आयुर्वेद चिकित्सा

के हो अनुपान र बिरुद्धपान ?

विज्ञानपरक चिन्तन नराखी बनाइएका र खाइएका खानपानले हानी पुर्‍याउँछन् ।

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो, अनुपान (अनुः पश्चात, पानः खाना वा औषध सेवन) । अनुपान भनेको त्यस्तो खानपन जुन मूल खानपान वा औषधी खाएपछि खाइन्छ । आयुर्वेद विज्ञानमा अनुपानलाई आर्युवेदिक औषधिमा एक औषधिका साथसाथै मिसाइएको कुनै अर्को औषधि वा खाद्य वस्तु भनेर बुझिन्छ । अर्थात् मूल खानपान सँगसँगै वा अन्य निश्चित समयमा औषधिको ठिक्क अड्कलिएको मात्रा भनेर पनि बुझ्न सकिन्छ ।

सामान्य तवरले बुझ्नका लागि यसको उदाहरण हेरौं । सामान्यतः रुघा वा खोकी लाग्दा मरिचको घुलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ । त्यस्तै आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश निघण्टुमा बताइए अनुसार कफ सम्बन्धी रोग निवारणका लागि हर्रोको चुर्ण नुनसँग खाँदा प्रभावकारी हुन्छ । पित्त सम्बन्धी रोग दूर गर्न त्यही चुर्ण सखरसँग खाइन्छ । वातसम्बन्धी रोगमा घ्युसँग खाइन्छ । सामान्यतः सबैप्रकारको रोगबाट बच्न गुडसँग खाइन्छ ।

अनुपान जस्तै अर्को महत्वपूर्ण विषय हो विरुद्धपान । विरुद्धपान खानाको लागि जति सान्दर्भिक हुन्छ, त्यतिकै सान्दर्भिक औषधका लागि पनि मानिन्छ । पेटको जुका मार्न औषधी खाएको रात त्यसको आगाडि वा पछाडि दूध वा माछा नखानु भनेर सल्लाह दिइने गरेको धेरैलाई थाहा होला । गर्भवती महिलाहरूलाई आइरन चक्की र क्याल्सियम चक्की सँगसँगै नखान सल्लाह दिइएको हुन्छ । त्यसैगरी केही औषधी खाना अघि र केही खानापछि खान निर्देश गरिएको हुन्छ । यसरी निर्देश गरिनुका पछाडि अवश्यक पनि वैज्ञानिक कारणहरू छन् ।

केही औषधी वा खाना अर्को केही खास खाना वा औषधीसँग खाँदा एक अर्काबीच हुने जैवरसायनिक प्रतिक्रियाले शरीरमा असन्तुलन गराइ हानी पुर्याउँछ । जसलाई आयुर्वेदमा विरुद्धपान भनिन्छ । त्यसको ठीक उल्टो केही औषधी वा खाना अर्को केही खास खाना वा औषधीसँग खाँदा त्यहाँ एउटाले अर्कोको कार्यक्षमतालाई बढाउने गर्दछ । जसलाई अनुपान भनिन्छ । अनुपान र विरुद्धपानलाई आधुनिक औषधी विज्ञानको एन्टागोनिस्ट र सिनार्जिस्टिक ईफेक्टको रूपमा, आंशिक रूपमा वा इनकम्प्याटिबलिटीसँग तुलना गर्न सकिन्छ ।

आयुर्वेदमा मात्रा, गुण र कार्यको विरुद्धताको आधारमा १८ प्रकारका विरुद्धआहारको वर्णन गरिएको छ । रोग र औषधीको कम्प्याटिबलिटीलाई ध्यानमा राखेर नै रोगीको उपचार गर्दा हेरक पटक आयुर्वेद चिकित्सकले पथ्य र अपथ्य औषधी र आहारसम्बन्धी सूचना पनि सझा गरिरहेका हुन्छन् । विश्वभरिको चलनलाई हेर्ने हो भने रक्सी पिउने प्रायः व्यक्तिले केही न केही केही सितन खाएको हुन्छ । सितन याने त्यस्तो ठोस पदार्थ जुन मूल खानपानसँग सहयोगी खानाको रूपमा खाइन्छ । रक्सीसँग खाइने सितनमा प्रायः मासु हुने गरेको पाइन्छ ।

रक्सी पिउने शाकाहारी व्यक्तिबाहेक अरु सबैले रक्सीसँग मासुको सितन खोज्छन् र रोज्दछन् । त्यस्तो किन होला ? यसको पछाडि कुनै वैज्ञानिक आधार पनि छ कि चलन मात्र हो यो ? आयुर्वेद औषधी विज्ञान मात्र होइन, आहार विज्ञान पनि हो । आयुर्वेदले के खाने र कति खाने मात्र बताएको छैन, कसरी खाने र केसँग के खाने, के नखाने भन्ने समेत बताएको छ । आहारलाई नै औषधी मान्ने विज्ञान पनि आयुर्वेद नै हो । यस दृष्टिबाट हेर्दा हाम्रो खानपान नै औषधि हो । यस आधारमा भन्न सकिन्छ, हाम्रा खानपानमा विज्ञानपरक दृष्टिकोण राख्नु आवश्यक छ । अर्थात् विज्ञानपरक चिन्तन नराखी बनाइएका र खाइएका खानपानले हानी पुर्याउँछन् ।

अब हेरौं, रुघाखोकी लागेका वेला मरिचसँग मह खानु लाभकारी हुन्छ र हर्रोको चुर्ण गुड (सखर)सँग खानु सर्वरोग निवारणमा लाभकारी हुन्छ भनेर किन भनिएको होला ? हर्रोको चुर्णको खाँदा स्वाद अप्रिय लाग्छ, जसलाई दूर गर्न अनुपान स्वरूप मह वा नुन दिइन्छ । अनुपानको प्रयोजन भनेको औषधि सेवन प्रक्रियालाई सुखद (स्वरूप, रङ्ग, रस, गन्ध अनुकुल बनाउनु) बनाउनु पनि हुँदोरहेछ । जसरी पानीमा राखिएको तेलको थोपा पलभरमै सबैतिर फैलिन्छ, त्यसै प्रकारले अनुपानको सहयोगले औषधी शरीरभित्र सर्वत्र फैलिन्छ ।

औषधीसँग समान गुण भएको अनुपानले औषधिको कार्यशक्ति बढाउँछ । जस्तै निमको चुर्णको प्रभाव बढाउन गुर्जोको काँढाको अनुपान दिइन्छ । एउटै औषधिसँग खाइएको फरक फरक अनुपानले फरक फरक कार्य गर्दछ । जस्तै मनतातो पानीसँग खाइएको त्रिफलाले कब्जियत खोल्छ भने त्यही क्रिफला महसँग खाँदा त्यो नेत्र रोगका लागि प्रभावकारी हुनजान्छ । वस्तुतः शास्त्रीय दृष्टिमा अनुपानले तृप्ति दिलाउँछ, आहारलाई छिटो पचाउँछ, आयु बढाउँछ, शरीरलाई सुख एवं ऊर्जा दिलाउँछ । शरीरका अंगहरूलाई सुदृढ बनाउँछ । मनलाई हर्षित तुल्याउँछ ।

केही विशेष विरुद्धपानहरू

१. दूधसँग दही, नुन, मुलाको पात, सहिजन, कागती, इमली, खरभुजा, बेल, नारियल, जामुन, अनार, अमला, गुड, माघा आदि खानु विरुद्ध मानिन्छ ।
२. दहीसँग खीर, दूध, पनिर, काँक्रो, खरभुजा आदि खानु विरुद्ध मानिन्छ ।
३. खीरसँग कटहर, दही, कागती, मदिरा आदि खानु विरुद्ध मानिन्छ ।
४. महसँग घ्यु, तेल, मासु, अंगुर, मुला आदि खानु विरुद्ध मानिन्छ ।
५. घ्युसँग समान मात्रामा मह र तातो पानी पिउनु विरुद्ध हुन्छ ।

हरेक चिकित्सा विज्ञानको आ–आफ्नै आधारभूत वैज्ञानिक सिद्धान्त हुन्छन् । आयुर्वेदले चिकित्सा कर्मका लागि पञ्चमहाभूत सिद्धान्त अपनाउँछ । विश्व ब्रह्माण्डका सबै वस्तु पञ्चभौतिक (पाँच भौतिक तत्व– पृथ्वी, जल, तेज, वायु र आकाश) हुन्छन् भन्ने मान्यता आयुर्वेदको हो । आहार एवं औषधी पञ्चमहाभूतले बनेको हुन्छ र शरीर पनि पञ्चमहाभूतले नै बनेको हुन्छ । आकाश, वायु, जल, अग्नि र पृथ्वीलाई पञ्चमहाभूत भनिन्छ । हरेक महाभूतको निश्चित गुणहरू हुन्छ । ती गुणहरू नै औषधी वा आहारको विशेषता हुन्छन् । कुनै पनि रोग एवं रोगीलाई आवश्यक चिकित्सा कर्म निर्धारण गरिन्छ । तत्पश्चात् उक्त चिकित्साकर्म सिद्धिका लागि निश्चित विशेषता वा गुण भएको औषधि वा आहारको चयन गरी प्रयोग गरिन्छ ।

पञ्चमहाभूतको गुण भन्नाले चिल्लोपन, खस्रोपन, हलुका, भारी, तातो, चिसो, आदि बुझिन्छ । आयुर्वेदमा ४१ प्रकारका गुणहरूको वर्णन छ । औषधीको रस भन्नाले गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रो र तितो बुझिन्छ । यी रसहरू पनि माथि भनिएका महाभूतले नै बनेका हुन्छन् र गुणहरू त्यसै अनुसार बुझ्नु पर्दछ । अनुपानको निर्धारण औषधिको प्रकृति, रोगको प्रकृति र रोगीको अवस्था हेरेर गरिन्छ । अनुपानको सेवन भोजन भन्दा पहिले गर्न गराउन निर्देश गरिएको छैन । यदि अनुपानको सेवन भोजन पहिल्यै गरिए त्यसले शरीरलाई दुब्लो र कमजोर बनाउँछ ।

जुन अनुपान मूल आहार वा औषधि भन्दा विपरीत गुणवाला हुन्छ तर कार्यशक्ति विरोधी गुणवाला नहुने हुन्छ त्यसलाई उत्तम अनुपान मानिन्छ । आयुर्वेदका अनुसार रक्सीको गुण लघु (हलुकापन), रुक्ष (खस्रोपन), सूक्ष्म, तीक्ष्ण खालका हुन्छन् र रक्सीको विपरीत मासुको गुण गुरु (भारीपन), स्निग्ध (चिल्लो), स्थूल, मन्द खालका हुन्छन् । मासुले रक्सीको मदकारी कार्यशक्तिलाई फरक पार्दैन भन्नुको तात्पर्य रक्सीको कार्यशक्तिलाई न त बढाउँछ न त घटाउँछ । रक्सीभन्दा विपरीत गुण मासुको भएका कारण यसले रक्सीको मातलाग्ने प्रक्रियालाई ढिलो गराउँछ । त्यसैगरी मासुको गुरु गुणको कारण पाचन र अवशोषण ढिलो हुने हुन्छ, जब विपरीत गुणवाला रक्सीको साथमा खाइन्छ त्यसले मासुको पाचन र अवशोषण क्रियालाई तीव्रता दिन्छ ।

रक्सी मासुसँग खाँदा रक्सीको मात लाग्ने शक्तिमा फरक नपारी केवल मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ । साथै विपरीत गुणको कारण रक्सीले मासुको पाचनक्रियालाई तीव्रता दिन्छ । यही गुण विपरीतता र कार्यगत स्वतन्त्रता नै रक्सी मासुसँग खानु पछाडिको विज्ञान हो । यसैकारण रक्सीलाई मासुको अनुपानको रूपमा वा मासुलाई रक्सीको अनुपानको रूपमा खाने वैज्ञानिक चलन स्थापित भएको हो । रक्सीको अपेक्षित मदकारी कार्य त रक्सीले निशंकोच गर्छ नै साथै त्यससँगै खाइएको मासु पचेर र अशोषण भइसकेपछि त्यसले पनि उत्तम बल दिने, इम्युनिटी दिने, शरीरमा मांस पुष्टता दिने लगायतका कार्य गर्दछ ती कार्यहरू रक्सीसँग खाइने अन्य सितनहरूको तुलना मासुले श्रेष्ठकर तवरबाट गर्दछ ।

अतः अनुपानको चिन्तन आयुर्वेदीय चिकित्सा विज्ञानको पृथक र विशेष विषय हो । अनुपानको प्रयोग औषधीको प्रभावकारी कार्यमा जति महत्वपूर्ण हुन्छ त्यतिनै महत्वपूर्ण आहारको समुचित पाचन, अवशोषण र शक्ति उत्पादनका लागि हुन्छ । अन्य केही अनुपानहरूः कफजनित रोगका लागि अदुवासँग गुडको सेवन । वात सम्बन्धी रोगमा सुकेको अदुवा (सुठो) सँग गुड सेवन । आमवात रोगमा गुर्जोसँग (सुठो) को सेवन । सामान्तः कुनै पनि धुलो औषधीको प्रयोग गर्दा मह, पानी वा दूधलाई अनुपानका रूपमा प्रयोग गरिन्छ । धुलोलाई चाटेर खानेबेला अनुपान दुईगुना र काँढा बानाएर पिउने हुँदा चार गुना अनुपानको प्रयोग गर्ने विधान छ ।

 

आइएनएस–स्वतन्त्र समाचार