पक्राउ पुर्जी जारी भएका एमालेका उम्मेदवार घरदैलो अभियानमा

तस्वीर : नेपालफेस डटकमबाट

पक्राउ पूर्जी जारी भएका धनुषाको वटेश्वर गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्यामसुन्दर महतो (तस्बिरको रातो घेरामा) दैनिक घरदैलो अभियानमा व्यस्त छन् । तर, उनलाई प्रहरीले पक्राउ गर्ने कनै चासो देखाएको छैन ।

नेकपा एमालेले बैंकिङ कसुरका फरार अभियुक्त महतोलाई बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको हो । कानुनी राज्यलाई चुनौती दिँदै फरार अभियुक्त महतो चुनावी सभा गरिरहँदा समेत प्रहरी मुकदर्शक बनेको छ ।

महतो बुधबार, बिहीबार र शुक्रबार घरदैलो अभियानमा जुटिरहेका थिए । तर, प्रहरीले उनलाई पक्राउ गर्न चासो नै देखाएको छैन । शुक्रबार एमालेको चुनावी सभामा अध्यक्षका उम्मेदवार महतो रघुवीर महासेठसँगै कुम जोडेर बसेका थिए । प्रहरीले नै उनलाई सुरक्षा दिएर कार्यक्रम गरिरहेको थियो ।

एमालेबाट बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका महतोबिरुद्ध उच्च अदालत पाटनबाट २०७६ साउन १५ पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी बृत्त सिंहदवारले उच्च अदालत पाटनसँग अनुमति लिई महतोबिरुद्ध पक्राउ गर्नका लागि ३ बर्षअघि नै पुर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएका महतो तीन बर्षदेखि प्रहरीको नजरमा फरार अभियुक्त हुन् ।

उनलाई उच्च अदालत पाटनको बाणिज्य इजलासमा लालबबहादुर क्षेत्रीको जाहेरीले वादी नेपाल र प्रतिवादी श्यामसुन्दर महतो भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालै नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाणहरु लोप र नास गराई भागीजाने सम्भावना देखिएकाले पक्राउ गर्न माग गरिएको थियो । तर, उनलाई २ बर्षसम्म पक्राउ गरिएको छैन ।

तीन बर्षअघि पक्राउ पूर्जी जारी भएका महतो वटेश्वरका वडा वडामा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो गरिरहेका महतोलाई प्रहरीले पक्राउ नगरी छुट दिएको छ । चुनावमा अध्यक्षका उम्मेदवारका रुपमा मत माग्दै हिँड्दा पनि प्रहरीले उनलाई पक्राउ नगरी कानुनी राज्यको उपहास गर्ने कार्य भइरहेको छ ।

फरार अभियुक्त महतोलाई पक्राउ नगरिएको बारेमा धनुषाका एसपी बसन्त रजौरेले आफूलाई कसैले भनेर पक्राउ नगर्ने भन्दै टाढिएका छन् । उनले धनुषाको मुद्धा नभएकाले बुझेर कदम चाल्ने बताएका छन् ।