बाँकेमा तीन लाख ३२ हजार २३१ मतदाता

बाँकेमा कूल तीन लाख ३२ हजार २३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार ३६९ महिला र एक लाख ६८ हजार ८५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताइन् ।

उनका अनुसार अन्य मतदाताको सङ्ख्या नौ रहेको छ । बाँके जिल्लामा प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् ।

प्रदेशसभा क्षेत्र नं १ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नं वडा पर्दछन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख २१ हजार १०० मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार ८४५ र प्रदेश १ (ख) मा ६५ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका २१ वडा (वडा नं १६ र १७ बाहेक) पर्दछन् । यसैगरी प्रदेशसभा क्षेत्र नं २ (क) मा डुडुवा गाउँपालिका र नेपालगन्जका वडा नं १३, १८, १९, २०, २१, २२ र २३ पर्दछन् ।

प्रदेशसभा २ (ख) मा नेपालगन्जका १ देखि १२ तथा १४ र १५ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं २ मा ९७ हजार ८०९ मतदाता छन् । प्रदेश २ (क) मा ५० हजार ३१३ र २ (ख) मा ४७ हजार ४९६ मतदाता रहेका निर्वाचन कार्यालय प्रमुख पन्तले बताइन् । प्रतिनिधिसभा क्षेत्र नं ३ मा बैजनाथ, खजुरा र जानकी गाउँपालिका पर्दछन् ।

प्रदेशसभा ३ (क) मा बैजनाथ गाउँपालिका र खजुराका ५, ६, ७ र ८ नं वडा समेटिएका छन् । यस्तै ३ (ख) मा जानकी गाउँपालिका, खजुराका एकदेखि ४ नम्बर वडा र नेपालगन्जका १६ र १७ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं ३ मा एक लाख १३ हजार ३२२ मतदाता छन् भने प्रदेश क्षेत्र नं ३ (क) मा ६१ हजार ५९६ र ३ (ख) मा ५१ हजार ७२६ मतदाता छन् ।

प्रतिक्रिया

धेरै पढिएको