विचार

केपी ओलीको गालीपुराण

ओलीको आनीबानी बोलीवचन देख्दा र सुन्दा उनको राजनीतिक दीक्षा नै एकदमै गलत किसिमले भएको थियो जस्तो लाग्छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेताहरूविरुद्ध अनर्गल शब्दवाण प्रहार गर्ने मामिलामा दिन–प्रतिदिन नयाँ नयाँ कीर्तिमान बनाउँदैछन् । ओलीले गर्ने गालीको सिकार नभएको नेपाली नेता भेट्टाउँन असम्भव नै नभए पनि निक्कै गाह्रो पर्न सक्दछ । ओली दिनैपिच्छे यो वा त्यो नेताको उच्छित्तो काटिदिन्छन् । ओलीको आनीबानी बोलीवचन देख्दा र सुन्दा उनको राजनीतिक दीक्षा नै एकदमै गलत किसिमले भएको थियो जस्तो लाग्छ ।

सारा जिन्दगी गैरवामपन्थीहरूलाई गाली गरेर बिताएका ओलीले सत्ताको गल्लीतिर चक्कर मार्न थालेपछि आफ्नै राजनीतिक गोत्यार कम्युनिस्ट नेताहरूलाई पनि आवश्यकता अनुसार सराप्न थाल्नुभएको हो । त्यस क्रममा वि. सं. २०७४ सालको संसदीय निर्वाचनमा हातेमालो गर्नुभन्दा दुई–चार दिन अघिसम्म ओली माओवादी केन्द्रका नेता प्रचण्डमाथि विषाक्त शब्दहरू खोजी खोजी गालीको पर्रा छुटाइरहेका थियो ।

ती दिनहरूमा केपीले प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्रप्रति लक्षित गरि छोडेका वाक्वाणका मिसाइलहरू संकलन गरि प्रकाशन गर्ने हो भने त्यसले उत्कृष्ट गाली–साहित्यको पदक पाउन सक्छ । केपी ओली पूर्वी नेपालको पहाडी भेगमा प्रचलित ठेट उखान–टुक्काको परिपाक मिलाएर आफूद्वारा गाली गरिने पात्रको मर्ममै गहिरो चोट लाग्ने गरि प्रहार गर्न साह्रै नै सिपालु छन् ।

तर ती व्यङ्ग्यवाणमा सहज संवेद्य हास्यचेतको लेस मात्र पनि नहुने र त्यसमा अमानवीय स्तरको रूखोपना व्याप्त हुने हुँदा ती व्यङ्ग्यहरू कुनै पनि रुचिसम्पन्न व्यक्तिका दृष्टिमा अशोभनीय प्रतीत हुन्छन् । व्यङ्ग्य–वक्रोक्तिमा पनि साहित्यका अरू विधाहरूमाजस्तै अतिशयोक्ति दोष लाग्छ । ओलीले गर्ने व्यङ्ग्य–वक्रोक्तिहरूमा पनि प्रायजसो अतिशयोक्ति दोष भेटिन्छ ।

त्यसैले ओलीको गाली–साहित्य उच्चस्तरीय व्यङ्ग्य रचनाको कोटीमा कहिल्यै पनि पुग्न सक्दैन । त्यसकारण ओलीको व्यङ्ग्यवाणले प्रशंसा भन्दा निन्दालाई नै बढी आमन्त्रण दिने गरेको देखिन्छ । ओलीले माओवादी नेता प्रचण्डमाथि गर्दै आएको गालीको वर्षा विक्रमको २०७४ सालमा भएको चुनावका बेलामा आएर केही समयका लागि रोकिएको थियो ।

त्यस साल प्रदेशसभा र संघीय संसदका लागि भएका चुनावहरूमा ओलीको एमाले र प्रचण्डको माओवादी केन्द्रका बीच चुनावी तालमेल मात्र भएको होइन केही समयपछि ती दुई दलको एकीकरण नै भएको थियो । त्यसपछि बाध्यतावशः हुनुपर्दछ, केपी ओलीले प्रचण्डविरुद्ध गर्दै आएको गालीगलौच केही समयका लागि रोकिएको थियो । ती दिनहरूमा ओलीको निशानामा फेरि एकपल्ट लोकतान्त्रिक कित्ताका दल र नेताहरू परेका थिए ।

अर्कोतिर प्रचण्डप्रति लक्ष्य गरेर नकारात्मक कुरा बोल्न बन्द गरेका ओलीले पहिले माओवादी नेताप्रति गरेको अपमानजनक व्यवहार र गालीको क्षतिपूर्ति गर्नझैँ केही दिन अघिसम्म तिनलाई गाली गर्दा देखाउने गरेको कुटिल शब्द–कौशल अब तिनैको प्रशंसा गर्नमा देखाउन थाले । वास्तवमा ती दुवै नेताले केही समय अघिसम्म एक अर्काविरुद्ध प्रयोग गरेका निम्नस्तरका गालीका शब्दहरू बिर्सिन नसकेका नेपालीहरूलाई भने ओलीले मारेको पुल्टुङ्बाजीले चकित र विष्मित बनाइदिएको थियो ।

नेताहरूले प्रदर्शन गरेको निर्लज्ज छेपारे प्रवृत्ति देखेपछि नेपाली जनताले राजनीति र वेश्यावृत्तिमा खासै ठूलो अन्तर हुँदो रहेनछ भन्ने तत्वबोध गरेका थिए । ती दुई कम्युनिस्ट नेताहरू, अझ विशेषगरी केपी ओलीको स्वभावमा सत्ता–लिप्साका कारण आएको त्यो सकारात्मक परिवर्तन धेरै समय टिक्न भने सकेन ।

मित्र होस् कि शत्रु सदा–सर्वदा सबैलाई होच्याउँदै आएका ती झापाली नेताको धारिलो छुराजस्तो जिभ्रोबाट कसैप्रति लक्षित प्रशंसाका शब्दहरू निस्किएको त्यो अस्वाभाविक स्थितिको चाँडै अन्त्य हुनुमा सायद नियतिकै भूमिका थियो । जन्मजात दुर्गुणको रूपमा अँठ्याएर राखेका अहंकार र अतिमहत्वाकांक्षा जस्ता नकारात्मक संवेगको भेलले ओलीलाई यसरी हुत्याइदियो की आफूबाहेक अरू कुनै नेताको अस्तित्व स्वीकार नै गर्न सकेका छैन ओलीजीले ।

त्यही अहंकारको नशामा चूर ओलीले प्रतिनिधिसभाको चुनावमा पार्टीले ल्याएको बलियो बहुमतलाई आफ्नो वैयक्तिक उपलब्धि ठाने र पार्टीभित्र सुदृढ गराउँदै लैजानुपर्ने समन्वय, सहकार्य र सद्भावको संस्कृतिको धज्जी उडाइदिए । नेपालको राजनीतिक इतिहासमै पहिलो पल्ट पूर्ण बहुमतका साथ प्रधानमन्त्री बनेका कम्युनिस्ट नेता केपी ओलीको अधपतन त्यही विन्दुबाट शुरू भएको थियो ।

नेपाली जनताले २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा व्यक्ति केपी ओलीलाई निरंकुश शासक बन्ने अख्तियारी दिएको होइन नेपाल कम्युनिस्ट पार्टीलाई देशमा सुशासन कायम गर्ने शर्तमा सत्ताको लगाम थमाइदिएका हुन् भन्ने कुराको ओलीले हेक्का राख्न सकेनन् । अन्तर्यमा निरंकुश तानाशाह बन्ने दुराशय भएका व्यक्ति भएकाले ओलीले आफूलाई पार्टीभन्दा माथि राखे ।

सत्ताको मातका कारण ओलीले पार्टी एकीकरणका बेलामा प्रचण्डसामु गरेका वाचाबन्धनको इमानदारीका साथ पालना गर्नुपर्ने कर्तव्यको पनि पटक्कै हेक्का राख्नु भएन । त्यतिबेला भएका सहमतिहरूमा मुख्य थियोः संसदको पाँच वर्षे अवधिमा ओली र प्रचण्डले आधा आधा समय आलोपालो गरि सत्ता सम्हाल्ने । त्यस सहमति अनुसार पहिलो पालोमा प्रधानमन्त्री बनेका ओलीले अढाइ वर्ष बितेपछि प्रचण्डलाई पालो दिनुपर्नेमा प्रधानमन्त्रीको कुर्सी त्याग्न ठाडै इन्कार गरिदिए ।

त्यतिमात्र होइन ओलीले प्रचण्डलाई, पहिलेको एमालेका वरिष्ठ नेताहरूलाई र संसदीय प्रणालीको सुसञ्चालनमा अहम् भूमिका हुने प्रतिपक्ष सबैलाई पेल्दै लाने नीति लिए । त्यसले गर्दा उहाँको पार्टीमा त आन्तरिक खिचलो शुरू भयो नै समग्र देशकै राजनीतिक वातावरण पनि नराम्रोसँग खज्मजियो ।

केपी ओलीले गर्दै आएको गालीको सबैभन्दा पछिल्लो संस्करण सुन्दा प्रष्ट हुन्छ । उनले आफ्नो मर्मभेदी शब्दवाणको पहिलो निशानामा कुनैबेला आफ्नै नेता रहिसकेका र हाल एकीकृत समाजवादी पार्टीका प्रमुख माधवकुमार नेपाललाई राखेका छन् । आफूलाई पदच्युत गराउने अभियानको सफलतापूर्वक नेतृत्व गरेका व्यक्ति भएकाले माधव नेपालविरुद्ध ओलीको आक्रोशलाई केही हदसम्म जायज मान्न सकिन्छ ।

तर त्यो आक्रोश व्यक्त गर्ने क्रममा ओलीले के भने, कस्ता शब्दहरू प्रयोग गरे भन्ने कुराको विश्लेषण गर्ने हो भने चाहिँ केपी ओली विरोधीहरूलाई खुइल्याउने प्रयत्नमा न्यूनतम मानवीय मर्यादाको समेत ख्याल नराख्ने घटिया मानिस पो हो की भन्नैपर्ने देखिन्छ । केही दिन अघि एउटा चुनावी सभामा बोल्दै केपी ओलीले भने, म जति पटक माधवकुमार नेपालको नाम लिन्छु त्यति नै पटक तातोपानीले कुल्ला गरेर मुखशुद्धि गर्छु !

१५ वर्षसम्म आफ्नो पार्टीको प्रमुख रहिसकेको, लामो समयसम्म सहकार्य गरेको देशको पूर्वप्रधानमन्त्रीप्रति त्यस हदसम्मको घृणा सार्वजनिक गर्नसक्ने व्यक्तिलाई के भन्ने ? ओलीको यो बयान अराजनीतिक त छँदैछ घोर अमानवीय र असभ्य पनि छ । यसले आफ्नै ढीटता र दानवी अहंकारका कारण पदच्युत हुन पुगेका पूर्वप्रधानमन्त्री ओलीको हृदयमा घृणा, क्रुरता, परपीडकता र द्वैषको क्लेशपूर्ण फोहोरी लेदोबाहेक केही पनि छैन भन्ने कुरालाई प्रमाणित गर्दछ । कुनै पनि नेताको राजनीतिक जीवनमा राम्रा नराम्रा दुवै किसिमका दिन आउँछन् ।

पद प्राप्त हुन्छ र गुम्छ पनि । खूबै भर मानेको साथीले धोका दिन सक्छ र नपत्याएको ठाउँबाट सहयोगको सम्बल मिल्न पनि सक्छ । राजनीतिमा हार–जीत भइरहन्छ । यी सब भविताका बीच पनि एक नेताले मानवीय शिष्टताको एउटा निश्चित स्तरबाट आफूलाई कहिल्यै पनि र कुनै पनि हालतमा ओराल्नुहुँदैन । यो अत्यन्त मूल्यवान कुराको हेक्का राख्न नसकेमा त्यो नेता केपी शर्मा ओलीको तहमा ओर्लिनेछ । त्यहाँ पुगेपछि त्यसभन्दा तल जाने ठाउँ भने भेटिने छैन ।

आइएनएस–स्वतन्त्र समाचार