चौरजहारीमा तरूण दल र वाइसीएलका युवाबीच झडप, पाँच घाइते

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ । शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो । सोक्रममा दुई पक्षका गरी पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुवै पक्षका गरी ५०–६० जनाको समूहबीच झडप भएको थियो । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार तरूण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन् ।

तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन् । वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन् । घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस रूकुम पश्चिमले विज्ञप्ति निकालेर घटनाको भ्रत्सना गरेको छ । रूकुम पश्चिममा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आक्रमण गर्ने गरेको कांग्रेसको भनाइ छ ।