद्भव, उत्थान, उत्कर्ष, चरमोत्कर्ष, अवसान र पतनको कालचक्रबाट गुज्रने गर्दछन् चाहे त्यो मानिस, सामाजिक संगठन वा राजनीतिक दल नै किन नहोस् । यसै चक्रको नियम बमोजिम पुराना संगठन वा दलहरू हराउँछन् भने नयाँको अभ्युदय भएको हुन्छ ।

जसरी सूर्य उदाउँदा कलिलो, मध्याह्नमा प्रचण्ड रापिलो र अस्तय कालमा मलिन बन्दै गएको हुन्छ त्यसैगरी मानिस पनि बाल्यकालमा कलिलो, यौवन र वयस्क अवस्थामा बलियो अनि वृद्धावस्थामा शिथिल भएको हुन्छ । ठीक यसैगरी राजनीतिक दल वा सङ्गठनहरूको पनि उमेर हुने गर्दछ । प्रायः एउटा कालखण्ड र निश्चित स्थानमा स्थापित भएको राजनीतिक दल पनि मानिसको उमेरझैँ स्थापनाकालमा कलिलो, केही समयपछि परिपक्व र प्रौढतातर्फ जाँदै अन्तमा समाजका समस्याहरूको पहिचान र समाधानका लागि असक्षम र अयोग्य बन्दछ र अन्तमा प्रयोजनहीन भएर सोको मृत्यु हुने गर्दछ ।

उता नवोदित व्यक्ति र शक्तिलाई पुराना र यथास्थितिवादी शक्तिहरूले अनेक शब्दावलीबाट विभूषण गरी आरोप लगाउने गर्दछन् । जतिबेला उनीहरू पनि एक नयाँ स्वतन्त्र व्यक्ति र समूहको छवि निर्माण गरेर आइरहेका थिए त्यतिबेला उनीहरू माथि पनि यही प्रकारका लाञ्छनाहरू लाग्ने गर्दथे । पुराना शक्तिको प्रभावक्षेत्र भित्र रहेका व्यक्ति र शक्तिमध्येको एउटा सानो हिस्सा यस्तो आरोपबाट प्रभावित भई नयाँ शक्तिप्रति विमुख हुने पनि गर्दछन् तर इतिहासको समयलाई उल्टो दिशामा घुमाउन सकिदैन । साँच्चिकै आफूलाई परिमार्जन र परिष्करण गर्न नसक्ने दलको भाग्यमा ढिलो चाँडो उसको पतन नै लेखिएको हुन्छ ।

प्रकृतिको नियम बमोजिम जीवन चक्रमा आइपरेको बुढेसकाल के ले टार्न सक्ला र ? जुन दल जनताको समस्या समाधान गर्न योग्य रहँदैन त्यसले राज्यसत्ताको सपना देख्नु सेतेको सातु सपना जस्तो मात्र हुन पुग्छ । तसर्थ नयाँ व्यक्ति, अभियान र दलहरूको उदय समाजमा आएको उत्पादन पद्धति, उत्पादन सम्बन्ध, नवीन प्रविधिमा आएको परिवर्तन र समाजमा देखापरेका नयाँ अन्तरविरोध र समस्याको अभिव्यक्ति पनि हो । कतिपय स्वतन्त्र व्यक्ति र अभियान भने मनोगत आग्रहबाट प्रेरित रहेको खण्डमा यस्तो प्रयास अक्सर अस्थायी, क्षणिक र अव्यवहारिक भई आफैँ लोप भएर पनि जाने गर्दछ ।

निष्कर्ष

गत स्थानीय तहको निर्वाचनदेखि आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा देखापरेका स्वतन्त्र व्यक्ति, स्वतन्त्र अभियान र केही स्वतन्त्र अभियानसँग जोडिएका दलहरू मूलतः पुँजीवादी अर्थव्यवस्थामा आएको परिवर्तन र विविधीकरणको आधारबाट उत्पन्न त्यसको आध्येय वा अधिरचना (सुपरस्ट्रक्चर) हुन् ।

उनीहरू विगत केही दशक यता मुलुकमा स्थापित बन्न पुगेका कांग्रेस र कम्युनिष्ट जस्ता वर्चस्वधारी राजनीतिक दलहरूले गुमाउँदै गएको जनाधारबाट आफ्नो स्थान (स्पेस) बनाउने क्रममा देखापरेका हुन् । मूलधारका यी ठूला राजनीतिक दलहरूले आफूलाई परिमार्जन र रूपान्तरण गर्न नसकेमा स्वतन्त्र अभियान अझ तीब्र हुँदै आगामी निर्वाचनका क्रममा ‘स्वतन्त्रहरू’ को उपस्थिति अझ बढ्दो सङ्ख्यामा हुने र त्यसै क्रममा नयाँ राजनीतिक धारको उदय हुने सम्भावनालाई नकार्न सकिन्न ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

धेरै पढिएको


नेपालमा साम्यवादी आन्दोलनको प्रतिनिधित्व गर्ने थुप्रै दलहरूको उदय भयो । उनीहरूले ‘केही समय क्रान्ति गर्ने, क्रान्ति पूरा हुन्छ ! सामूहिक स्वामित्व स्थापित हुन्छ ! वर्ग उन्मूलन हुन्छ ! धनी र गरिब, चुस्ने र चुसिने रहँदैनन् ! अमुक देशको जस्तै विकास हुन्छ जहाँ सुखै सुख हुन्छ दुःखको त नामोनिसाना रहन्न !’ भनी देखाएको सपना मूलतः यो पुस्तामा भत्किएको छ ।