स्थानीय तह गरिबीको सूची

बाँकेमा ३० दशमलव एक प्रतिशत गरिबी, जानकीमा सबैभन्दा धेरै

जानकी गाउँपालिकामा सबैभन्दा धेरै कुल जनसङ्ख्याको करिब ४० प्रतिशत गरिबी छ ।

फाइल तस्वीर

बाँके जिल्लामा ३० दशमलव १ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र छ वटा गाउँपालिका छन् । ती सबै स्थानीय तह गरिबीको सूचीमा परेका हुन् ।

जानकी गाउँपालिकाको करिब आधा जनसङ्ख्या गरिबीको रेखामुनि छ । कुल ४६ हजार जनसङ्ख्या रहेको उक्त पालिकामा करिब ४० प्रतिशत गरिबी छ । गाउँपालिकाका सूचना अधिकारी शोभा कँडेलका अनुसार गाउँपालिकामा अनुमानित ३८ देखि ४० प्रतिशत गरिबी रहेको छ ।

यस्तै खजुरा गाउँपालिकाको गरिब घरपरिवार पहिचान सर्वेक्षण अनुसार एक हजार २७० जना गरिबीको रेखामुनि छन् । त्यहाँको कुल जनसङ्ख्या ५५ हजार छ । बैजनाथ गाउँपालिकामा हाल १८ प्रतिशत निरपेक्ष गरिबी छ ।

पञ्चवर्षीय आवधिक योजना अनुसार उक्त गाउँपालिकाको बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८ दशमलव ६ प्रतिशत छ । आवधिक योजनामा आर्थिक वर्ष २०८२–०८३ सम्म निरपेक्ष गरिबी पाँच प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यस्तै बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १० प्रतिशतमा झार्ने गाउँपालिकाको लक्ष्य छ । गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यका अनुसार आवधिक योजना अनुसार नै गाउँपालिका गरिबी घटाउने कार्यमा सक्रिय रूपमा लागिपरेको छ ।

स्थानीय सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत गरिबी निवारण गरेर रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम र बजेट विनियोजन गरेको उनले बताए । गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७७ अनुसार १५ देखि ५९ वर्षसम्मको सक्रिय जनसङ्ख्या ६१ प्रतिशत छ ।

१५ देखि ३९ वर्षसम्मका अति सक्रिय युवाको सङ्ख्या करिब ४९ प्रतिशत रहेको छ । उक्त गाउँपालिकामा ५६ दशमलव २६ प्रतिशत जमिन खेतीयोग्य छ । यस्तै, २०७५ सालमा गरिएको राप्तीसोनारी गाउँपालिकाको घरधुरी सर्वेक्षण अनुसार ५ दशमलव ६ प्रतिशत घरधुरी धेरै गरिब छन् भने ३७ दशमलव ८ प्रतिशत गरिब छन् ।

निम्न मध्यम वर्ग ३६ दशमलव १ प्रतिशत मध्यम वर्ग १७ दशमलव ८ प्रतिशत र उच्च मध्यम वर्ग १ दशमलव २ प्रतिशत जनसङ्ख्या रहेको छ । डुडुवा गाउँपालिका २६ प्रतिशत गरिबी रहेको छ ।

उक्त गाउँपालिकामा कृषि उत्पादन र आत्मनिर्भरताको अवस्था हेर्ने हो भने आठ हजार २७७ नागरिकलाई तीन महिनादेखि १२ महिनासम्म खान पुग्ने घरधुरी सर्वेक्षण २०७५ ले देखाएको छ । त्यसमध्ये तीन महिनासम्म खान पुग्ने घरधुरीको सङ्ख्या एक हजार ४४६ रहेको पालिकाका सूचना अधिकारी सञ्जय कर्णले बताए ।

उनका अनुसार चारदेखि छ महिना खान पुग्ने एक हजार ७९४ परिवार, सातदेखि नौ महिनासम्म खान पुग्ने एक हजार ७८५ परिवार र नौ महिनादेखि एक वर्षसम्म खान पुग्ने तीन हजार २२५ परिवार रहेका छन् । उक्त गाउँपालिकाको कुल जनसङ्ख्याको १७ दशमलव ८४ प्रतिशत नागरिक कृषि र पशुपालनमा निर्भर छन् ।

गाउँपालिकामा वार्षिक आम्दानी ५० हजारभन्दा कम गर्ने घरपरिवारको सङ्ख्या एक हजार २४९ रहेको छ । नरैनापुर गाउँपालिकाको जनसङ्ख्या ३४ हजार ९४२ छ । तीमध्ये महिला ४८ दशमलव ९८ र पुरुष ५१ दशमलव ६ प्रतिशत छन् । तीमध्ये ५३ दशमलव ११ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा सक्रिय छ ।

आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्याको प्रतिशत ४६ दशमलव ८९ प्रतिशत छ । रोजगारीको पर्याप्त व्यवस्था नहुनु पनि गरिबीको एउटा कारण भएको उक्त गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । बाँकेमा अपेक्षाअनुसार गरिबीको दर घट्न नसकेको पालिकाहरूले जनाएका छन् ।

जनसङ्ख्यादर वृद्धिसँगै गरिबीको दर घटाउन चुनौती भएको पालिकाहरूको भनाइ छ । गरिबीका कारण अधिकांश परिवारले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्न सकेका छैनन् भने पौष्टिक खानासमेत खान नसकेर विभिन्न रोगको सिकार बन्नुपरेको अधिकारकर्मी रवीन्द्रकुमार ज्ञवालीले बताए ।

ग्रामीण क्षेत्रका नागरिकलाई गरिबीका कारण राम्रोसँग खाना–लाउन नपाएर बिरामी भएपछि उपचारमा समेत समस्या भएको उनको भनाइ थियो । नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत छ ।

लुम्बिनी प्रदेशका १८ दशमलव २ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि छ । उक्त प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले २०८०–०८१ सम्म बहुआयामिक गरिबीको दरलाई १५ प्रतिशतभन्दा कममा ल्याउने लक्ष्य लिएको छ ।

 

– रासस

प्रतिक्रिया

लोकप्रिय


बाँकेमा अपेक्षाअनुसार गरिबीको दर घट्न नसकेको पालिकाहरूले जनाएका छन् । जनसङ्ख्यादर वृद्धिसँगै गरिबीको दर घटाउन चुनौती भएको पालिकाहरूको भनाइ छ ।