स्थानीय तह निर्वाचनमा उत्साह

मतदान गर्न अक्सिजन सिलिण्डर र स्टेचरमा पुगे मतदाता

स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रुपमा भइरहेको छ । वृद्धवृद्धा, अशक्तहरु पनि परिवारका सदस्यहरुको सहारामा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

बिहान ७ बज्नु अघिदेखि नै मतदाताहरु मतदान केन्द्र पुगेर लाइनमा बसेका थिए । ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

कोही अक्सिजन सिलिण्डरसहित, कोही ह्वीलचेयरमा र कोही बुइ चढेर मतदान गर्न आएका दृष्यहरु देखिएको छ । तनहुँको ब्यास नगरपालिका–८ मा स्टेचरमा बोकेर ल्याइएका ९९ वर्षीया विर्खसिं गुरुङको पनि मत खसेको छ ।

उनको साटो उनका छोरा नारायण गुरुङले गाविस भवन मतदान केन्द्र ‘ख’बाट मतदान गरिदिएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका अन्तर्गत भीमढुंगाको बालबोध मावि मतदान केन्द्रमा ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएकै अवस्थामा मतदान गर्न गएका छन् ।

उनलाई नाति नमराज तामाङले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए । अहिले काइँला तामाङकी पत्नी ८६ वर्षीया काइँली तामाङ पनि छोरा राम तामाङको साथ मतदानस्थल आइपुगेकी थिइन् ।

रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले थवाङ गाउँपालिका वडा नं.१ को मतदान केन्द्रबाट मतदान गरेकी छन् । पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्तीमगरकी आमा हुन् ।

हिँडडुल गर्न नसक्ने उनलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् । तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रबाट १०० वर्षका कृष्णप्रसाद पण्डितले मतदान गरेका छन् ।

१०० वर्षको उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै उनले भने, ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको छ ।’ उनले सबैको दीर्घायूको कामना पनि गरे । ‘सबैको आयु मेरो जस्तै होस्’, उनले भने, ‘सबैले मेरो उमेरमा मतदान गर्न पाउन् ।’

मुगुको खत्याड गाउँपालिका–८ का ९७ वर्षीय भुवासिङ थापाले एक घन्टा पैदल हिँडेर सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा आएर मतदान गरेका छन् । सम्भवतः उनी सो क्षेत्रका ज्येष्ठ नागरिक हुन् ।

यसैगरी रुपन्देहीको तिलोत्तमा–८ ज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट ८६ वर्षीय गंगाधर रिजालले पनि मतदान गरेका छन् । यो गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्ने केन्द्र हो । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् ।

वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन केही ढिला भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । मतदाताहरु छाता ओढेर मतदान केन्द्रसम्म पुगेका छन् । दोलखाको वैत्यश्वरमा मतदानको क्रममा तनावको स्थिति भएपछि मतदान रोकिएको छ ।

बाराको देवताल गाउँपालिका वडा ७ मा पनि मतदानका क्रममा झडप भएपछि मतदान रोकिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित नारायण मावि मतदान केन्द्रमा बिहानै दुईवटा शंकास्पद बस्तु भेटिएपछि मतदानमा ढिलाइ भएको छ ।

मतदानस्थलको गेट नजिक राखिएको शंकास्पद वस्तु वीरभद्रजंग गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । शंकास्पद वस्तु अरु पनि रहेकाले देखिएकाले मतदाताहरुलाई मतदान केन्द्र नजिक आउन दिइएको छैन ।

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । अन्य स्थानहरुमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।