मेरो डायरी

फुटको संघारमा पुगेकै हो कांग्रेस ?

राजनीतिक दलहरुको खुट्टा तान्ने क्रम कहिल्यै नरोकिने भयो । मुलुकले विकास होइन विनाश पायो ।

केही दिनपछि शेखर कोइराला र शेरबहादुर देउवाको पनि हानाथाप हुन्छ । मुखबाट गोलीको वर्षात हुन्छ । अब कांग्रेस पनि धेरै दिन टिक्दैन ।

पछिल्लो समय सिंहदरबारमा अधिकांश माननीय मन्त्रीज्युहरु भेटिदैनन् । आफ्नो काम लिएर गएका सर्वसाधारणलाई मन्त्री भेट्न हम्मेहम्मे परेको छ । मन्त्रीहरु छिनका लागि सिंहदरबार आउछन्, फेरि गायब । यता, प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीन महिनादेखि सिंहदरबार गएका छैनन् । उनले मन्त्रीपरिषद्को बैठकसमेत प्रधानमन्त्री निवास, वालुवाटारबाट गर्दै आएको पाइन्छ । प्रधानमन्त्री नै आउँदैनन् भने हामी किन जाने ? भन्ने मनशाय मन्त्रीहरुमा देखिएको छ । मन्त्रीहरु मन्त्रालय जान छोडिसकेका छन् । आएका पनि एकछिन बस्छन्, फेरि दौडिहाल्छन् । सिंहदरबारभित्र धेरै मन्त्रालय छन् तर अधिकांशमा मन्त्री बाहिर भनेर राखिएको हुन्छ । मन्त्रालयका कर्मचारीहरु भखरै हुनुहुन्थ्यो, बाहिर निस्किसक्नुभो भन्ने बहाना बनाउँछन् ।

यतिखेर मन्त्रालयका कर्मचारीहरुलाई कसैको डरत्रास छैन् । अधिकांश कर्मचारीहरु सामाजिक सञ्जालमा झुण्डिएका हुन्छन् । कोही खाजाघर त कोही राजनीतिक गफगाफमा । ‘सरकारी काम, कहिले जाला घाम’ भनेको यही नै रहेछ । दिनभरि गफ गर्ने, महिनामा तलब थाप्ने । सरकारले विदेशी ऋण लिएर भए पनि यिनीहरुलाई तलब खुवाइरहेको छ । भटाभट विदेशी ऋण स्वीकृत गरेर सरकारी कर्मचारीलाई मासिक तलब दिनुपरेको छ । नेपालीको थाप्लोमा ऋण बढेको बढ्यै छ । यता, सरकारी कर्मचारीहरु मख्खै परेका छन् । बिनासित्ती तलब खान पाएपछि मख्ख नपर्ने कुरा पनि रहेन् नि । अहिले एउटा नेपालीको टाउकोमा ७० हजारभन्दा बढी विदेशी ऋण पुगिसकेको छ ।

ऋण दिने विदेशी छदैछन्, बोकिदिने नेपाली । अनि सरकारलाई के चाहियो । सरकारी कर्मचारीलाई तलबभत्ता र सेवासुविधा भए भइहाल्यो । विदेशी ऋण थपिएकै थपिएै भए पनि नेताहरु हामीलाई बालमतलब भन्ने खालका छन् । ऋण लियो बिचमै झ्याम्म हुन्छ । विकासको नाममा भ्रष्टाचार मौलाउँदो छ । देशको प्रधानमन्त्री आफु त ठाउँमा बस्न सक्दैनन्, अरुलाई के ठाउँमा राख्लान् ? सिंहदरबार आएर जनताको काम गर्न छोडेर भोट माग्दै हिँड्ने पनि प्रधानमन्त्री हो ? प्रधानमन्त्री देउवालाई अहिले भरतपुर महानगरबाट मेयरमा उठेकी रेणु दाहालका लागि भोट माग्न भ्याइनभ्याइ छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्धारा आयोजित कार्यक्रममा पुगेर भोट माग्न माननीय प्रधानमन्त्रीलाई आचारसंहिताले दिन्छ ?

वालुवाटारबाट सिंहदरबार आउन नसक्ने प्रधानमन्त्री देउवा भोट माग्न चितवनसम्म पुगेका छन् । पाँच चोटी प्रधानमन्त्री भएका देउवाले के गरे ? एउटा सिन्कोसम्म भाँच्न नसकेको प्रमाणहरु हाम्रै सामु छ । वडाध्यक्ष बन्न असमर्थ व्यक्तिलाई प्रधानमन्त्री बनाउनु नै नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो । अहिले बजारमा कांग्रेसकै कार्यकर्ताहरुले रोचक कुरा उठाएका छन् । कांग्रेसको सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा माओवादीको कार्यकर्ता बनेको कुरामा बहस सुरु भएको छ । आफ्नो पार्टी छोडेर माओवादीका अध्यक्ष दाहालको सुपुत्रीलाई भोट माग्दै हिँडेपछि प्रश्न उठ्नु स्वाभाविकै हो ।

२०७४ सालको चुनावमा पुष्पकमल दाहाल नेकपा एमालेसँग लहसिएका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी पार्टीलाई भोट दिनुस् भन्दै हिँडे । अहिले उनले कांग्रेस च्यापेका छन् । पहिले ओली अहिले देउवा । दाहालले आफु जित्नका लागि एक अर्कासँग टासिनेबाहेक केही गर्न सकेनन् । पहिले पहिले बुढापाखाले फटाहाको पछाडि लाग्नुहुदैन भनेर सम्झाउँथे । फटाहाको पछि लाग्यो भने सिधा मान्छे पनि फटाहा हुन्छन् । दाहाललाई अहिले सबैले फटाहाको संज्ञा दिएका छन् । त्यही दाहालको अघिपछि दुईवटा पार्टी लागिपरेको छ । काम गर्न नसक्दा माओवादी पार्टीले जनताबाट विश्वसनीयता गुमाइसकेको छ । त्यसैले माओवादी कहिले यता लहसिने कहिले उता टाँसिने गरिरहेको छ । काम नगरे पनि जसरी हुन्छ उसलाई पद चाहिएको छ ।

माओवादीबाट मुलुकले केही पनि हासिल गरेन् । आफ्नो छोरीलाई मेयर, बुहारीलाई मन्त्री र भाइलाई सांसद् । हिजो जनयुद्धमा लागेका कार्यकर्तालाई फर्केर पनि नहेर्ने व्यक्तिलाई जनताले भोट नै किन दिने ? टाँसिएकै भरमा सरकारमा बस्न पाइन्छ ? सरकार पाएन भने माओवादी बाँच्न सक्दैन । पानीबाट निकालेको माछाजस्तो भइहाल्छ । सरकारको प्यासी बन्नका लागि केही काम पनि गरेको हुनुपप्यो । माओवादी सरकारमा आउदा मुलुकले के उपलब्धि हासिल गर्यो ? जवाफ छ माओवादीसँग । देश र जनताको लागि के गर्न नसक्नेले सरकार चलाउने भोक राख्नु नै गलत हो । नाटकी भरमा कतिदिन चल्छ, पार्टी र सरकार ? हिजो पुष्पकमल दाहाल एमालेसंँ गएर मिल्दा एमाले चक्नाचुर भयो । त्यत्रो ठुलो पार्टी टुक्राटुक्रा भयो । आज माधव नेपाल र केपी ओली एकअर्काको मुख पनि हेर्न चाहदैनन् ।

अब कांग्रेसको दुर्दशा सुरु भएको छ । कांग्रेस पार्टी फुटेर टुक्राटुक्रा बन्न बेर लाग्दैन । एउटा चलेकै उखान ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अरुलाई पनि बनाउन दिँदैन’ पुष्पकमल दाहालमा पनि यही उखान लागू भएको छ । अहिले केपीले माधव नेपाललाई सक्दो गाली गर्छन् । माधव नेपालले पनि केपीलाई देखिसक्दैन् । यसमा पुलको काम गर्ने श्रेय वरिष्ठ नेता दाहाललाई जान्छ । केही दिनपछि शेखर कोइराला र शेरबहादुर देउवाको पनि हानाथाप हुन्छ । मुखबाट गोलीको वर्षात हुन्छ । अब कांग्रेस पनि धेरै दिन टिक्दैन । हिजो पहिले पार्टी बनेको माओवादी यी दुई पार्टीका कारण फुटेको थियो । कांग्रेस र एमालेको कारण माओवादी छरपस्ट बन्यो । आफ्नो पार्टी फुटाएको कुराले अहिले पनि दाहालको मन पोलिरहेको छ । पार्टी नफुटेको भए माओवादी आज पनि पहिलो पार्टी नै हुन्थ्यो ।

आफ्नो पार्टी टुक्राटुक्रा बनाएर बदला दाहालले लिएको स्पष्ट बुझिन्छ । एमाले त फुटिसकेको छ, अब कांग्रेसको फुट्ने दिन आउँदैछ । ‘शत्रुलाई ढाल्नुपर्यो भने उहीसँगै मिल्नुपर्छ’ भनेर बुढापाखाले भनिरहन्थे । दाहालले पनि त्यही नै गरे । अब कांग्रेस फुटेर चार टुक्रा बन्ने देखिन्छ । एकातिर शेरबहादुर देउवा र शेखर कोइराला । अर्कोतर गगन थापा र रामचन्द्र पौडेल । कांग्रेसको हाल एमालेको भन पनि बेहाल हुने बुझिन्छ । अरुलाई कमजोर बनाएर आफु सरकारमा आउने दाहालको योजना हो । दिमागी खेलमा दाहालसँग कसैले भ्याउदैनन् भनेर पुष्टाइ गरिरहन जरुरत छैन । कांग्रेस छियाछिया भयो भन्ने खबर नेपाली जनताको कानमा छिट्टै नै पर्नेछ ।

कांग्रेसको सभापतिले नै यो घोषणा गर्नेछन् । सँगसँगै हिँडेको केपी र माधवबीच आगो लगाउने दाहाल नै हुन् । दाहालको पछि लागेर माधवले एमालेलाई कुहिएको फर्सीसमेत भने । हिजो एमालेबाटै माधव नेपालले प्रधानमन्त्री पाएको होइनन् ? लामो समय एमालेमा जिम्मेवारी वहन गर्ने पनि उनी नै थिए । तर, पछिल्लो घडीमा एमालेलाई नै तँछाडमँछाड गर्न उनी पछि हटेनन् । कांग्रेस र एमालेलाई सिध्याएपछि आफ्नो छुटिएको पार्टी जोड्ने तयारीमा दाहाल छन् । राजनीतिक दलहरु एक–अर्काको खुट्टा तान्ने क्रम कहिल्यै नरोकिने भयो । मुलुकले विकास होइन विनाश पायो । असक्षम नेताहरुका कारण नेपाल नै नरहने स्थितिमा आइपुगिसकेको छ । राजनीतिक दलहरु छाडा हुँदा मुलुकमा ठूलो क्षति हुँदोरहेछ भन्ने सिकाई नेपालले अरुलाई दियो ।

महंगी दिनहुँ बढेको बढ्यै गर्छ । तैपनि सरकार अनुगमन गर्दैन । बजारमा आर्थिक तरलताको खाडल झनै बढिरहेको छ । रोजगारीको अवसर नहुँदा बेरोजगारी बढ्दो छ । व्यापार व्यवसाय गर्छु भन्दा पनि कर्जा पाइँदैन । बिहान बेलुका छाक टार्न नेपाली जनतालाई निकै सकस परिसकेको छ । जनताको सरकारमाथिको विश्वास गुमाइसकेको छ । सरकार नै जिम्मेवार नभएपछि जनता जिम्मेवार बन्लान् ? स्थानीय तहको चनाव ढोकैमा आइसकेको छ । चुनावपछि मुलुक कतातिर मोडिन्छ ? भनेर धेरै चिन्तित बनिसकेका छन् । चुनावपछि महँगीले सीमा नाघ्ने अड्कलबाजी सुरु भइसकेको छ । खर्च झनै पनि बढ्छ । अब सरकारले कसरी खर्च धान्ने ? विदेशी ऋण त सधैं पाइँदैन होला ? आर्थिक तरलताको दलदलमा मुलुक फस्दै जान्छ । नेताहरु असक्षम हुँदा जनताले धेरै दुःख पाए ।

प्रधानमन्त्री पत्नी आरजु राणाले भनेको एउटा वक्तव्यले सबैतिरको माहौल ततायो । कांग्रेस पार्टीलाई भोट नदिए बजेट सबै कटौती गर्छु भनेर उनले भनिन् । आरजु राणाको व्यक्तिगत सम्पत्ति हो र बजेट कटौती गर्नलाई ? उनले आफ्नो घरखेत बेचेर विकास गर्ने हो र ? यस्ता व्यक्तिले के राजनीति गर्छन् ? देशको के विकास होला ? प्रधानमन्त्री पत्नी भएर बजेट कटौती गर्छु भन्न नैतिकताले दिन्छ ? अब पनि नसुध्रिने हो भने यिनीहरुलाई नेपाली जनताले सजाय दिनेछन् । यस्तै, पारा हो भने नेपाली जनताले नै यिनीहरुलाई लखेट्छन् । कि त जेलको हावा खान तयार हुनुपर्यो । भ्रष्टाचार गरेर जोडेको सम्पत्ति राष्ट्रियकरण गरौं, जनता र मुलुकपट्टी जिम्मेवार बनौं ।