रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध

रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ । जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन् ।

सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका हुन् । अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ ।

रुकुम पश्चिमको जन्तीबस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम पूर्वमा टेलिफोन सेवा अवरूद्ध भएको दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए । चट्याङबाट तार जलेको छ ।

मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले हावाहुरीका कारण विद्युत सेवा अवरूद्ध भएको जनाएको छ ।

हावाहुरीले सल्यान र रुकुम पश्चिममा रुख ढलेका कारण सेवा अवरूद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए । रुकुम पश्चिमको धैरेनीचौरस्थित सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान हुने बताइएको छ ।

रुकुम पश्चिमले काममा ढिलासुस्ती गर्दा रुकुम पूर्वमा विद्युत अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम पूर्वले जनाएको छ । टेलिफोन र विद्युत सेवा अवरूद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ ।

स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए ।