विचार

कांग्रेसमा कम्युनिस्टका ध्वजावाहक

कांग्रेस यति नराम्ररी घेरिएको छ कि भनिसाध्य छैन । आफैं हेर्नुहोस्, हुँदाहुँदा अब हँसिया हथौडामा भोट हाल्ने अवस्थामा पुगेको, पुर्‍याइएको छ ।

पछिल्लो समयमा नेपाली कांग्रेसका प्रमुख नेताहरूमा असीमित अहंकार झ्याँगिएकाले तिनले नेतृत्व प्रदान गरेका समूहहरूमा तीव्र विचलन आएको छ । कांग्रेसजन आफ्नो पार्टीलाई लोकतन्त्रको मियो भन्छन् तर यसका, आजका अग्रपंक्तिका, नेताहरूको अहंकारको पारो यति माथि छ कि कसैकसैले त नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नै ‘माथ’ दिने क्षमता आर्जन गरेका छन् । उनीहरू आफूभन्दा माथि कोही छैन भन्ने अहंभावले ग्रस्त हुन पुगेका छन् । ख्याल रहोस्, जब मान्छेले आफूभन्दा माथि कोही छैन, आफैं सर्वेसर्वा हुँ भन्ने ठान्न थाल्छ, त्यसपछि ऊ मनुष्य रहँदैन, राक्षस बन्छ ।

यी नेताहरूको आफूभन्दा माथि कोही छैन भन्ने अहंभाव वास्तवमा अल्पज्ञानको नतिजा हो । उनीहरू नै उच्च ओहदामा भएकाले यसको नियन्त्रण कसरी गर्ने भन्ने प्रश्न उपस्थित भएको छ । अहंकारले सर्वनाश गर्छ । यसको समाधान कठिन छ । कठिन छ किनभने ज्ञानीहरूमा अहंभाव चढ्यो भने उनीहरूलाई आलोचना अर्थात् गुण दोष निरुपणले सोझ्याउँछ तर अल्पज्ञानी र मूर्खहरू जति राम्रो चितायो, गर्यो, त्यति कुपित हुन्छन् । क्रोधित हुन्छन् । गुण दोष निरुपणले सच्चिने होइन बरु उल्टै राम्रो चिताउनेमाथि नै दोष थुपार्न उद्यत् हुन्छन् । फलस्वरूप तिनीहरू अरु गैरजिम्मेवार बन्ने डर हुन्छ ।

यसबाट फेरि हानि हुने भनेको देशलाई नै हो । लोकतन्त्रलाई नै हो । आजको अवस्था कस्तो छ भने नेताहरूमा आफूले जतिसुकै अनुचित जेसुकै, मनलाग्दी गरे पनि त्यो अरुलाई स्वीकार्य हुनुपर्छ, हुन्छ भन्ने अतिविश्वास छ, उहिल्यैका राजा महाराजाहरू जस्तै । तिनीहरूको यही सोचका परिणामस्वरूप कांग्रेसको कम्युनिस्टसित चुनावी गठबन्धन बनेको हो । अवश्य नै यो गठबन्धन तिनीहरूका व्यक्तिगत स्वार्थ अनुकूल छ तर शतप्रतिशत विचारका प्रतिकूल र सिद्धान्तद्वेषी छ । यो चुनावी गठबन्धन कांग्रेसलाई मत दिइआएका मतदाताहरूको अन्तरात्माविरुद्ध छ ।

लोकतन्त्रमा वास्तवमा, लोकअभिमतमाथि आस्था भएको दलले, कुनै पनि निर्णयमा पुग्नुअघि आफूलाई रुचाउने मतदाता के चाहन्छन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । आफ्ना ताबेदार कार्यकर्तासित गरेजस्तो व्यवहार यदि मतदातासित गर्न थालियो भने हविगत २०७४ सालका चुनावभन्दा पनि खत्तम हुनसक्छ । नजिकै अर्को दृष्टान्त छ, भारत । त्यहाँको कांग्रेस । यस्तै भइरहे यहाँ त झन् भारतीय राष्ट्रिय कांग्रेसले बेहोरी रहेको दुरवस्था बरु कम दुर्दशा हो भन्ने खालको अवस्था उपस्थित हुनसक्छ ।

कम्युनिस्टका ध्वजावाहक कांग्रेस

आज जताततै निष्ठावान कांग्रेसजन भन्छन्, नेता र सदस्यहरूबीच नीतिगत संवाद छैन, शून्य छ । यो संवादहीनताको कारण हो, फेरि भन्छु, नेताहरूमा झ्याँगिएको अहंकार । यसैका फलस्वरूप पार्टी पंक्तिमा थामिनसक्नु विचलन आएको छ र यसै विचलनका कारण झण्डै देशैभर नेतापन्थी कांग्रेसका क्रियाशील सदस्यहरू कम्युनिस्ट पार्टीका ध्वजावाहक बनेका, बनाइएका छन् । कम्युनिस्ट झण्डा बोक्न नमान्ने निष्ठावान कांग्रेसजन बागी भनिएका र पार्टीबाट निष्कासित भएका छन् । जबकि, हुनु पर्थ्यो यसको ठीक उल्टो ।

विचार प्रतिकूल र सिद्धान्त विपरीत गठबन्धन गरेर निर्वाचनमा जान निर्णय गर्नेहरूलाई पार्टीविरोधी गतिविधि गरेकोमा दण्डित र निष्कासित गर्नुपर्नेमा कांग्रेसका निष्ठावान सदस्यहरूचाहिँ दण्डित भएका छन् । आतंकित पारिएका छन् । नेताहरूको अहंकार कतिसम्म भने गठबन्धनको विरोध गरे, कारबाही गर्नेसम्मको धम्की दिइएको छ । पार्टीका कार्यकर्ताले अर्को पार्टीलाई भोट दिन्न भन्न नपाउने उर्दी पनि कतै लोकतन्त्रमा मान्य हुन्छ ? त्यस्तो उर्दी फेरि कसले दिएको भने आफूलाई लोकतन्त्रको मियो भन्ने पार्टीका नेताले ।

कांग्रेसभित्रका लोकतन्त्रप्रेमी हार्दै

कांग्रेसको इतिहास, सिद्धान्त र निष्ठा नै लज्जित हुने कृत्य भइरहँदा केन्द्रीय स्तरको कुनै नेता यसलाई रोक्न, भित्रैदेखि तत्पर नभएको मात्र होइन बडो क्रान्तिकारी देखिनेहरूले पनि आत्मसमर्पण गरेका छन् । यो चुनावी गठबन्धन कांग्रेसका लागि तात्कालिक र दूरगामी कुनै पनि अर्थमा हितकर छैन । औंलामा गन्न सकिने केही नेताहरूको स्वार्थअनुरूप भने निश्चय नै छ तर यहाँ गठबन्धनको निर्णयलाई यन्त्रवत स्वीकारिएपछि के बुझ्नुपर्ने भयो भने पार्टी शुद्धीकरणको ठूलै अभियान प्रारम्भ भएन भने कांग्रेस भष्मीभूत हुनसक्छ, हुन्छ ।

नाम त रहला कांग्रेस नै तर यो कम्युनिस्टहरूले ‘यी हेर लोकतान्त्रिक दल‘ भनेर देखाउने प्रदर्शनीको सामग्री बन्न जान्छ । किनभने गठबन्धन क्रियान्वयनमा आएसँगै कांग्रेसका लोकतन्त्रप्रेमी हारेका र त्यहाँका कम्युनिस्टपन्थीले जितेका छन् । कांग्रेस नामधारी ती कम्युनिस्ट पन्थीहरूले कांग्रेसलाई कम्युनिस्ट गठबन्धनको एउटा अंगमात्र होइन, हेर त छ नि लोकतन्त्र भन्दै यसलाई एउटा आलंकारिक दल बनाइदिने सम्भावना बढ्दो छ ।

गठबन्धनको न्युनतम साझा कार्यक्रम

कुनै पनि गठबन्धनको एउटा साझा न्यूनतम कार्यक्रम हुन्छ, हुने गर्छ । यस गठबन्धनको पनि छ । साझा कार्यक्रम बेगर गठबन्धन हुँदैन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी, यी चारै कम्युनिस्ट हुन् । माओवादी केन्द्र र एकीकृतको नामै कम्युनिस्ट छ, राष्ट्रिय जनमोर्चा कम्युनिस्ट नै हो । जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पनि यथार्थमा कम्युनिस्ट नै हुन्, त्यसैले जसपालाई कम्युनिस्ट गन्ध भएको दल भन्दा फरक पर्दैन । यी चारै पार्टीको साझा न्यूनतम कार्यक्रम यसर्थ कम्युनिस्ट विश्वदृष्टिकै स्थापन, पुनर्स्थापन हो ।

चार कम्युनिस्टमा पाँचौं कांग्रेस

चार कम्युनिस्टमा कांग्रेसलाई किन थपेको हो भने यिनै कम्युनिस्टले यसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको छ । कांग्रेसजन नै भनिरहेका सुनिन्छन्, देउवा फगत प्रधानमन्त्रीमा निरन्तरता चाहन्छन् । उनको न्यूनतम र अधिकतम कार्यक्रम यही हो । सधैं सत्तासीन रहनु र उनका ज्योतिषीले भनेजस्तै सात पटक प्रधानमन्त्री बन्नु हो । व्यवहारले पनि देउवाले यो भन्दा पर नसोचेको प्रतीत हुन्छ र उनीमात्र होइन उनी आसपास पनि शायदै योभन्दा पर सोच्न प्रेरित गर्ने मान्छे होलान् ।

देउवा र उनी वरिपरीका मानिसलाई कम्युनिस्टहरूको अभीष्टको परवाह छैन । कम्युनिस्ट अभीष्ट अर्कै छ । यिनीहरूमाझ राज्यसत्ताको भरपूर प्रयोग गर्दै धन सञ्चय गर्ने र काल्पनिक समाजवाद स्थापना गर्ने अघोषित कार्यगत एकता छ । पहिला आफू हृष्टपुष्ट परिपुष्ट भएपछि समाजवादको काल्पनिक परिचित्र तयार गर्न सजिलो हुन्छ भन्ने यिनीहरूको बुझाइ रहेको र त्यसैअनुसार कार्यरत छन् । व्यक्तिगत इमानदारीका हिसाबमा कुनै मान्छे निश्चय नै अपवाद हुन सक्छ ।

विश्वदृष्टिका हिसाबले चाहिँ लोकतन्त्रको उपयोग गर्दै सत्ता, सत्ताद्वारा धन सञ्चय र त्यहाँ धन र सत्ताको बलबाट लोकतन्त्रको भष्मीकरण कम्युनिस्टहरूको अभीष्ट हो र दुर्भाग्यवश आज कांग्रेस त्यही अभीष्टको मतियार बनिरहेको छ । यी हरफ पढिरहँदा पाठकहरूलाई कता कता व्यंग्य जस्तो लागि रहेको हुनसक्छ । व्यंग्य होइन, हो नै यस्तै । उनीहरूको संयुक्त कार्यक्रम कम्युनिस्ट विस्तारित र बलिया हुनु हो । लोकतन्त्र विरोधी र धर्मद्वेषी नकारात्मक समाज जहाँ शत्रुहरू सिर्जना भइरहुन् र शत्रुहरूविरुद्ध संघर्ष गर्ने नाममा विष वमन गर्न पाइरहियोस् भन्ने यिनीहरूको ध्येय हुन्छ ।

कार्ल मार्क्सले नै धर्मलाई अफिम भनिसकेका हुँदा यिनीहरू धर्मद्वेषी हुन् भन्न कुनै आइतबार पर्खिरहनु पर्दैन । धर्म भन्नाले कुनै एक उपासना पद्धतिको कुरा गरेको होइन, कर्तव्यको नैतिक बन्धनको पनि कुरा गरेको हुँ । ईश्वर र आत्मतत्त्वको कुरा गरेको हुँ । भनिरहनु नपर्ला, कम्युनिस्ट वैयक्तिक स्वतन्त्रताका दुश्मन हुन् । यिनीहरूसित चुनाव चिह्न नै साटासाट गरिसकेपछि कांग्रेसले अझै लोकतन्त्र, वैयक्तिक स्वतन्त्रताको पैरवी गर्न सक्छ भन्छ यदि कसैले भने त्यो हाललाई निराधार कामना हुन्छ । कम्युनिस्टसँग यति धेरै लसपस भइसकेपछि कांग्रेस नाममात्र रहन्छ । त्यो कम्युनिस्ट नै बन्न जान्छ ।

कांग्रेस कम्युनिस्ट बनेपछि उसले पनि उनीहरूकै भाषा बोल्छ र बोल्ने अभ्यास गरिरहेको पनि छ । जस्तै अचेल रामचन्द्र पौडेल बोल्छन् । देउवा त बोल्ने नै भए, उनका प्रिय मन्त्री पनि बोलिरहेका छन् । कांग्रेसको तीव्र कम्युनिस्टीकरण भइसकेपछि कांग्रेस स्वतः फालिन्छ, फालिरहनै पर्दैन । फालिएपछि फेरि कसरी फर्काउने अथवा कांग्रेसै फर्किन्छ, फर्किदैन यसबारे अहिले यहाँ चर्चा नगरौं । म यहाँ कांग्रेसको चिन्ता होइन वास्तवमा वर्तमान गठबन्धनको अभीष्ट नेपालमा उदारचेता लोकतन्त्रलाई प्रतिनिधित्व गर्ने अभियान निस्तेज बनाउनु हो भनेर चिन्तित भएको हुँ ।

नेपालको लोकतान्त्रिक जनाधार कांग्रेससँग आबद्ध रहिआएको छ । त्यसैले उदारचेता लोकतन्त्रलाई निस्तेज बनाउन कांग्रेससँग आबद्ध जनाधारमाथि प्रहार गर्नु पर्थ्यो, त्यही गरिँदैछ । कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाइदिने, अरु केही प्रभावशाली भनिएका नेताहरूलाई आफ्नो स्थान र क्षेत्र सुरक्षित बनाइदिने भनेर लोभ्याउने र क्रमशः जनाधारमाथि कब्जा जमाउने कम्युनिस्ट रणनीतिको पासोमा कांग्रेस फसिसकेको छ ।

कम्युनिस्ट गठबन्धनमा कांग्रेस

कांग्रेसलाई कम्युनिस्ट गठबन्धनको हिस्सा बनाउनु यिनीहरूको पहिलो पाइलो हो । कम्युनिस्ट, कम्युनिस्ट मिलेर एकछत्र शासन गर्नु हो । भर्खरै देउवामित्र प्रचण्डले उनको यो भित्री मनसाय दोहोर्याएका छन् । नदोहोर्याएका हुन्थे भने पनि उनको अभीष्ट त्यही नै हो । कांग्रेसको उपयोग गर्दै लोकतान्त्रिक मैदान कब्जा गर्दै त्यहाँ कम्युनिस्ट झण्डा गाड्दै जानु उनीहरूको रणनीति हो । जति फुट्दै छन्, कम्युनिस्ट बढ्दै छन् ।

नफुटेको नै भनौं फुटेर जुटेको कांग्रेसचाहिँ थरीथरीका कम्युनिस्टको भकुण्डोजस्तो भएको छ । कांग्रेस यति नराम्ररी घेरिएको छ कि भनिसाध्य छैन । आफैं हेर्नुहोस्, हुँदाहुँदा अब हँसिया हथौडामा भोट हाल्ने अवस्थामा पुगेको, पुर्याइएको छ । के कस्तो हुँदै जान्छ त्यो हेर्नुहोला, यता चार कम्युनिस्टको वृद्धि र उता एमाले विस्तार हुँदै जान्छ र यसबाट शक्ति त कम्युनिस्टकै बढ्छ । विस्तारित हुने विभिन्न नामधारी यिनीहरूकै संगठन हुन् । यी पाँचको सैद्धान्तिक अवधारणा एउटै हो र यिनी प्रकारान्तरमा एउटै हुन् ।

कम्युनिस्ट गठबन्धनमा सामेल भएर कांग्रेसले कम्युनिस्ट जनाधार विस्तारमै मदत गरिरहेको छ । मैले माथि नै भनिसकें कांग्रेसका नेताहरू अहंकारले यति ग्रस्त छन् कि यहाँ भनिएका कुनै कुरा उनीहरूले गम्भीरतापूर्वक लेलान् भनेर नसोचे हुन्छ । देउवाले त सुन्ने कुरै भएन किनभने प्रधानमन्त्रीमा आफ्नो निरन्तरता र सत्ताको माध्यमबाट आफ्नो वर्चस्व कायमै राख्नुबाहेक उनको शायदै कुनै अर्को प्राथमिकता छ ।

यो विडम्बना हो कि करिब ९ लाख क्रियाशील सदस्य भएको कांग्रेसले उनैलाई सभापति बनाएको छ । उनी कांग्रेसले नै रोजेका सभापति हुन् र सभापतिमा प्रतिस्पर्धा गर्ने अरु नेताहरूमध्ये प्रकाशमान सिंहले देउवासमक्ष पूर्ण आत्मसमर्पण नै गरिसकेका छन् । शेखर कोइराला विरोधमा बोलि त रहेका छन् तर निर्णायक रूपमा फरक पार्ने गरी नभएर केवल औपचारिकताका लागि बोलिरहेका प्रतीत हुन्छन् । अब अरु बोल्ने को ? उदारचेता लोकतान्त्रिक अभियानको नेतृत्व लिने कसले ? यी प्रश्नको उत्तर अहिले मसँग छैन ।

 

आइएनएस–स्वतन्त्र समाचार