मेरो डायरी

पानीमा पनि राजनीति !

अब नेपालमा खाद्य र पानीको संकट मौलाउँछ । खाने मुख बढेको बढ्यै छ तर सिँचाइको अभावमा जमिनहरु बाझैं छन् । अब केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन्छ ।

जन्मेदेखि नमर्दासम्म हरेक प्राणीलाई पानीको आवश्यकता पर्दछ । मानिसदेखि लिएर चराचुरुङगी, जीवजन्तु, बोटविरुवा सबैलाई पानी चाहिन्छ नै । पानीबिना एकछिन पनि बस्न सकिँदैन । खेतीपातीका लागि पनि पानी नै चाहिन्छ । जहाँ सिचाइको व्यवस्था राम्रो हुन्छ त्यहाँ उब्जनी पनि राम्रो हुन्छ । तर, सिँचाइ नपुगेको खेत सुख्खा हुन्छ जसका कारण त्यहाँँ खेतीपाती गर्न असम्भव हुन्छ । तर, नेपालको खोलानाला, नदी, कोशी सबै हामी मानवका कारण दुर्गन्धित बनेको छ ।

हामी मानवहरु लापरवाह हुँदा खोलानालामा पानी होइन्, ढल र फोहोरका पोकाहरु बग्छन् । खोलानालालाई सदुपयोग नगर्दा पानीको हाहाकार भएको छ । बाटो र घर भन्दाभन्दै जमिनभित्रबाट मुल फुटेर निस्किने पानी पनि बन्द भइसकेको छ । यता, भएका ढुंगेधारा र कुवाहरुको पनि हामीले संरक्षण गरेनौं । पहिले ढुंगेधारा भएको ठाँउमा अहिले घर छ । बाँकी केही ढुंगेधाराबाट थोपो पनि पानी झर्दैन् । यसको प्रमुख दोषी पनि मानव नै हो । जनसंख्या प्रत्येक दिन बढ्दै गएको छ तर पानीको मुलहरु संरक्षणको विषयमा कसैले चासो दिँदैनन् । मानौं, घर र बाटो बनाउने लहर चलेको छ ।

वनजंगल फडानी गर्दै, चौतारा मास्दै, पानीको स्रोत बन्द गर्दै घर र बाटो बनाउनुको औचित्य के ? जसको कारण नेपालमा प्रदुषण ह्वात्तै बढेको छ । प्रदुषणका बढ्दा हिँउदमा पानी पर्छ, बर्खामा सुख्खा । यता, पानी पर्ने समय परिवर्तन भएको छ भने पानी पनि निकै कम पर्छ । खेतीपाती गर्ने समयमा पानी नपर्दा किसानहरु मारमा परेका छन् । उब्जनी कम भएकाले उनीहरु चिन्तित बनेका छन् । अर्कोतिर, भएका जमिनहरु पनि बाझै छन् । अव्यवस्थित तरिकाले बनेको घर र बाटोले विपद् निम्त्याएको छ । पानी पर्नेबित्तिकै विभिन्न क्षेत्र डुबानमा पर्नुको कारण यही हो ।

माटोले सोस्नुपर्ने पानी कसरी कंक्रिटले सोस्छ ? पानी नै छिर्न नपाएपछि डुबान पर्नु स्वाभाविकै पनि हो । आफु गरेको कुकर्मको फल आफैले भोग्नुपर्छ भनेको पनि यही नै हो । जमिनभित्र पानी जान नपाउँदा इनारहरु सुक्दै गए । कलहरुबाट पानीको थोपो पनि चुहिँदैन । पोखरी, ताल र आल पनि मासिँदै गएपछि पानी जम्ने ठाउँ कही पनि छैन । पशुपंक्षी र जीवजन्तुहरु प्यास मेट्ने धोको बोकेर हिडेका हुन्छन् । तिर्खा लाग्दा उनीहरु पानी खानैबाट वञ्चित छ । जग्गा माफियाहरुले ताल, आल र पोखरी अधिकरण गर्दा जीवजन्तुहरुले पानी खान पाएका छैनन् ।

सरकारले ऐनकानुन बनाउदा नसक्दा घर बनाउनेको संख्या ह्वात्तै बढेको छ । अस्तव्यस्त तरिकाले घर बनेको छ । जसको कारण पानीको हाहाकार भएको पाइन्छ । घर त बनाएको छ तर पानी छैन् । पानी नहुँदा भाडामा बस्नेहरुको जीवन कष्टकर बनेको छ । घरधनीले घरभाडामा ल्याएर मासिक भाडा बुझ्छ तर कोठामा बस्नेलाई पानी दिँदैन् । अहिले उपत्यकामा मेलम्चीको पानी आए पनि बहालमा बस्नेले पाएका छैनन् । बरु, घरधनीहरु सवारीसाधन धुन्छन्, तर बहालमा बस्नेलाई पिउने पानीसमेत थाप्न दिँदैनन् । जसको कारण कोठा बस्नेहरु मारमा परेका छन् । तर, यसको फाइदा पानी बेच्ने कम्पनीहरुले लिएका छन् ।

पानीमा समेत व्यापारीकरण सुरु भएको छ । पानी व्यापार रातमा चार गुणा र दिनमा दुई गुणाले फस्टाउँदै छ । खोलानाला फोहोर हुनु र जथाभावी घर र बाटो बन्नु जार र मिनरल वाटर कम्पनीहरुका लागि राम्रो कुरा हो । उनीहरुको व्यापार झनै बढ्दै जान्छ । अहिले एउटा मिनरल वाटरलाई २०–२५ रुपैंयाँ र जारलाई ५०–८० रुपैंयाँ लिन्छ । पानीको मूल्य पेट्रोल डिजेलभन्दा पनि मँहगो हुने देखिएको छ । खाना पकाउनदेखि नुहाउन, लुगा धुन, शौचालय जान हरेक कुरामा पानी चाहिन्छ । पानी भएन भने एक सेकेण्ड पनि बाँच्न सकिँदैन । तर, सरकारको कमीकमजोरी र लापरवाहीले आज पानीमा समेत व्यापार सुरु भयो ।

सरकारकै कारण जनता लुटिएका छन्, ठगिएका छन् । व्यापारीहरुले अस्वस्थकर पानी बेचेर कालोबजारी गरिरहेका छन् । खानयोग्य नभएको खोलाको पानी भरेर ल्याएर बेच्ने काम भइरहेको छ । ट्याकंरहरुले सिधै खोलाबाट पानी निकालेर ल्याएर बेच्छन् । स्वास्थ्यलाई हानी पुप्याउने पानी दुई–पाँच हजारसम्म तिरेर उपभोग गर्न उपत्यकावासी बाध्य छन् । दालचामल र तरकारी किन्दाभन्दा बढी खर्च पानी किन्दाखेरि हुने देखिएको छ । एकबोरा चामल ल्यायो भने एकमहिना धान्छ । तर, एक जार पानीले छिन पनि थेग्दैन् । पहिले पहिलेको खोलानाला प्रशस्तै थियो, पानी पनि सङ्लो हुन्थ्यो ।

त्यही गएर नुहाउथे, लुगा धुन्थे । तर, अहिले खोलानालामा पानी होइन्, ढल बग्छ कसरी नुहाउनु ? दुई जार पानी किनेर एउटा ज्यान नुहाउनुपर्ने अवस्था आएको छ । शौचालय जान पनि जारकै पानी किन्नुपर्ने बाध्यता आयो । हामी नेपालीहरु यति धनी भइसकेका छौं जारको पानी किनेर नुहाउन धुन ? जारको पानी किन्न नसक्ने व्यक्तिहरु अब ननुहाइकन बस्नुपर्ने बेला आएको छ । पानी तिर्खा लागे पनि पानी पिउने दिन गइसकेको छ । बुढापाखाले भन्थे, ‘पानी खान दियो भने धर्म हुन्छ ।’ बाटो हिडिरहेको बेलामा पानी तिर्खा लाग्यो भने माग्दाखेरि पाइदैन् । तिर्खा लागेको व्यक्तिलाई पानी दिने चलनचल्तीसमेत हराइसकेको छ । कि मिनरलवाटर किनेर प्यास मेटाउन सक्नुपर्यो ।

होइन्, भने यत्तिकै हिँड्नुपर्यो । पानी व्यापारीहरुले राज्य र जनतालाई पानी किन्न बाध्य बनाएको छ । पहिल्यै मँहगोको मारमा परेका जनतालाई झनै अप्ठ्यारोमा पार्ने काम खानेपानी मन्त्रालयले बनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले वाटर कम्पनीहरुसंग आर्थिक चलखेल गरेर पानीको मूल्य बढाइदिए । पानी व्यापारलाई बढावा दिन खानेपानी मन्त्रीले मूल्य बढाउने निर्णय गरेको बुझिएको छ । उनी पनि जनताप्रति होइन व्यापारीपट्टी जिम्मेवार देखिएका छन् । अहिले पनि यस्ता धेरै जिल्ला छन् जहाँ पानीकै लागि घण्टौं यात्रा गर्नुपर्छ । पानी नपाएर उनीहरुलाई दैनिकी टार्न निकै सकस परेको छ ।

तर, यसको फाइदा भने राजनीतिक दलहरुले लिएका छन् । पानी नभएको ठाँउमा पानी ल्याइदिन्छु भनेर वडाध्यक्ष र मेयरका उम्मेदवारहरुले भोट मागिरहेका छन् । घाउमा मलम लगाउने होइन् नुन छर्किने काम हाम्रो देशका राजनीतिक दलहरुले गरिरहेका छन् । अरुको पीडालाई आफ्नो जित्ने हतियार बनाउन यिनीहरुलाई नैतिकताले दिन्छ ? भोट माग्नेबेला विभिन्न आश्वासन दिएकाहरुले भोलिको दिनमा त्यो ठाउँलाई फर्केर पनि हेर्दैनन् । यही काठमाडौंकै कुरा गरौं, कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले मेलम्चीको पानी कांग्रेसले ल्याएको भनेर भोट मागिरहेकी छिन् । हामी नेपालीको दुःख यिनीहरुको भोट माग्ने भाडो बनेको छ ।

२०३१ सालको सरकारले मेलम्चीको पानी ल्याउनको लागि सर्भे गरेको थियो । २०४१ सालको सरकारले फेरिपनि दोहोप्याएर सर्भे गरेको थियो । २०४७ सालमा सांसद्मा उम्मेदवारी दिएका कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठ्माडौंको सडक पखाल्छु भनेका थिए । सरकारले पहिल्यै नै बनाइसकेको योजना र गरिसकेको तयारीलाई आफुले गरेको भनि कांग्रेसले भोट माग्न मिल्छ ? राजनीतिक दलहरुले पानीमा समेत राजनीतिकरण भएको छ । एमाले भन्छः पानी ल्याउने तयारी हाम्रो पालामा भएको । यता, कांग्रेस भन्छ, उपत्यकावासीलाई मेलम्चीको पानी चखाउने हामी ।

विदेशीले दिएको ऋण र जनताले तिरेको करबाट मेलम्चीको पानी काठ्माडौं ल्याउन सम्भव भएको हो । यिनीहरुको व्यक्तिगत सम्पत्ति बेचेर ल्याएको हो र ? काम गर्न नसक्ने अनि झुठा नाराबाजी गर्दै हिँड्ने ? काम गर्न सक्नेले झुठा नाराबाजी गर्नुपर्ने आवश्यकता छैन । अब नेपालमा खाद्य र पानीको संकट मौलाउँछ । खाने मुख बढेको बढ्यै छ तर सिँचाइको अभावमा जमिनहरु बाझैं छन् । खाद्यान्नले धान्न नसक्ने भएर बाहिरबाट आयात गर्ने गरिएको छ । अब केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन्छ । सरकार अझै पनि जिम्मेवार नहुने हो भने माछा बाउडिएझैं नेपाली जनताहरु छट्पटिन्छन् । भुमि सुधार मन्त्रालय र खानेपानी मन्त्रालयले जमिन र पानीका स्रोतहरु संरक्षण गर्न लाग्नुपर्छ । होइन् भने मुलुकमा दुर्दशा सुरु हुन्छ ।