उर्जा व्यवस्थापन

खेर गएको बिजुली बिक्री गर्न बजार खोज्दै प्राधिकरण

गत वर्षको मनसुनमा करिब ५०० मेगावाट अर्थात् करिब पाँच अर्ब बराबरको बिजुली खेर गयो ।

नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेण्डर आह्वान गरेको छ । प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युतमध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेण्डरमार्फत प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले उल्लिखित परिमाणको बिजुली आगामी पाँच महिना अर्थात् असार १७ देखि कात्तिक २९ गते तदनुसार १ जुलाईदेखि २९ नोभेम्बर २०२२ सम्म बिक्री गर्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन् ।

प्राधिकरणका अनुसार नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले जेठ १३ गते मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् । प्रस्ताव पेश गर्ने कम्पनीहरूले कम्तीमा ५० र बढीमा २०० मेगावाटसम्म खरिद गर्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछन् । प्राधिकरणलाई प्राप्त प्रस्ताव सोही दिन अपराह्न १ बजे खोलिने छ । बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनौट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने भएको छ ।

कम्पनीहरूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (नेरु ४८ हजार) प्रतिमहिना ‘अर्नेस्ट मनि डिपोजिट’ धरौटी राख्नुपर्छ । भारतले नेपालका ६ वटा विद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानेर भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । यो नेपालले बिक्री गर्न लागेको यो विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुनेछ ।

निर्यात गर्न लागिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका काली गण्डकी– ए, देवीघाट, मध्य मस्र्याङ्दी, मस्र्याङ्दी, त्रिशुली र निजी क्षेत्रको ग्रिन भेञ्चर्स लिमिटेडको लिखु–४ बाट उत्पादन हुने ३६४ मेगावाट मध्येको हो । नेपालले ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने स्वीकृति पाए पनि अहिले २०० मेगवाटका लागि मात्र टेण्डर आह्वान गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि गरेको भारत भ्रमणका क्रममा ३६४ मेगावाट विद्युत् बिक्रीका लागि दुई देशका निकायबीच सहमति भएको थियो । वर्षामा नेपालले खपत गरेर बाँकी रहेको बिजुली के गर्ने भन्ने बारेमा अझै कुनै निर्णय भएको थिएन । गत वर्षको मनसुनमा करिब ५०० मेगावाट अर्थात् करिब पाँच अर्ब बराबरको बिजुली खेर गयो ।

यसैगरी हरेक मनसुनमा नेपालमा उत्पादित केही बिजुली खेर जाने गरेको छ । मनसुन सुरु भएपछि नेपालमा नदी तथा खोलामा जल सतह बढ्न गई नेपालका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कुल जडित क्षमता २ हजार २०० मेगावाट हाराहारी पुगेको छ । नेपाल भित्रको कुल खपत भने १ हजार ६०० मेगावाट बराबर मात्रै छ ।

पछिल्लो समय देशमा उत्पादित बिजुली खेर जानु र खपत गर्ने अवस्था पनि नहुनुले सरकारलाई विकल्प खोज्ने दबाब परेको थियो । हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्ति अन्त्य गर्न पछिल्लो समय सरकार र निजी क्षेत्र दुवैले पहल गरिरहेका छन् । यही क्रममा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाएको हो ।