अभिमत

ट्विटरमाथि इलोन मस्कको नियन्त्रण खतरानाक

अन्तरिक्षमा मस्कका करिब तीन हजार स्याटलाइट छन् । तर, मस्क औद्योगिक युगका महाजनहरुभन्दा ज्यादा शक्तिशाली र खतरनाक छन् ।

इलोन मस्क ट्विटरका मैमत्त मालिक बनिसकेका छन् । यहाँनेर खतरनाक कुरो हाम्रो माझमा एक दुष्ट अर्बपति हुनु होइन । यस्तो हिजो पनि भएको थियो, भोलि पनि हुनेछ । खतरनाक कुरा के हो भने मस्कले नै भनेको हाम्रो ‘डिजिटल चौतारी’ अब यी अर्बपतिको नियन्त्रणमा हुनेछ । २१ औँ शताब्दीको प्रविधिमा आधारित चरम पुँजीवादको अनुहार हुन् मस्क ।

जसरी अमेरिकामा रेलमार्ग बनाउने व्यापारीहरु र सो रेलमार्ग तथा आधुनिक सहर निर्माताहरुलाई स्टिल आपूर्ति गर्ने एन्ड्रयु कार्नेगीले १९ औँ र २० औँ शताब्दीको विस्तृत औद्योगिक पुँजीवादको प्रतिनिधित्व गर्थे । मस्कले तीव्र गतिमा विघटन भइरहेको नियमनकारी राज्य संयन्त्रका बीचमा उदाउँदो अवसरको फाइदा उठाएका छन् । उनले लगानीकर्ताहरुको एउटा सानो फौज र लबिइस्ट, वकिल तथा प्रशंसकहरुको एउटा जत्था जुटाएका छन् ।

उनले आफूलाई प्रविधिमा प्रतिभावान त्यस्ता व्यक्तिका रुपमा उभ्याउन खोजिरहेका छन्, जसले नियम तोड्न सक्छ, आफ्ना लागि काम गर्नेहरुलाई शोषण गर्न र निचोर्न सक्छ, अवरोध गर्न खोज्नेहरुलाई उपहास गर्न सक्छ र आफ्नो सम्पत्तिलाई मनलाग्दी ढंगले खर्च गर्न सक्छ किनभने त्यसले मानवतालाई फाइदा गर्छ । आफ्नो विद्युतीय कारका माध्यमले उनले यो ग्रहको उद्धार गर्नेछन् र स्याटलाइट प्रणालीका माध्यमले युक्रेनको रक्षा गर्नेछन् ।

तर, यी असल कर्म गर्न उनलाई सरकारी हस्तक्षेपबाट उन्मुक्ति दिइनैपर्छ । दुई शताब्दीभन्दा लामो समयदेखि मस्कजस्ता अमेरिकी महाजनहरुले सरकारसँग मिलेर अमेरिकाको अर्थतन्त्र र दैनिक जीवनलाई बदलेका छन् (र, आफूलाई अझ धनी बनाएका छन्) । उनीहरुले सरकारबाट विशाल अनुदान र संरक्षण प्राप्त गरेका छन् । अर्कोतिर, व्यवसाय आफूखुसी सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग हुन्छ ।

रेलमार्ग निर्माताहरुले सरकारले उपलब्ध गराएको जमिनमा लिक ओछ्याए र त्यसवापत हरेक माइलको हिसाबले सरकारी अनुदान कुम्ल्याए । यसरी उनीहरुले सम्पत्ति जम्मा गरे । कार्नेगी र स्टिल व्यापारीहरुले रिपब्लिकन सांसदहरु र राष्ट्रपतिहरु चुने । जो विदेशी प्रतिस्पर्धीहरुमाथि कर थोपरेर तिनको कम्पनीको नाफाको रक्षा गरिदिन प्रतिबद्ध थिए । सरकारले मस्कको विद्युतीय कार निर्माता कम्पनी टेस्लालाई दिएको अर्बौं अनुदानको सहयोगमा उनले कम्पनीहरु विस्तार गरे, सम्पत्ति थुपारे ।

अमेरिकी अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष पुर्याउन नासाले दिएको ठेक्का, स्याटलाइट प्रक्षेपण तथा उच्च गतिको इन्टरनेट सेवामार्फत उनले अरु अर्बौं कमाए । अन्तरिक्षमा मस्कका करिब तीन हजार स्याटलाइट छन् । तर, मस्क औद्योगिक युगका महाजनहरुभन्दा ज्यादा शक्तिशाली र खतरनाक छन् । त्यसको कारण के हो भने उनी एक ट्विटका भरमा आफ्नो व्यवसाय र राजनीतिक सोचको प्रचार गर्न सक्छन् ।

‘मिम स्टक’, ‘डे ट्रेडिङ’ र कुसूचनाको यो युगमा सञ्चारमाध्यम र बजारका आयामहरुको गतिलो बुझाइका कारण उनी यस्तो तत्क्षणको सञ्चारको असरलाई अझ प्रभावकारी बनाउँछन् । अमेरिकी स्टिल उद्योग विस्तारको नेतृत्व गरेका कार्नेगीले आफ्ना कम्पनीहरुलाई निजी नै राखिरहे । किनभने उनी बाहिरी लगानीकर्ता, प्रभाव र बजारका सर्तहरुको पकडमा पर्न चाहँदैनथे । मस्कले भने त्यसको ठिक उल्टो काम गरेका छन् ।

मस्कको सम्पत्ति उनले बनाएका कारखाना, उनले बेच्ने उत्पादन वा उनले किनेको घरजग्गाबाट प्राप्त भएको होइन । बरु उनी टेस्ला, स्पेसएक्स, क्रिप्टोकरेन्सी कम्पनीहरु र ट्विटरमा रहेका अर्बौं डलरको सेयरका कारण धनी भएका हुन् । अगस्ट २०१८ मा मस्कले ट्विट गरे, म टेस्लाको सेयर प्रतिगोटा ४२० डलरका दरले किनेर कम्पनीलाई निजी बनाउने सोच्दैछु ।

अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले मस्कको ‘भ्रामक ट्विट’ले टेस्लाको सेयरको मूल्य ६ प्रतिशत बढेको बतायो । जसका कारण उनमाथि ठगीको आरोप लाग्यो । त्यसपछि उनी टेस्लाको अध्यक्षबाट हट्न राजी भए र उनले २ करोड डलर जरिबाना तिरे । टेस्लाले थप २ करोड डलर तिर्यो । केनेडी परिवारका पितामह जोसेफ पी केनेडी चलखेल गरेर सेयर मूल्य तलमाथि पार्न अत्यन्त निपुण थिए ।

तर, सो कमिसनको पहिलो अध्यक्ष भएपछि चलखेलकर्ताहरुलाई आफूखुसी गर्न दिने हो भने पुँजीवाद कहिल्यै पनि महामन्दीबाट तंग्रिन नसक्ने डर उनले व्यक्त गरेका थिए । केनेडीकै नेतृत्वमा सो कमिसनले सर्ट सेलिङ र इन्साइडर इन्फर्मेसनजस्ता कयौँ अभ्यासहरुलाई गैरकानुनी घोषित गरिदियो । जबकि तिनै अभ्यासको फाइदा उठाएर केनेडी धनी भएका थिए । मस्कलाई न त त्यस्तो डर छ, न संकोच ।

अप्रिलमा दि इकोनोमिस्टले जनाएअनुसार मस्क ‘लगानीका सामान्य नियम लागू हुँदैन भन्ने विचार प्रबद्र्धन गर्छन् । उनी नियामक तथा बोर्डजस्ता स्वच्छता कायम राख्नेहरुलाई प्रगतिको अवरोध भन्छन् ।’ सो कमिसनका अधिकारीहरुलाई मस्क ‘ती हरामी’ भनेर पुकार्छन् । मस्कले ट्विटरको स्वामित्व लिँदाको नतिजास्वरुप राजनीतिकसँगै आर्थिक व्यवधान पनि पैदा हुनेछ ।

डोनाल्ड ट्रम्पलाई ट्विटरमा फिर्ता ल्याउने घोषणा गरेर उनले राजनीतिक कुसूचना र मिथ्या सूचना नियन्त्रणको विरुद्धमा आफू रहेको संकेत गरेका छन् । उनले आफूलाई ‘कट्टर वाक् स्वतन्त्रता पक्षधर’ भनेका छन् । उनले अनेक पटक सेन्सरसिपको विरोध गर्ने स्पष्ट पारिसकेका छन् । त्यसैले ट्विटरका सामग्रीसम्बन्धी नियमलाई उनले खुकुलो बनाउने सम्भावना ज्यादा छ ।

मस्कको स्वामित्व र नियन्त्रणमा रहेको ट्विटरले वाक स्वतन्त्रताको नाममा तबसम्म मिथ्या सूचना र कुसूचना पोस्ट गर्न दिइरहनेछ, जबसम्म त्यसले मस्कका राजनीतिक विरोधीहरुलाई बद्नाम गरिरहनेछ र उनी तथा उनका आसेपासेको गुनगान गाउने तथा उनीहरुलाई धनी बनाउने काम गरिरहनेछ । यस्तो अपेक्षा राख्नु अब अनुचित छैन । ‘वाक् स्वतन्त्रता’ को सम्मान र संरक्षण गरिनैपर्छ, यसमा मस्क सही छन् ।

तर, जनता र एउटा राष्ट्रका रुपमा वाक स्वतन्त्रताले कहिले र कसरी स्पष्ट खतरा उत्पन्न गर्छ र त्यसलाई रोक्न सरकारले कानुन, नियमका माध्यमबाट कुनै बाटो खोज्न आवश्यक छ कि छैन भन्ने विषयमा सार्वजनिक रुपमा सहभागितामूलक बहस गर्ने बेला यही होइन र ? इलोन मस्क उनको र हाम्रो समयको उत्पादन हुन् ।

उनको प्रभावको विषयमा बहस र भर्त्सना गर्नुको सट्टा हामीले के कुरा बुझ्न जरुरी छ भने सञ्चारमाध्यमका अघिल्तिर अभिनय गरेजस्तो मस्क स्वनिर्मित प्रतिभाशाली व्यवसायी होइनन् । बरु, उनको सफलता करदाताको पैसाबाट खरिद गरिएको हो । र, सरकारी अधिकारीहरुले मस्क र अन्य अर्बपति व्यापारीहरुलाई हाम्रो अर्थतन्त्र र राजनीतिमा झनझन् बढी नियन्त्रण गर्न दिएर उनीहरुलाई बढावा दिएका छन् ।

 

(द न्युयोर्क टाइम्स)

प्रतिक्रिया

लोकप्रिय


मस्कको सम्पत्ति उनले बनाएका कारखाना, उनले बेच्ने उत्पादन वा उनले किनेको घरजग्गाबाट प्राप्त भएको होइन । बरु उनी टेस्ला, स्पेसएक्स, क्रिप्टोकरेन्सी कम्पनीहरु र ट्विटरमा रहेका अर्बौं डलरको सेयरका कारण धनी भएका हुन् ।