
जन्ती जाँदा ‘रामलखन’, मलामीमा ‘रामलखन’, मुद्दा मामिलामा ‘रामलखन’, विकासमा ‘रामलखन’, निकासमा ‘रामलखन’, गाउँबस्तीमा जस्तासुकै आपतविपत आइपर्दा ‘रामलखन’ । मधेसी, मुस्लिम र थारु बाहुल्यता रहेका गाउँका नागरिकको मुखैमा झुण्डिएको नाम हो, ‘रामलखन’ ।
ती समुदायका नागरिकहरुलाई ‘रामलखन’को नाम नलिए ‘खाना पच्दैन’ होला सायद । बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ मा रहेका २४ वटा गाउँ टोलका नागरिकहरुको मुखैमा झुण्डिएको छ ‘रामलखन’को नाम । हुनत उनी सम्पन्न, उच्च ओहोदाको व्यक्ति नभई निम्न वर्गीय थारु समुदायको परिवारका व्यक्ति हुन् ‘रामलखन’ ।
२०७४ को निर्वाचनमा राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित भएका ‘रामलखन’ वडाका नागरिकका लागि ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हुन् । वडाका हरेक नागरिकका सुखदुखमा हातेमालो गर्ने ‘रामलखन’ वडामा मात्रै नभएर गाउँपालिकामै विकासप्रेमी वडाध्यक्षका रुपमा परिचित छन् ।
विकासप्रेमी भएकै कारण फेरि वडाध्यक्षको उम्मेदवार बनेका ‘रामलखन’ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनबाट आफूलाई अनुमोदन गराउनका लागि जनताका माझमा पुगिरहेका छन् । वडाध्यक्ष हुँदा वडाको समग्र विकासका साथै नागरिकको दैनिकीसँग जोडिएर खटिरहने ‘रामलखन’लाई अहिले पनि मतदाताहरुको पूर्ण साथ रहेको छ ।
कोरोना भाइरस (कोभिड १९)का कारण पहिलो र दोस्रो चरणका बेला नागरिकको सेवाका लागि निरन्तर खटिने वडाध्यक्ष हुन् ‘रामलखन’ । पहिलो चरणको कोभिडका बेला उनी भारतबाट आएका नागरिकको रेखदेखमा यति खटिए कि उनी आफैं संक्रमित भएर आइसोलेसनमा समेत बस्नुपरेको थियो ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको रातदिन रेखदेख गर्न खटिने क्रममा वडाध्यक्ष ‘रामलखन’ले क्वारेन्टिनलाई नै आफ्नो बासस्थान बनाएका थिए । भारतबाट आएकाको सिमानामा गएर उद्दार गरी क्वारेन्टाइनमा ल्याउने र क्वारेन्टिनमा रहेकाको सेवा गर्नमै दिन–रात बिताउँथे ‘रामलखन’ ।
वडाका कुनै सदस्य मध्यरातमा नाकामा आए भने पनि जानकारी पाउने बित्तिकै उनी उद्दारका लागि गाडी लिएर तत्काल पुग्थे । उनले कोरोनाभन्दा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको स्थानीयहरु बताउँछन् । उद्दार, राहत र क्वारेन्टिन व्यवस्थापनका लागि ‘रामलखन’ अहोरात्र खटिएका थिए ।
कोरोना कालमा मात्रै होइन, वडाध्यक्ष निर्वाचित भएपछि विकास निर्माणमा तीब्रता दिनुका साथै ‘गाउँमै सिंह दरबार’ भएको महसुस गराउन उनको सक्रियता लोभलाग्दो थियो । ‘रामलखन’ भन्थे, ‘निर्वाचनपछि मेरो व्यक्तिगत जीवन भएजस्तो लाग्दैन । निर्वाचनपछि मेरो जिन्दगी नै साझा भइसकेको छ ।’
पहिलो पटक वडाध्यक्ष भएका ‘रामलखन’ आफ्नो वडालाई नमूना वडा बनाउन आवश्यक पर्ने सबै पूर्वाधारहरु तयार गर्न सफल भए । उनकै कार्यकालमा ठूला खानेपानी आयोजना निर्माण भए । बाँके जिल्लामै नमूना स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भयो । वडाको स्वास्थ्य क्षेत्रलाई नमूना बनाउने कामको सुरुवात भयो ।
वडाभित्रका सबै टोल र बस्तीमा विद्युतीकरण भएको छ । २०७४ को निर्वाचनअघि वडाभित्रका विभिन्न गाउँमा जाँदा सास्ती खेप्नुपथ्र्यो । सडकको अवस्था दयनीय हँुदा हिँड्डुुल गर्नै मुश्किल पर्ने वडा नं. ७ का सडकहरु स्थानीय सरकार आएपछि सुधारिएको स्थानीयहरु बताउँछन् । जनप्रतिनिधि आउनुअघि वडाभित्र स्तरीय सडक थिएनन् ।’
स्थानीयहरु भन्छन्, ‘वडाका कुनै गाउँमा पक्की सडक नै थिएनन् । कच्ची र धुलाम्मे सडकले स्थानीयहरुलाई आवतजावतमा निकै सास्ती हुने सडकहरु पक्की बनेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरी स्तरोन्नती गरिएको छ । ‘रामलखन’ वडाध्यक्ष भएर आएसँगै वडाको विकासले गति लिएको स्थानीयहरु बताउँछन् ।
‘रामलखन’को पहिलो कार्यकालमै वडाको अवस्था निकै फेरिएको छ । सडकहरुको स्तरोन्नति गरिएपछि यहाँका गाउँहरुमा आउजाउ गर्न समस्या छैन । कच्ची सडकलाई स्तरोन्नती गरेर ग्राभेल गर्ने र ग्राभेल भइसकेका सडकहरु पिसिसी गरेर पक्की बनाइएको छ । केही सडकहरु कालोपत्रेसमेत गरिएका छन् ।
‘रामलखन’को सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा यस वडाभित्रका गाउँ बस्तीहरु सडक सञ्जालले घेरिएका छन् । स्थानीय तहको पहिलो निर्वाचनपछि आफ्नो पहिलो कार्यकालमा वडापालिकाले प्रत्येक टोलमा सडक सञ्जाल बिस्तार गरिसकेको वडाध्यक्षका उम्मेदवार ‘रामलखन’ले बताए ।
उनले भने, ‘आली बाटाहरु ग्राभेल सडकमा रुपान्तरण भएका छन् । ग्राभेल सडक पिसिसी गरिएका छन्, वडालाई राजमार्गसँग जोड्ने ग्राभेल सडक कालोपत्रे गरिएका छन् । यसले वडाका सर्वसाधारण हिँड्डुल गर्न लागि सहज बनाएको छ । पहिले पानी, हिलो भरिएर हिँड्नसमेत नसकिने सडकहरु अहिले उक्त समस्याबाट मुक्त भएका छन् ।’
‘रामलखन’कै पहिलो कार्यकालमा वडाभित्रका अप्ठ्यारा सडकहरु सजिला भएका छन् । वडाको विकासलाई सहज बनाउन सबैभन्दा मुख्य सडकहरुलाई स्तरोन्नती गरियो । वडाभित्रका सडकहरुको स्तरोन्नतीसँगै वडाका नागरिकलाई गाउँमै अन्य पेशा व्यवसाय गर्न सहज भएको पनि स्थानीयहरु बताउँछन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोस्रो पटक वडाध्यक्षका उम्मेदवार बनेका ‘रामलखन’ भन्छन्, ‘अब बाँकी रहेका अधुरा कामहरु सम्पन्न गर्नुपर्नेछ । आफ्नो गाउँठाउँको विकासका लागि मेरो वडाका सम्पूर्ण मतदाताहरुले पार्टीभन्दा माथि उठेर जनताको सुखदुखमा साथ दिइरहने ‘रामलखन’लाई जिताउनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’
सत्यपाटी । बाँके
२१ बैशाख २०७९, बुधबार