विशेष रिपोर्ट

ग्राहक रिझाउनुपर्ने बाध्यताले यौन दुर्व्यवहारको जोखिम

विशेषगरी भारतीय पर्यटकहरू आउँदा कहिलेकाहीं बाध्य बनाएर पनि सो यौन क्रियाकलापहरू गर्न लगाउने गर्छन् ।

कोभिडको संक्रमण घट्दै गएसँगै बजार पुनः चलायमान हुँदैछ । पर्यटन र यससँग जोडिएको मनोरञ्जन क्षेत्रहरू पुनः सुचारु भएका छन् । वयस्कको मनोरञ्जन क्षेत्र अर्थात् डान्स बार, रेस्टुरेन्ट, क्याविन रेस्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लर, खाजा घर आदि छन् । यो क्षेत्रसँगै यहाँ कार्यरत महिला श्रमिकहरूको सुरक्षाको विषय महत्वपूर्ण छ । नेपालमा मनोरञ्जनको क्षेत्र फस्टाएका ठाँउहरूमध्ये काठमाडौं, पोखरा, विराटनगर लगायत छन् । पोखराको पर्यटनको केही अंश वयस्कको मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित छ । पोखरामा वयस्कको मनोरञ्जन क्षेत्रमा कति महिला श्रमिक कार्यरत छन् भन्ने यकिन तथ्यांक भने छैन ।

यौन उत्पीडनको जोखिम

जनअधिकार संरक्षण मञ्च (पीपीआर)ले सन् २०२० मा ‘नेपालमा मनोरञ्जन क्षेत्रमा मानव वेचबिखनको नयाँ ट्रेन्ड’ विषयक अध्ययन गरेको थियो । उक्त अध्ययनले अधिंकाश महिला श्रमिकहरू एक वा सोभन्दा बढी तरिकाले काम गर्ने ठाउँमा उत्पीडनमा परेका छन् भन्ने देखाएको थियो । जसमा श्रमशोषण, यौन दुर्व्यवहार, मौखिक दुर्व्यवहार, उत्पीडन र जर्बजस्ती यौन श्रममा लगाइएको तथ्यांक प्रस्तुत गरिएको छ । अध्ययनले भनेको छ, ‘जर्बजस्ती गर्न खोज्ने, शारीरिक सम्पर्कका लागि प्रस्ताव गर्ने, शरीरका विभिन्न ठाउँमा अनुपयुक्त तरिकाले छुनेजस्ता हिंसाहरू भोग्न यहाँ कार्यरत महिला श्रमिक बाध्य छन् ।’

साथै केही ठाउँमा रोजगारदाताबाट पनि महिलाहरू उत्पीडनमा पर्ने गरेको अध्ययनले बताएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने सबै महिला श्रमिक यौन कर्ममा हुन्छन् भन्ने भ्रम भएकै कारण हाम्रो समाजले अझै पनि यसलाई मर्यादित पेशाको रूपमा लिन नसकेको बताउनुहुन्छ– राष्ट्रिय बाल अधिकार परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले । मनोरञ्जनको क्षेत्रमा काम गर्ने सबै महिलाले यौन कर्म गर्दैनन् तर वरपर हुने वातावरण, जहाँ ग्राहकलाई खुसी बनाएर खाना र पेयपदार्थ किन्ने बनाउनुपर्छ, त्यहाँ महिला यौन उत्पीडनको जोखिम हुने सम्भावना बढी हुन्छ । मनोरञ्जन क्षेत्रमा लागेकै कारण त्यहाँ आउने ग्राहकहरूबाट अझ बढी यौन हिसांमा पर्ने गरेका घटनाहरू प्रशस्त छन् ।

पोखरामा मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि काम गर्ने संस्था शक्ति समूह पोखराकी कार्यक्रम संयोजक सरिता पौडेलका अनुसार ग्राहकबाट काम गर्ने ठाउँमा हिंसामा पर्ने महिला तथा किशोरीहरू थुप्रै छन् । पौडेलले भने, ‘काम गर्ने ठाउँमा नै ग्राहकहरूले गर्ने शारीरिक दुर्व्यवहारदेखि, कुनै बहिनीको नम्बर पाउने बित्तिकै पटकपटक फोन गरेर भेटौं न भनि मानसिक हिंसा पनि गरिन्छ ।’ परामर्शको कामहरू गरिरहेको समूहमा यहाँ कार्यरत महिला तथा किशोरीहरू सम्पर्कमा आउने गरेका छन् । अधिकृत वाग्लेले विशेषगरी स्पा सेन्टर अर्थात् मसाज गर्ने ठाउँहरूमा महिला श्रमिकमाथि यौनजन्य हिंसाको जोखिम बढी रहेको बताउनुहुन्छ । स्पा सेन्टरहरूमा महिला श्रमिक कार्यरत हुन्छन् ।

मनोरञ्जन क्षेत्रलाई नियमन गर्ने निर्देशिका हुँदा पनि यसको कार्यान्वयन पक्ष फितलो रहेको वाग्लेले बताए । मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला तथा किशोरीहरूको हितमा काम गर्ने अर्को एक गैरसरकारी संस्थामा कार्यरत कर्मचारीले भने, ‘स्पामा रहेका दिदिबहिनीहरूले त्यहाँ आउने केही ग्राहकहरूले यौनका लागि प्रस्ताव गर्ने गरेको बताउँछन् । विशेषगरी भारतीय पर्यटकहरू आउँदा कहिलेकाहीं बाध्य बनाएर पनि सो यौन क्रियाकलापहरू गर्न लगाउने गर्छन् ।’ उनले बन्द कोठामा ग्राहक नग्न भएर मसाज गरिनुपर्ने भएकाले काम गर्ने महिलालाई के भयो भन्ने थाहा हुँदैन र यौन हिंसाका घटना बन्द कोठामा घटेर बाहिर थाहा नै नपाउने अवस्था सिर्जना भएको बताए ।

उनले यस्ता घटनाका बारेमा आफ्नो सुरक्षा र रोजगारी गुम्ने डरले महिलाले आफ्नो रोजगारदाता अथवा प्रहरीसँग पनि खुलेर भन्न नसक्ने बताए । नेपाल सरकारले श्रमजीवी महिलाहरू प्रति डान्स रेस्टुरेन्ट, डान्स बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न निर्देशिका २०६५ जारी गरेको थियो । जसमा सो ठाउँमा कार्यरत महिला कामदारहरूलाई कार्यस्थलमा गरिने यौनजन्य हिंसाका विषयमा कानून नभएकाले श्रमजीवी महिला एवं कामदारहरूलाई मर्यादित एवं आत्मसम्मानपूर्वक सुरिक्षत तवरले काम गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख छ । निर्देशिका कार्यन्वयन नहुँदा मनोरञ्जन क्षेत्रमा महिला श्रमिक माथि यौन तथा श्रम शोषणको घटना रोकिएको छैन ।

पारिश्रामिक न्यून, भर ‘टिप्स‘को

मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिला श्रमिकको संख्या धेरै भए पनि उनीहरूले निकै कम ज्यालामा काम गरिरहेका छन् । पोखराको बारमा कार्यरत एक श्रमिक महिलाले भनिन्, ‘मासिक तलब १० हजारभन्दा तल भए पनि, ग्राहकसँग बसेर पेयपदार्थहरू लियौं भने त्यसै अनुसारको टिप्स पाइन्छ । ग्राहक खुसी भयो भने मात्र टिप्स आउँछ । टिप्स पाएको बेला मासिक १५, १६ हजारसम्म र कहिले त्यो भन्दा बढी पनि कमाइन्छ । शक्ति समूह, पोखराकी कार्यक्रम संयोजक पौडेलले यस क्षेत्रमा श्रमशोषण अत्यधिक रहेको बताइन् ।

न्यून पारिश्रामिकमा काम गर्नेहरूको संख्या बढी रहेको जानकारी दिंदै उनले भनिन्, ‘रोजगारदाताले नै उहाँहरूलाई टिप्सतर्फ आकर्षित गराउनुहुन्छ । ग्राहकले पिएका पेय पदार्थका आधारमा अर्थात् जुस खाए सबैभन्दा कम र वाइन खाए अलि बढी टिप्स पाउँछन् । यसले उहाँहरूलाई ग्राहकसँग बस्नुपर्ने र रिझाउनुपर्ने बाध्यता हुन्छ ।’ यस क्षेत्रमा कार्यरत महिला श्रमिकले ग्राहकलाई रिझाउनुपर्ने बाध्यता भएकाले यौन दुर्व्यवहारको जोखिममा पर्ने सम्भावना बढी रहन्छ । नेपाल सरकारले जारी गरेको निर्देशिकाले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने भए पनि त्यसको नियमन गर्ने निकायको कमी हुँदा उनीहरू न्यूनतम पारिश्रमिक भन्दा कम तलबमा काम गर्न बाध्य छन् ।

बाध्यात्मक अवस्थामा पुगेका महिला

मनोरञ्जनको क्षेत्रमा पुग्ने अधिकांश महिला केही न केही बाध्यताले पुगेका छन् । थोरै महिला मात्रै रहरले यस क्षेत्रमा पुगेको बताउँछिन्, शक्ति समूह पोखराकी कार्यक्रम संयोजक पौडेल । विशेषगरी गरिबी र बेरोजगारीसँगै परिवार विखण्डन भएर पुग्ने महिला पनि छन् । आमाबाबा छुट्टिएर बसेका अथवा नभएका किशोरी तथा महिलाहरूसँग वैध कागजातहरू नहुने हुदाँ पनि कामको खोजीमा भौतारिएका वेला साथीभाइ र आफन्तले नै मनोरञ्जनको क्षेत्रमा पु¥याउने गरेको उनले बताइन् ।

यस्तै पढाइ बीचमा छाडेर बसेका किशोरी तथा महिलाहरूका लागि अन्य क्षेत्रमा काम पाउन गाह्रो हुने तर यस क्षेत्रमा भने शैक्षिक योग्यता नमाग्ने भएकाले पनि आउने गरेका छन् । त्यहाँ कार्यरत महिला श्रमिकले भनिन्, ‘सानैमा पढाइ छाड्नु पर्यो र यहाँ काम गर्न आइपुगें । राम्रो पैसा आउने ठाउँमा काम गर्न पाए त छोड्न तयार छु ।’ बाध्यात्मक स्थितिबाट बाहिर आउन चाहने महिला तथा किशोरीहरूका लागि पोखरामा काम गरिरहेका केही गैरसरकारी संस्थाहरूले निःशुल्क व्यावसायिक तालिमहरू पनि प्रदान गरिरहेका छन् ।

उमेर ढाँटेर काम गर्छन् बालिका

१८ वर्ष पुगिसकेका महिलाले मात्र मनोरञ्जन क्षेत्रमा काम गर्न पाउँछन् । डान्सबार, दोहोरी साँझ, रेस्टुरेन्ट, मसाज पार्लर व्यवसायी तथा रोजगारदाताले कागजात नहेरी काममा नराख्ने पहल गरेका छन् । साथै राती घरमा छाडिदिने व्यवस्था पनि गरिदिएका छन् । व्यवसायीले १८ वर्ष पुगेको कागजात मागे पनि त्यहाँ कार्यरत धेरै किशोरीहरू १८ वर्षभन्दा कमका रहेको गैरसरकारी संस्थाहरूको अध्ययनले देखाएको छ ।

समूहकी पोखरा संयोजक पौडेलका अनुसार आफ्नो उमेर बढाउन झुटो मिति राखी जन्मदर्ताको कागजात बनाइ पेश गरेर काम गर्ने गरेका छन् । उनले जन्मदर्तामा फोटो नहुँदा एउटै जन्मदर्ता प्रमाणपत्रको प्रयोग धेरैजनाले गर्ने गरेको पनि बताइन् । प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले भने, ‘बालिकाहरू पनि छन् भन्ने आधारहरू छन् तर कागजातमा १८ वर्षभन्दा माथि भएका कारणले गर्दा केही गर्न नसकिने अवस्था बन्छ । यस अवस्थामा परामर्श गरेर उनीहरूलाई यस क्षेत्रबाट निकाल्ने प्रयासहरू भएका छन् ।’

मर्यादित र सुरक्षित बन्नुपर्ने आवश्यकता

पोखराको पर्यटन क्षेत्रमा पछिल्लो समयमा रात्रीकालीन व्यवसायहरू फस्टाएका छन् । महिलाहरूको उपस्थितिले पोखराको पर्यटनको विकासमा धेरै मदत पुगेको बताउँछन्, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई । उनले पोखरामा आउने विदेशी पर्यटकहरू मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाले गर्ने आदर, सत्कार र सेवामा रमाउने गरेका छन् । भट्टराईले मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने पहल भइरहे तापनि व्यवसायी आफैं सचेत नभइदिएका कारण कार्यस्थलमा दुर्व्यवहारका घटनाहरू भइरहेको बताए ।

उनले भने, ‘हामीले यहाँ रहेका व्यवसायीहरूसँग समन्वय गरेका छौ, कार्यस्थल सुरक्षित हुनुप¥यो भनेर पनि बेलाबखतमा भनिरहेका हुन्छौ तर हामीसँग सरकारी तवरबाट बलियो कानुन नभएका कारणले हामीले समन्वयको काम मात्र गर्न सकेका छौ ।’ अहिले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा किशोरीहरूका लागि सरकारी निकायको समन्वयमा पोखरामा रहेका केही गैरसरकारी सस्थाहरूले व्यावसायिक सीपमूलक तालिम प्रदान गरिरहेका छन् ।

जसमा पार्लर, टेलरिङ मेसिन, बारिस्तालगायतका तालिम रहेका छन् । अधिकृत वाग्ले भन्छन्, ‘बाध्यात्मक स्थितिमा रहेर काम गर्ने महिला श्रमिकलाई यहाँबाट बाहिर निकाल्न पहल गरिनुपर्छ । बाहिर निकालेर मात्रै हुँदैन उनीहरूले सुरक्षित रूपमा अरु काम गर्ने वातावरण बनाउनु पनि जरुरी छ ।’ मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको हितमा काम गरिरहेका संघसस्थाहरूले महिलाका लागि यो क्षेत्र मर्यादित र सुरक्षित बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

 

आइएनएस–स्वतन्त्र समाचार