जीवन संघर्ष

गरिबीमा पिल्सिएका हर्क साम्पाङको भावुक जीवन कहानी !

एउटा भुँइमान्छेले ब्यालेटबाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यतिखेर देशैभरि भइरहेको छ ।

गत वैशाख १२ गते सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि एक भुँइमान्छे हर्क साम्पाङले उम्मेदवारी दर्ता गराउँदै गर्दा कसले पो सोचेको थियो होला र उनी नै बन्ने छन् धरानको भावी मेयर । तर निर्वाचनको अन्तिम मत परिणाम आउँदा झट्ट सुन्दा असामान्य लाग्ने नतिजा धरानले निकालेको छ ।

भुँइमान्छेको तहमा रहेर धरानबासीका हरेक समस्यामा नजिकबाट लड्दै भिड्दै आएका साम्पाङ अन्ततः धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भइसकेका छन् । साम्पाङले आफ्नो नामको पछाडि ‘एउटा क्रान्ति’ भन्ने शब्द जोडेर आफ्नो फेसबुक पेज बनाएका छन्, उनको जितले वास्तवमै एउटा क्रान्ति बोलेको छ ।

धरानको मेयरमा निर्वाचित हुने बित्तिकै साम्पाङले सामाजिक सञ्जालमा एउटा स्ट्याटसले लेख्दै विजय जुलुसमा आउँदा कसैलाई पनि खादा माला नल्याउनु भनेर अनुरोध गरे । त्यसो त उनले चुनावी अभियानभर खादा माला नकिन्नु, बरु त्यो पैसाले छोराछोरीलाई कापी कलम किन्नु भनेका थिए । यसबाट पनि उनको सोचाइको उचाइ कति छ भनेर नाप्न सकिन्छ ।

एकातिर नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतको गठबन्धन त अर्कोतिर एमालेको पनि छुट्टै फुर्तीका साथ निर्वाचनमा तामझामका साथ प्रतिस्पर्धा चलिरहेका बेला एक्लै चुनावी प्रसारमा हिँडेर, एक्लै पर्चा बाँडेर विजयी हुन उनका लागि चानचुने कुरा थिएन । त्यसैले होला अन्तिम मत परिणाम घोषणा हुँदा साम्पाङ भावविव्हल हुँदै आँखाभरी आँसुका धारा बगाए ।

जनताले दिएको भोट नै आफ्नो लागि सबैभन्दा ठुलो सम्मान भएको र त्यसका लागि आफू सदैव ऋणी हुने भन्दै शिरको टोपी भुँइमा राखेर एक भावुक स्ट्याटस उनले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । एउटा भुँइमान्छेले ब्यालेटबाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यतिखेर देशैभरि भइरहेको छ ।

धराने जनताको खानेपानी समस्या, भ्रष्टाचारविरुद्धको आन्दोलन लगायतका हरेक सामाजिक मुद्धाहरुमा अग्रमोर्चामा बसेर लडिरहने साम्पाङले यो सफलता भने चानचुने तरिकाले प्राप्त गरेका होइनन् । सबैतिरबाट अपहेलित र बहिस्कृत हुँदासमेत न्यायको लडाइँमा नलरखराएका उनका खुट्टाले यतिखेर बल्ल दरिलो आड पाएको छ ।

जनताको समस्या राख्ने ठाउँसम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिँड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरूको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरूले मिडियाका पाना रंगिएका छन् । यो दिनसम्म आइपुग्दा उनले भोगेको पीडा र दर्दका कथा भने निकै मन छुने छन् ।

सामान्य परिवारमा जन्मिएका साम्पाङले वैदेशिक रोजगारीका लागि इराक र अफगानस्थान पुगेर १० वर्ष पसिना बगाए । यी दुवै मुलुक नेपालीका लागि प्रतिबन्धित मुलुक हो । अत्यन्तै कष्टकर आर्थिक अवस्थाका कारण परिवार पाल्नैका लागि उनले ज्यानको बाजी नै लगाएर जोखिमपूर्ण मुलुकमा गएर काम गरेका थिए । फर्किएपछि निरन्तर धरानका जनताको दुखमा लड्दै आए ।

२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान–१८ बुद्ध चोकमा बस्छन् । लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए ।

उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन् । उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन् । उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन् । उनको आम्दानीको स्रोत त्यही हो । उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे ।

उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए । तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे । धरानका खोलानालामा ठेकेदारले जथाभाबी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए । त्यस बेला उनका केही साथी घाइतेसमेत भए ।

खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो । उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने । उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन् । उनले ४२२ मत मात्रै पाए । एमालेको लाल किल्ला भत्काएर पहिलो पटक काँग्रेसका तिलक राई मेयर बने । साम्पाङ फेरि सडकमै फर्किए । हाते माइक बोकेर भाषण गर्न थाले ।

त्यतिबेला पनि उनी एक्लै थिए । उनको एक्लो यात्रा वैशाख ३० को चुनाव अघिसम्म जारी थियो । अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौँको लर्को लाग्थ्यो । साम्पाङ भने थोरै साथीहरूसँग चोक चोकमा भाषण गर्दै हिँड्थे । दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान्छे ओसारिन्थे । साम्पाङको भाषण सुन्न न श्रोता हुन्थे न ताली ठोक्न समर्थक ।

श्रोताविहीन चोकमा एक्लै उभिएर आफ्ना कुरा राखिरहन्थे । बाइक जुलुस, आमसभा साम्पाङको बुताबाहिरको विषय थियो । ठुला दलका उम्मेदवारहरूले जुलुस र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो । सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारहरू ठुला सभा र जुलुसमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मतदाता भेट्दै घरघरै लुसुलुसु पसिरहेका हुन्थे ।

दलहरूका मञ्चमा कलाकारहरूको भीड लाग्थ्यो । साम्पाङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन । त्यसैले आफ्नै अटोमा जडित माइकमा गितार बजाएर उनी आफैँ गीत गाउँथे । भाषण आफैँ गर्थे । दलहरूका लागि चुनावी घोषणापत्र लेख्ने विज्ञहरूको टिम थियो । उनले आफ्नो प्रतिबद्धता पत्र आफैँ लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै ।

अन्ततः उनको विद्रोहको बोलीमा धराने जनताले पनि लोली मिसाइदिएका छन् र भारी मतान्तरले उनी आगामी पाँच वर्षका लागि धरानको मेयर बनेका छन् । उनीमाथि जनताले गरेका आशाको चुली जति छ, त्यति नै उनीमाथि चुनौतीको पहाड पनि अगाडी ठडिएको छ । आफूले खोजेको बाटोमा जनताले रोजेर पठाएपछि अर्को चुनौतीपूर्ण यात्राको सुरुवात साम्पाङले गर्दैछन् ।

मेयरका रूपमा राज्यले दिने तलब भत्ता लिने, तर त्यसभन्दा बढी एक रुपैयाँ पनि हिनामिना गरेको प्रमाणित गरेका एक हप्तामा राजीनामा दिएर कहिल्यै नफर्कने गरी धरान छोड्ने सार्वजनिक कसम खाएका साम्पाङको सफलता या असफलतालाई धरानले मात्रै होइन सिङ्गो मुलुकले नजिकबाट चिहाइरहेको छ ।