मेरो डायरी

मिटर व्याजीले बढाउँदै ‘सडकपति’

देशको राजनीति परिवर्तन भए पनि शोषक, सामान्ती र दलालीहरुको नियतमा परिवर्तन आएन ।

पहिलेपहिले गाउँगाउँमा पुँजीपतिहरुले खेतबारीको तम्सुल गराएर ३६ प्रतिशत व्याजमा पैसा लगाउथे । दुईतीन वर्ष साहुव्याज तिर्न नसकेपछि पुँजीपति वर्गहरुले खेतबारी नै खाइदिन्थे । त्यसपछि त्यो व्यक्तिको उठीबास हुन्थ्यो । त्यहाँ पनि घ्यु खुवाउनुपथ्र्यो । अर्कोतिर महिनैपिच्छे व्याज लिन आएको बेलामा मिठोमसिनो खुवाउनुैपथ्र्यो । आफ्नो बालबच्चालाई भोको पेट राखेर ती सामन्तीहरुको पेट भर्नुपर्ने बाध्यता थियो । कतिपयले पैसाचाहिँ दुई लाख दिन्थे तर कागज भने पाँच लाखको बनाउँथे । अक्षर नचिनेको फाइदा उठाउँदै सामन्ती वर्गहरुले यसरी लुट्ने गरेका थिए ।

यता, सिधासाधी व्यक्तिले पनि उसले जहाँ भन्यो ती ल्याप्चे लगाइदिन्थे । यता, साहु व्याज नै फिर्ता गरे पनि खेतबारी नै हडप्छन् । किनकि कतिपयले घरखेत नै नामसारी गरेर पैसा लिएका हुन्छन् । साहुव्याज फिर्ता गर्छुभन्दा पनि घरखेत फिर्ता नगर्दा ऊ त सडकमा आउँछ । अहिले पनि मिटर व्याजको नाममा यो कार्य भइरहेको छ । विदेश जानका निम्ति मिटर व्याजमा ऋण लिन्छन् । बजारमा मिटर व्याजमा रकम लाउने र लिने छ्याप्छ्याप्ती भेटिन्छन् । गरिब, नपढेका र बाध्यतामा परेकालाई ‘मुर्गा’ बनाउने काम भइरहेको छ । झोलामा पैसा बोकेर हिडिँरहेका हुन्छन्, मिटर दलालीहरु ।

दिनको हजार रुपैंया व्याज दिने शर्तमा उनीहरुले पैसा दिन्छन् । पहिल्यै नै समयावधि तोकेर साहुव्याज तिर्ने मिति तोकिदिन्छन् । अगाडि नै यति महिनामा साहुव्याज फिर्ता गर्छु भनेर कागजात गर्नुपर्छ । साहुव्याज नतिरेको खण्डमा यिनीले नै ऋणीलाई फसाउँछन्, किनकि पहुँच र पैसाको आडमा यी सबै काम भइरहेको छ । मिटर व्याजमा पैसा लगाउने अधिकांश ठूला व्यापारी र गुण्डा छन् । अरुलाई मिटर व्याजमा कसरी पैसा लगाउने ? थाहा हुँदैन । यता, स–साना व्यापारीहरुलाई समेत मिटर व्याजमा पैसा लगाइएको पाइन्छ ।

२० हजार ऋण दिएबापत दैनिक २४० रुपैंया व्याज उठाउने गरेको पाइन्छ । तरकारी, फलफुल व्यापारीहरुले प्रायजसो उनीहरुसँग ऋण लिएका छन् । बाध्यतामा परेर ऋण लिएकालाई यी दलालीहरुले ‘धोती न टोपी’को बनाइदिएका छन् । व्यापारीहरुलाई जतिबेला पनि पैसाको खाँचो पर्ने र वित्तिय संस्थाले तत्कालै नदिने भएकाले मिटर व्याजमा पैसा चलाउनेहरु दिनहुँ बढिरहेका छन् । दलालीहरुले आफ्नै घरमा पैसा राख्ने र शर्त पूरा गर्नेबित्तिकै पैसा दिने भएकाले पनि बजारमा यस्तो गैरकानुनी काम फस्टाएको छ । मिटर व्याजीहरुले न्यायकर्मीहरु समेत पालेका छन् ।

वकिलहरुको आडमा मिटर व्याज धन्दा मौलाएको हो । वकिलहरुले यसो गर्नुस्, यसरी व्याजमा लगाउनुस् भनेर सिकाउने काम गर्छन् । यता, जनतालाई सडकमा ल्याउने कागज बनाउने पनि वकिलहरु नै हुन् । मिटर व्याजमा पैसा लिनेमध्ये कति विस्थापित भए । घरजग्गा, खेतबारी सबै मिटर व्याजीले हडप्दा कतिपय रोडमा आइपुगे । देशको राजनीति परिवर्तन भए पनि शोषक, सामान्ती र दलालीहरुको नियतमा परिवर्तन आएन । एकातिर सिधासाधीको जेथो पनि खाइदिने । अर्कोतिर उसलाई फसाउनका निम्ति झुठो उजुरी दिने ।

प्रहरी प्रशासनले पनि बैंकमा पैसा नभएको चेक हेर्छ तर के कारणले उसले त्यो चेक दिएको थियो ? त्यो हुँदैन । मिटर व्याजमा पैसा लिनेबित्तिकै दुर्दशा सुरु हुन्छ । हामीले सुनेका छौं, मिटर व्याजमा लिएको पैसा तिर्न नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन् । कति आफ्नो गाउँठाउँ नै छोडेर हिडेका छन् । बाँच्नका निम्ति भारत छिर्नेहरु पनि उत्तिकै छन् । नेपालको कानुनमा उल्लेख भएअनुसार यसरी मिटर व्याजमा पैसा लगाउन पाइन्छ । १० प्रतिशतभन्दा बढी व्याज लिएमा त्यसलाई गैरकानुनी मानिन्छ । एक लाखको पाँचदेखि ३० हजारसम्म मिटर व्याजमा लगाइएको छ ।

यस्तो महंगो व्याजमा पैसा लगाउनेहरु कतिखेर भाग्नुपर्ने हो ? कतै प्रहरीको लगेर थुन्ने त होइनन् ? आफ्नो घरखेत खाइदिने पो हो कि ? भन्ने त्रासमा बसिरहेका हुन्छन् । मिटर व्याजीहरुको कारणले सुकुम्बासी बन्नुपरेको घटनाहरु पनि सार्वजनिक भइरहेको हुन्छन् । बैंक र सहकारीकै कर्मचारीहरु समेत यसमा मुछिएका छन् । उनीहरु पनि चोखो छैनन् । वित्तिय संस्थाका कर्मचारीहरुले थोरै व्याजमा रकम निकालेर मिटर व्याजमा लगानी गरेको पाइन्छ । अध्यक्ष र चेयरम्यानहरुलाई थोरै व्याज पनि तिर्नुपर्दैन ।

पछिल्लो समय कर्जा नदिने बरु मिटर व्याजमा लगानी गर्ने ट्रेन्ड चलेको छ । चौतारा, चियागफमा प्रायजसो मिटर व्याजकै कुरा हुन्छ । मिटर व्याज लिदा यो सखापै भयो, त्यसको घरखेत नै सिद्धियो भनेर गफ चलिरहेको सुनिन्छ । अहिले बैंकले पाँच लाखको चेक साट्न सक्ने अवस्था छैन् । एक लाखको चेक साट्न नसक्दा सहकारीले किस्ताबन्दीमा पैसा लैजान आग्रह गर्दछ । तर, मिटर व्याजीहरुले एक करोड रुपैंयासम्म तुरुन्तै दिने गरेको बताइन्छ । आफ्नो खातामा भएको रकम निकालेर कतिपयले घरमा लुकाएर राखेका छन् । कतिपयले मिटर व्याजमा लगानी गर्ने गरेका छन् ।

वित्तिय संस्थाले आफुमाथिको विश्वासनियता गुमाउँदा बचतकर्ताको संख्या स्वाट्टै घटिसकेको छ । सहकारीमा पैसा राख्ने शून्य बराबर भइसकेको छ । डुब्ने कि भाग्ने भन्ने अवस्थामा आइपुगेका वित्तिय संस्थामा अब सर्वसाधारणले पैसा राख्दैनन् । पाँच करोडको सम्पत्ति धितो राखेर सहकारीका अध्यक्षहरुले एक करोड रुपैंया दिन्छन् । त्यसमा पनि तीन प्रतिशत सेवाशुल्क, घुस गरेर २१ प्रतिशत व्याज पुग्छ । तर, सहकारी विभागले कर्जा लगानी गरेबापत १६ दशमलव तीन प्रतिशतभन्दा बढी व्याज लिन नपाउने भनेका छन् ।

यता, नेपाल राष्ट्र बैंकले घरजग्गा, सेयर र निजी प्लेटका सवारी धितो राखेर कर्जा नदिनु भनेर परिपत्र गरेको छ । तर, सहकारी र निजी बैंकले सरकारकै निर्णयलाई धोती लगाइदिएका छन् । घुस र मँहगो व्याज पाउने लोभमा राष्ट्र बैंकले गरेको निर्णय अटेर भइरहेको छ । यता, मिटर व्याज र वित्तिय संस्थाबाट कर्जा लिने व्यक्तिहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । धितो बिक्री नभएर र बजारमा मन्दी आएर उनीहरु अहिले छट्पटाइरहेको छन् । ५०० र १००० को नोट वित्तिय संस्थामा छैन । मिटर व्याजमा लगानी गर्नेहरुको हातमा छ ।

मिटर व्याजमा पैसा लगानी गर्नेहरुले अब कतिको घरखेत नै खाइदिन्छन् । कतिपयलाई सडकमा पुर्याउँछन् र उठीबास बनाइदिन्छन् । राष्ट्र बैंक र अर्थविद्हरुले अर्थतन्त्र पहिल्यै कै गतिमा आउन समय लाग्ने भनेका छन् । बैंकफाइनेन्सले अझै पनि कर्जा दिन नसक्ने उनीहरुको भनाइ छ । बैंक तथा फाइनान्सले व्याज बढाएको भनि सूचना जारी गर्दा पनि पैसा राखने भेटिएनन् । बैंक तथा फाइनान्सहरु धरासायी हुँदैछन्, मिटर व्याजीहरु मौलाउँदैछन् । उनीहरुको गैरकानुनी धन्दा झनै फस्टाउँदै गएको छ ।

मिटर व्याजीहरुलाई नरोक्ने हो भने अर्थतन्त्र तहसनहस बन्छ । आफु धनी बन्नका निम्ति एकजनाले हजारौलाई सडकमा पुर्याउँछ । विस्थापित भएकालाई सरकारले नै सुकुम्बासीको संज्ञा दिनुपर्छ । उनीहरुलाई घरजग्गाको व्यवस्था पनि राज्यले नै गर्नुपर्ने हुन्छ । यता, कसैले तनाव सहन नसकेर आत्महत्या गर्यो भने राज्यले एउटा नागरिक गुमाउनुपर्छ । कि त सडकमा मागेर खानुबाहेक अरु विकल्प छैन् । व्यापारी र नेताहरुले पैसा लुकाउदा बजारमा तरलता देखिएको छ ।

अब अर्थमन्त्री र राष्ट्र बैंकले ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउने हो भने मिटर व्याजीहरुको कारोबार चक्नाचुर हुन्छ । २००० को नोट निकाल्न जरुरी देखिएको छ । महंगो व्याज र मिटर व्याजमा पैसा लगाउने व्यक्ति, संस्थालाई सरकारले कारबाही गर्नैपर्छ । बचत गर्ने काम ठप्प भएको छ भने निकाल्ने होडबाजी चलिरहेको छ । ऋण लिएर विदेश गएकाहरुले दुःखजेलो गरेर कमाएको पैसा साहुव्याज गर्दै सिद्धिएको छ । मिटरव्याजलाई नियन्त्रण गर्न नसक्ने हो भने देशको अर्थतन्त्र थप डामाडोल हुन्छ ।