स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा

सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार स्वास्थ्य संस्थामा पनि बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा हुने जनाएको छ ।

मन्त्रालयका डा.रोशन पोखरेलले सरकारको निर्णयअनुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए । उनले भने, ‘सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ, तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौँ ।’

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा.पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए । जेठदेखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन हुनेछन् ।