प्रहरीका सईले रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुटे

सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् ।

पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) नरेन्द्रप्रसाद भट्टले बुधबार राति मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका हुन् ।

कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीषक राजेशनाथ बास्तोलाका अनुसार ती प्रहरी अधिकृतले मादकपदार्थ सेवन गरी मतदान केन्द्रमा पुगेर कुटपिट गरेका थिए । कुटपिटबाट केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू सामान्य घाइते छन् ।

निर्वाचनका बेला प्रहरी कर्मचारीबाटै अमानवीय व्यवहार भएकाले सई भट्टलाई कारबाहीको प्रक्रिया सुरू गरिएको एसएसपी बास्तोलाले बताए । सई भट्टलाई बिहीबार बिहान ३ बजेतिर प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।