पोखरा महानगरको मतगणना दिउँसो २ बजेदेखि

पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । स्थानिय तहको निर्वाचन अन्तर्गत हिजो सम्पन्न पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना दिउँसो २ बजेदेखि हुन लागेको हो ।

आज बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो २ बजेबाट सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । सर्वदलीय बैठकले मतगणनाका लागि प्रतिनिधि पठाउने समय दिउँसो १२ः३० बजेसम्मको समयसीमा निर्धारण गरेको छ ।

त्यस्तै, वडा अनुसार मतपेटिका मिलाउने समय दिउँसो १ः३० बजेसम्म र मतगणनाका लागि प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने समय १ बजेसम्म तोकिएको छ । पोखरा महानगरपालिकाको हिजो सम्पन्न मतदानमा ६८.९५ प्रतिशत मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७१३ मतदाता रहेकोमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २२६ मत खसेको छ । जसमा पुरुष ६६ हजार ५६६ र महिला ७६ हजार ६२० मत खसेको छ ।