चाडपर्वमा पनि सञ्चालनमा आएन चौरजहारी विमानस्थल

दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यसपटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् ।

चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताए ।

तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दशँैतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वास पाएको उनले जानकारी दिए । तर, विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको उनको भनाइ छ ।

स्थानीय खिमप्रसाद जैसीले विमानस्थल बेवारिसेजस्तै भएको बताउनुभयो । चाडपर्वका बेला सडक यातायातमा जोखिमपूर्ण यात्रा गर्दै आउने सर्वसाधारणहरू जहाजको सुविधा लिनबाट वञ्चित भएका छन् । ‘न गतिलो सडक बनेको छ, न त भएको एयरपोर्टमा जहाज आउँछ,’ जैसीले भने, ‘राज्यको ठूलो सम्पत्ति खेर गइरहेको छ, जनताले कष्ट भोगिरहेका छन् ।’

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । तर, विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम झनै कम भएको छ ।

पछिल्लो पटक यो विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन् । यता आर्थिक वर्ष २०७९–०८० को वार्षिक बजेटमा सरकारले विमानस्थल स्तरोन्नति गर्ने बजेट भने छुट्याएको छ । विमानस्थल अझै विस्तार गर्ने भन्दै सरकारले बजेट विनियोजन गरेको हो । देशका विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको