मेरो डायरी

सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका ‘प्रशान्त’

प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् ।

प्रशान्त पनि सिडिओ वा पुलिस अफिसर बन्ने सपना देख्थे । चाहेको भए आफ्नो त्यो सपना पनि सहजै पूरा हुने विष्ट बताउँछन् । तर, प्रशान्तले सरकारी जागिर वा आरामदायी जिन्दगीको बाटो रोजेनन् । उनले आफ्नो जीवनको उर्जावान समय राजनीतिलाई दिए ।

‘अब मेरो जीवनको लक्ष्य भनेकै राजनीतिलाई सेवाको माध्यम बनाएर जनताका लागि काम गर्नु हो । मलाई पैसा र पावरको त्यतिलोभ छैन,’ विष्ट भन्छन्, ‘पैसा र पावर त मैले अरु क्षेत्रमा लागेरै कमाउन सक्थें । मेरा साथीहरु धेरै पहिले नै ठूल्ठूला पदमा पुगिसकेका छन् ।’

बुवा सरकारी जागिरे हुनुको लाभ प्रशान्तको लालन पालन र शिक्षादिक्षामा पनि पर्यो । उनले राम्रो शिक्षा लिने अवसर पाए । २०३५ सालमा जन्मिएका विष्टले जय बागेश्वरीमा कक्षा पाँचसम्म अध्ययन गरे । त्यसपछि महेन्द्र माविमा अध्ययन गरेर २०५१ सालमा एसएलसी दिएका प्रशान्तले द्धितिय श्रेणीमा उत्तीर्ण गरे ।

प्रशान्तको राजनीतिमा प्रवेश उनको परिवारले नचाहँदा नचाहँदै भएको हो । हुन त उनको परिवार राजनीतिबाट पूरै अछुतो पनि थिएन । सुशील कोइरालाका ठूल्दाई प्रमोद कोइराला र विष्टका हजुरबुवाबीच मितको नाता थियो । कोइराला नेपालगन्ज रहँदा विष्टको घरमा आउने जाने गरिरहन्थे ।

तर, सक्रिय राजनीति पनि उनको परिवारबाट कसैले गरिरहेको थिएन । महेन्द्र माविमा हुँदा नै उनी नेवि संघको विद्यालय इकाई सचिव बनाइएका थिए । तर, त्यस प्रति उनको त्यति चासो थिएन । २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रविणता प्रमाणपत्र उत्तीर्ण गरे ।

२०५५ सालमा उनले व्यवस्थापन संकायमै स्नातक तह अध्ययन सुरु गरे । त्यतिबेला क्याम्पसमा विद्यार्थी युनियन चुनावको चर्चा थियो । उनले नेपाल बिद्यार्थी संघ नै रोजे । तर, नेपालगन्जमै घर भएकाभन्दा त्यतिबेला बाहिरबाट आएका विद्यार्थीहरुको राजनीतिमा दबदबा हुन्थ्यो ।

नेविसंघबाट नेपालगन्जको स्थानीयवासीको युनियनमा प्रतिनिधित्व गराउने क्रममा प्रशान्तले सहसचिवको चुनाव लडे । विष्ट भन्छन्, ‘रहरमा चुनाव लडेको हुँ, अन्तिम समयमा मात्रै उम्मेदवारी दिएँ, तर जीवनको पहिलो चुनाव हारियो ।’ चुनाव हारे पनि उनमा राजनीतिको नशा झन् बढ्न थाल्यो ।

त्यसपछि बुवाले प्रशान्तलाई भने, ‘पढाईभन्दा बढी राजनीतिमा ध्यान दिन्छस्, चुनाव पनि हार्छस्, अब काठामाडौं जा ।’ त्यसपछि विष्ट पुगे काठमाडौंको शंकरदेव क्याम्पसमा । स्नातक तह दोस्रोे वर्ष उनले शंकरदेव क्याम्पसमा अध्ययन गरे । शंकरदेव क्याम्पसमा पुगेपछि कांग्रेसका अहिलको सहमहामन्त्री किशोरसिंह राठौरले त्यहाँको युनियनको चुनावमा पनि सदस्य लड्न भने ।

राजनीति छुट्ला भन्ने आशामा काठमाडौँ गएको छोरो फेरि राजनीतिमा लाग्न थालेको थाहा पाएपछि बुवाले उनलाई नेपालगन्ज नै बोलाए र पुनः स्नातक तह तेस्रो वर्षबाट महेन्द्रमै अध्ययन सुरु गरे । २०५९ सालमा भने अनेरास्ववियु र नेविसंघको गठबन्धन गरेर चुनाव लडेपछि उनी स्ववियु उपसभापतिमा निर्वाचित भए ।

त्यसपछि विष्टको राजनीतिक यात्रामा असफलता कहिल्यै हात लागेन । २०६१ सालमा उनी पुनः उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी हासिल गरे । २०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाए ।

२०६८ सालमा उनी नेपाली काँग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । त्यसपछि २०७३ सालमा उपमहानगरपालिका भएपश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिमा दोहोरिए । २०७८ मा काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः उनी नेपालगन्ज नगर सभापतिमा निर्वाचित भएर ह्याट्रीक गरे ।

विष्ट भन्छन्, ‘मेरो राजनीतिक जीवनको जितको सुरुवात नै गठबन्धनबाट भएको थियो । यसपटक पनि म गठबन्धनबाट साझा उम्मेदवार छु । यतिखेर मैले नगर प्रमुख पदका लागि गरेको तयारी, नेपालगन्जको विकासमा दिएको योगदान र सबै समुदायसँगको मेरो निकटताका आधार थपिएका छन् । मैले जित्ने निश्चत छ ।’